फेरि थपियो चार एआईजी पद, को को परे सिफारिसमा ?

काठमाडौं । सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) को संख्या ११ बाट चार थप्दै बढुवा सिफारिस समेत गरेको छ ।

एआईजीको संख्या चार थपेपछि बसेको बढुवा समिति बैठकले चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुलाई सिफारिस गरेको हो । बढुवा सिफारिसमा पर्नेहरुमा हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठ छन् ।

पालले ७५.३४४५, पुडासैनीले ५४.५२०५, नेपालले ७२.८९५३ र श्रेष्ठले ७२.८२५० नम्बर प्राप्त गरेका छन् । पालको दरबन्दी प्रहरी प्रधान कार्यालय नक्शालस्थित विशेष व्यूरोमा छ । यसैगरी पुडासैनीको दरबन्दी प्रहरी प्रधान कार्यालय कार्य विभाग, नेपालको तालिम निर्देशनालयमा र श्रेष्ठको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरमा दरबन्दी छ । यसअघि ७ जना एआईजी दरबन्दी भएकोमा साउमा मात्र गृहमन्त्री जनार्दन शर्माको पालामा ४ दरबन्दी थपेर ११ पु-याइएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा आफैले गृहमन्त्रालय सम्हालेको बेला फेरि ४ जना थपेर बढुवा सूची सार्वजनिक गरिएको हो ।

नेपाल प्रहरीमा एक जना प्राविधिक एआईजीको पनि दरबन्दी छ । योसँगै एआईजीको दरबन्दी १६ पुगेको छ ।