पूर्वसञ्चारमन्त्री राईमाथि बम आक्रमण, अंगरक्षक घाइते

भोजपुर, २७ कात्तिक । भोजपुर प्रदेशसभामा एमाले उम्मेद्वार एवं पूर्वसञ्चारमन्त्री शेरधन राईलाई लक्षित गरी बम आक्रमण गरिएको छ । आक्रमणबाट उनी सकुशल रहेपनि अंगरक्षक घाइते भएका छन् ।

राईमाथि कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै गुम्बा मास्तिर बम आक्रमण गरिएको हो । उनी गोगनेको आमसभालाई सम्बोधन गर्न गाडीमा जाँदै थिए ।

बम प्रहारबाट राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटाको हातमा चोट लागेको छ । यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो ।