एसीसी यू–१९ एसिया कप नेपाल पहिलोपटक सेमिफाइनलमा

रामसूदन तिमल्सिना  / काठमाडौं

नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी यू–१९ एसियाकपको समूह ‘ए’अन्तर्गत मंगलबार भएको दुई खेलपछि नेपालको सेमिफाइनल यात्रा तय भएको हो । नेपाल पहिलोपटक टेस्ट मान्यताप्राप्त राष्ट्रहरूलाई पछाडि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

तीनपटकको च्याम्पियन भारतलाई मंगलबार बंगलादेशले ८ विकेटले पराजित गरेपछि नेपाल सेमिफाइन प्रवेश गरेको थियो । भारत पराजित हुनुअघि नेपालले आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।  यसअघि नेपालले भारतलाई १९ रनले हराएको थियो भने बंगलादेशसँग २ विकेटले पराजित हुन पुगेको थियो । भारतले जितेको भए रनरेटका आधारमा सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्ने थियो । बंगलादेश भने सबै खेलमा जित निकाल्दै ६ अंकका साथ समूह‘ए’को विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।साविक विजेता भारत पनि समूह चरणबाट बाहिरियो । भारतले आयोजक मलेसियालाई हराएको थियो भने दुई छिमेकी मुलुक नेपाल र बंगलादेशसँग पराजित भएको थियो ।

डकवर्थ लेविस नियमअनुसार ३२ ओभरमा झारिएको खेलमा भारतले बंगलादेशलाई १ सय ९० रनको लक्ष्य दिएको थियो । बंगलादेशले २८ ओभरमा २ विकेटको क्षतिमा सो लक्ष्य भेट्टायो । उसका लागि पिनाक घोले ८१ रनको अविजित पारी खेलेका थिए ।

सेमिफाइनलमा अफगानिस्तानसँग भिड्ने

नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग शुक्रबार किनरारा ओभलमा प्रतस्पिर्धा गर्ने निश्चित भएको छ । पहिलो सेमिफाइनलमा पाकिस्तान र बंगलादेशबीच बिहीबारप्रतिस्पर्धा हुनेछ ।

अफगानिस्तान समूह ‘बी’को विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो । नेपालले अफगानिस्तानसँग आईसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत दुई खेल खेलेको थियो । जसमा अफगानिस्तानले १ सय ४१ र ९६ रनले जितेको थियो ।

मिहिनेत गरेजस्तै उपलब्धि : प्रशिक्षक

नेपाली यू–१९ क्रिकेट युवा टोलीका मुख्य प्रशिक्षक विनोद दासले नेपाल यू–१९ एसिया कपको सेमिफाइलनमा प्रवेश गरेपछि प्रतिक्रिया दिँदै खेलाडीले मिहिनेत गरेको जस्तै उपलब्धि हासिल गरेको बताएका छन् ।

नेपाली युवा टिमले लगातार राम्रो प्रदर्शन गरेकै कारण सेमिफाइनल प्रवेश गरेको बताए । ‘राम्रो प्रदर्शन गर्दै सेमिफाइनल पुग्दा खुसी लागेको छ । सबै योजनाअनुसार नै भयो । बलिङमा सोचेजस्तो सुरुवात नभए पनि स्पिनरहरूले पछि राम्रो गरे ।’ उनले भने,

‘ब्याटिङको सुरुवातमै आक्रमण गर्ने रणनीति लिएका थियौं । अनिलले राम्रो ब्याटिङ गरे ।’उनले अफगानिस्तानसँगको सेमिफाइनल खेलमा निकै मिहिनेत गर्नुपर्ने बताए । अफगानिस्तानलाई नेपालको कमजोरसमेत थाहा भएकाले ऊसँग निकै होसियारीपूर्वक खेल्ने बताउँदै दासले भने, ‘अफगानिस्तान राम्रो टोलीलाई हराउने सामथ्र्य राख्छ । तर हामी अन्तिम बलसम्म लड्नेछौं भन्ने कुरा अफगानिस्तानलाई थाहा छ । हामी उत्कृष्ट प्रदर्शन गर्न पर्नेछैनौं ।’ भारतलाई समेत हराएका कारण अफगानिस्तानविरुद्ध नेपाली खेलाडीको मनोबल बलियो हुने उनले विश्लेषण गरेका छन् ।