एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

काठमाडौं / रास– एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरू ल्याएको छ, जसअन्तर्गत एनसेलका ग्राहकले अब अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७ सय मिनेटसम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्नेछन् । नयाँ भ्वाइस प्याकहरू गत बिहीबारदेखि ९० दिनका लागि सञ्चालनमा आएको सो कम्पनीले जनाएको छ । यी नयाँ प्याकअन्तर्गत ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकताअनुसार दैनिक, साप्ताहिक तथा मासिक प्याकहरू सुचारु गर्न सक्नेछन् । यसैगरी, ग्राहकले अब तीनदिने भ्वाइस प्याक पनि सुचारु गर्न सक्नेछन् ।

दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित मात्र १५ रुपैयाँमा २० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । साप्ताहिक भ्वाइस प्याकमा करसहित ७० रुपैयाँमा १ सय २० मिनेट टक टाइम लिन सक्छन् । यसैगरी ग्राहकले ३० रुपैयाँमा ५० मिनेट टक टाइम रहेको तीनदिने भ्वाइस प्याक खरिद गर्न सक्ने छन् । नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले ३ सय रुपैयाँमा ७ सय मिनेट टक टाइम प्राप्त गरी मात्र ४३ पैसा प्रतिमिनेटको दरमा भ्वाइस सेवाको मज्जा लिन सक्ने छन् । यसैगरी, दैनिक भ्वाइस प्याकको समयावधि २४ घण्टाको रहेको छ । त्यसैगरी, साप्ताहिक भ्वाइस प्याकको समयावधि ७ दिन, तीनदिने प्याकको ३ दिन र मासिक भ्वाइस प्याकको ३० दिन रहेको सो कम्पनीले जनाएको छ ।