नयाँ गन्तव्यको जग

नयाँ गन्तव्यको जग

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमार्फत संस्थागत गरेको दुई वर्ष दुई महिना ७ दिनपछि यसको पूर्ण कार्यान्वयनका लागि आज ३२ जिल्लाका मतदाता ऐतिहासिक मतदानमा सहभागी हुँदै छन् । पहिलोपटक संघीय गणतन्त्र नेपालका जनप्रतिनिधि चयन हुने भएकाले पनि आज मतदाता र उम्मेदवारका लागि युगीन अवसर हो । लोकतान्त्रिक गणतन्त्र नेपालमा समृद्धिको खाका कोर्ने र कार्यान्वयन गर्ने प्रतिनिधि चुन्ने दिन भएकाले यो दिन ऐतिहासिक छ । राजनीतिक  द्वन्द्वको अन्त्य गरी शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्दै मुलुकलाई आर्थिक–सामाजिक रूपान्तरणमा अघि बढाउने नेतृत्व चयन गर्ने यो अवसरमा मतदाताले उत्साहसँगै विवेकको प्रयोग गर्न जरुरी छ ।

आजको दिनसम्म आइपुग्न जनताले धेरै ठूलो त्याग र बलिदान गरेका छन् । राजतन्त्रको समूल अन्त्यसँगै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने अठोट हामीले राजनीतिक र संवैधानिक रूपान्तरणमार्फत सम्पन्न गरिसकेका छौं । अब यसलाई संस्थागत गरी मुलुकलाई समृद्धिको उच्चतम बिन्दुमा पु¥याउने पालो आएको छ । विगतका जनआन्दोलन, सशस्त्र विद्रोह, मधेस आन्दोलन, जातीय, क्षेत्रीय र भाषिक आन्दोलनको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई संस्थागत भइसकेको छ । संघीय गणतन्त्र संस्थागत भए पनि मुलुक लामो समयदेखि राजनीतिक संक्रमणमा छ । अस्थिर सरकार, अपारदर्शी प्रशासन संयन्त्र, जवादेहिताविहीन राजनीतिक संस्कार अझै विद्यमान छन् ।

जनताका अनेकन चाहना र आकांक्षा अझै अधुरै छन् । कतिपय चाहना र आकांक्षालाई तिलाञ्जली दिएर यसबीच जनताले संघीय नेपालका जनप्रतिनिधि चुन्ने दिनसम्म अत्यन्त ठूलो धैर्य प्रदर्शन गरेका छन् । अब मतदानबाट निर्वाचित भएर आउने जनप्रतिनिधिमा जनताका यी सबै आकांक्षा र चाहनालाई सम्बोधन गर्न निरन्तरको जोस र अठोट जरुरी छ । मतदाताले त्यस्तो अठोट बोक्न सक्ने प्रतिनिधि छान्न अत्यन्तै ठूलो विवेक प्रयोग गर्नुपर्नेछ । संविधानको कार्यान्वयन अझै भइसकेको छैन । अझै पनि संघीयता धर्मनिरपेक्षताजस्ता संविधानका अन्तर्बस्तुमा आम सहमति जुटिसेकको छैन । प्रदेश र प्रतिनिधिसभामार्फत चुनिएर आउने प्रतिनिधिले यसको व्यवस्थापन गर्न सकेनन् भने हाम्रो कलिलो संघीय प्रणाली धरापमा पर्नेछ । संघीयताको जगलाई मजबुत बनाउँदै  आर्थिक समृद्धिमार्फत अबको छोटो समयमा मुलुकलाई विकासशील राष्ट्र बनाउन आज चुनिँदै गरेका जनप्रतिनिधिको अहं भूमिका हुनेछ । यो ऐतिहासिक दिनमा मतदाताको सानो गल्तीले पनि हालसम्मका सबै उपलब्धि गुम्ने खतरा रहन्छ । मतदाताको आजको विवेक भोलिको समृद्ध नेपालको पक्षमा होस् ।