बम विस्फोटमा संलग्नलाई कारबाही गर

बम विस्फोटमा संलग्नलाई कारबाही गर

 

पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि दोस्रो चरणको निर्वाचन हुन एक साता बाँकी रहँदा मुलुकका विभिन्न भागमा बम आतंक सुरु भएको छ । मंगलबार तुल्सीपुरमा भएको बम विस्फोटको घटनामा एक म्यादी प्रहरीको मृत्यु भएको छ भने बुधबार उदयपुरमा भएको बम विस्फोटको घटनामा उम्मेदवार नै घाइते भएका छन् । निर्वाचनकेन्द्रित बम विस्फोटको घटनामा ७ वर्षे बालकसहित केही व्यक्ति घाइते भए पनि सरकारले आजसम्म जघन्य विस्फोटको घटनामा संलग्नलाई कारबाही गर्ने हिम्मत गरेको छैन । लगातारजस्तो बम विस्फोटको घटना भइरहँदासमेत सरकारले कारबाहीमा चासो नदेखाएको स्थिति देख्दा लाग्छ सरकार जनताको सुरक्षाको विषयमा पटक्कै संवेदनशील छैन ।

लोकतन्त्रको सर्वोत्तम विधि भनेकै निर्वाचन हो । निर्वाचनमार्फत जनताले आफूलाई विश्वासयोग्य व्यक्तिलाई चुनेर पठाउँछन् भने निर्वाचनमार्फत चुनिएका व्यक्तिले नै मुलुकको बृहत्तर हितका लागि काम गर्नुपर्छ । पछिल्लो समय निर्वाचनकेन्द्रित बम विस्फोटको घटना भएको देख्दा लाग्छ, लोकतान्त्रि विधिमा विश्वास गर्न नसक्ने समूहमध्येकै केही व्यक्ति विस्फोटको घटनामा संलग्न छन् । विगत दुई सातादेखि लगातारजसो बम विस्फोटको घटना घटिरहे पनि घटनामा संलग्नलाई पक्राउ गर्न सरकारले आनाकानी गरेकाले विध्वंसात्मक घटनामा संलग्नहरूको आत्मबल बढिरहेको छ भने विध्वंसको निशानामा निर्दोष केटाकेटीसमेत परेका छन् । विस्फोटको घटना दैनिकजसो घटिरहेको छ तर आजसम्म कसैले पनि विस्फोटको जिम्मेवारी लिएको छैन । तसर्थ लाग्छ सरकार आफैं पनि विस्फोटको योजनाकारलाई पक्राउ गर्ने विषयमा संवेदनशील छैन । यदि त्यस्तो नहुँदो हो त दिनदहाडै उम्मेदवारमाथि बम प्रहार हुँदा विस्फोटमा संलग्नलाई पक्राउ गरेको जानकारी सरकारले दिनुपर्ने थियो ।

जबकि नेपाल प्रहरीले सामान्य घटनामा संलग्नहरूलाई समेत पक्राउ गर्दा भिडियोसहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छ । तर निर्वाचन लक्षित विस्फोटको घटनामा संलग्नलाई प्रहरीले आजसम्म पक्राउ गरेको सन्दर्भ सार्वजनिक भएको छैन । यी घटनाले नेपाल प्रहरीको अकर्मण्यता मात्रै पुष्टि गर्दैन सरकारको लाचार प्रवृत्ति पनि प्रस्ट पार्छ । होला कुनै पनि समूहलाई सरकारको वर्तमान कार्यशैली मन नपरेको हुन सक्छ । यसको अर्थ यो होइन कि सरकारको विरोधस्वरूव सर्वसाधारण लक्षित बम प्रहार गर्नुपर्छ । सरकारले उक्त समूहको भनाइ मानेन त ७ वर्षे बालकको के दोष ? अर्को कुरा हरेक समस्याको समाधानको अन्तिम बिन्दु संवादबाहेक अरू हुनै सक्दैन ? अहिलेसम्मकै ठूलो आन्दोलन सशस्त्र युद्ध त वार्ताबाटै सम्पन्न भयो भने त्यस्तो ठूलो माग के छ, जुन संवादबाट पूरा गर्न सकिँदैन ? विस्फोटजस्तो जघन्य घटनामा संलग्नहरू जुनसुकै दलका किन नहुन्, तिनलाई सशक्त कारबाही हुनैपर्छ । आपराधिक घटनामा संलग्नलाई कारबाही गर्नका लागि अन्य दलले समेत सरकारलाई सघाउनुपर्छ ।