ग्लोबल आईएमई बैंकमा पौड्याल

काठमाडांै / रास– ग्लोबल आईएमई बैंकको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ ।

बैंकको बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले यसअघि कामु प्रमुख कार्यकारी अधिकृतकाा रूपमा रहेका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । लन्डनबाट एमबीए गरेका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव सँगालिसकेका छन् ।

उनले सन् १९८७ मा इन्ट्री लेभलमार्फत नबिल बैंकबाट आफ्नो करियर सुरु गरेका थिए । लक्ष्मी बैंक स्थापनाका लागि प्रक्रिया थाल्न उनी सो बैंकमा गएका थिए । लक्ष्मी बैंकमा एक वर्ष काम गरेपछि उनले तत्कालीन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रूपमा काम सुरु गरेका थिए ।

तत्कालीन ग्लोबल बैंकको सहायक महाप्रबन्धबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा कामु प्रमुख कार्यकारी अधिकृत हुँदै उनी ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृतका रूपमा चयन भएका हुन् ।