आजदेखि चेम्बर एक्स्पो

काठमाडौं / रास– बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०७४ सुरु हुने भएको छ । चेम्बरले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी एक्स्पो हुने जनाएको हो । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।

पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले तेसं्रो संस्करणका रूपमा मेला हुन लागेको जानकारी गराए । यसपटकको मेलामा दक्षिण कोरियाले पार्टनर मुलकको हैसियतमा सहभागिता जनाउने र थाइल्यान्ड फोकस मुलुका रूपमा सहभागी रहने सम्मेलनमा उनले बताए ।

एक्स्पोमा नेपालसहित कोरिया, थाइल्यान्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठ राष्ट्रको सहभागिता रहने पनि चेम्बरले जनाइएको छ । मेलामा कुल २ सय २५ वटा स्टल रहने पनि विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा चेम्बर एक्स्पो २०१७ का संयोजक राष्ट्रभूषण चाकुबजीले मेलामा कोरियाको २३ र थाइल्यान्डका १५ वटा स्टल रहने जानकारी गराए । पाँच दिनसम्म चल्ने मेलामा करिब ३ लाखभन्दा बढी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । मेला १८ मंसिरसम्म सञ्चालन हुनेछ ।