खाद्य संस्थानद्वारा धान खरिद सुरु

राजधानी समाचारदाता / काठमाडौं

नेपाल खाद्य संस्थानद्वारा धान खरिद कार्य सुरु गरेको छ । संस्थानले चालू आर्थिक वर्षमा खरिद गर्न लागेको धान खरिदको काम सुरु गरिएको हो । नेपाल खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले खाद्य संस्थानले यस वर्षका लागि धान खरिद सुरु गरेको जानकारी दिए ।

उनका अनुसार हालसम्म कुल २१ हजार ९ सय २७ क्विन्टल धान खरिद गरिएको छ । कैलालीको धनगढीबाट २० हजार ४ सय ४२ क्विन्टल धान खरिद गर्ने काम सकिएको छ । धनगढीबाट खरिद गरिएको सो परिमाणको धान १९ सय ५० रुपैयाँ प्रतिक्विन्टलका दरले खरिद गरिएको हो ।

त्यस्तै, कञ्चनपुरको महेन्द्रनगरबाट संस्थानले ३ सय ६७ क्विन्टल धान खरिद गरिसकेको छ । महेन्द्रनगरबाट १९ सय रुपैयाँ प्रतिक्विन्टलका दरले धान खरिद गरिएको हो । त्यसैगरी, बर्दियोको राजपुरबाट ११ सय १८ क्विन्टल मोटा धान खरिद गरिएको छ । राजापुरमा मोटा धानको मूल्य २ हजार रुपैयाँ प्रतिक्विन्टल रहेको प्रवक्ता सापकोटाले बताए । ‘हामीले धान खरिद गर्ने काम अगाडि बढाइसक्यौं,’ प्रवक्ता सापकोटाले बुधबार राजधानी दैनिकसँग कुरा गर्दै भने, ‘महेन्द्रनगर, धनगढी र राजापुरबाट धान खरिदको काम सुरु गरिसकेका छौं ।’

चालू आर्थिक वर्षमा नेपाल खाद्य संस्थानले महेन्द्रनगर, मकवानपुर, जुम्लालगायत ठाउँबाट कुल २ लाख ७६ हजार क्विन्टल धान खरिद गर्ने भएको छ । संस्थानले कञ्चनपुरको महेन्द्रनगरबाट ५ हजार क्विन्टल तथा जुम्लाबाट १ हजार क्विन्टल धान खरिद गर्ने योजना बनाएको छ ।

त्यस्तै, संस्थानले धनगढीबाट ४५ हजार क्विन्टल, राजापुरबाट ३० हजार क्विन्टल टन धान खरिद गर्ने भएको छ । त्यसैगरी, संस्थानले नेपालगन्जबाट २० हजार क्विन्टल र भैरहवाबाट २० हजार क्विन्टल धान खरिद गर्ने जनाएको छ । वीरगन्जबाट ३५ हजार क्विन्टल, जनकपुरबाट १० हजार क्विन्टल र लहानबाट ८० हजार क्विन्टल धान खरिद गर्ने योजना बनाएको छ ।त्यस्तै, संस्थानले विर्तामोडबाट २० हजार क्विन्टल र विराटनगरबाट १० हजार क्विन्टल धान खरिद गर्ने भएको छ ।

चालू आर्थिक वर्षमा नेपाल खाद्य संस्थानले महेन्द्रनगर, मकवानपुर, जुम्लालगायतका क्षेत्रबाट २ लाख ७६ हजार क्विन्टल धान खरिद गर्ने

संस्थानले महेन्द्रनगर, धनगढी, राजापुरलगायतका स्थानबाट धान खरिद गर्न सुरु गरे पनि अन्य ठाउँबाट भने खरिद गर्न सकेको छैन । संस्थानले खरिद गर्ने धानलाई कुटानी मिल भएको ठाउँमा जम्मा पारिने र कुटानी गरेर बिक्रीवितरण गरिने संस्थानका प्रवक्ता सापकोटाको भनाइ छ । त्यस्तै, खाद्य संस्थानको आफ्नो कुटानी मिल नभएको अवस्थामा कुटानीका लागि ठेक्कामा दिइने उनले बताए ।

संस्थानले गत वर्षहरूमा पनि धानको बारोबार गर्दै आएको छ । गत आर्थिक वर्षमा संस्थानले २ लाख १८ हजार क्विन्टल धान खरिद गरेको थियो । तर, गत आर्थिक वर्ष कञ्चनपुर तथा जुम्लाबाट धान खरिद नगरिएको प्रवक्ता सापकोटाले स्पष्ट पारे । गत वर्ष खरिद गरिएको सो परिमाणको धान औसतमा प्रतिकेजी २३ रुपैयाँ रहेको थियो । तर, धानको मूल्य सबै ठाउँमा एउटै नभएर ठाउँअनुसार फरक फरक हुने गरेको सापकोटाको भनाइ छ । गत आर्थिक वर्षमा कुल ५० करोड २३ लाख ६ सय १२ रुपैयाँबराबरको धान खरिद गरिएको थियो ।