कहिलेसम्म गफ मात्रै

कहिलेसम्म गफ मात्रै

 

प्रमुख राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा अबको पाँच वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर पु¥याउने दाबी गरेका छन् । पाँच वर्षमा १५ हजार मेघावाट विद्युत्लगायत धेरै लोभलाग्दो नारालाई दलहरूले घोषणापत्रमा उल्लेख गरेका छन् । तर सर्वसाधारणको दैनिकी कति कष्टकर छ, कुनै पनि दलले वास्ता गरेका छैनन् । हरेक चोकचोकमा भीडको बीचमा उभिएर विपक्षीको आलोचनामै समय खर्चिरहेका दलका नेतालाई यो पनि थाहा छैन, पाँच वर्षमा प्रतिव्यक्ति आय ५ हजार पुग्छ कसरी । विगतमा जस्तै जनता आकर्षित गर्न महत्वाकांक्षी योजनालाई घोषणापत्रमा लिपिबद्ध त गरे तर जनताले घोषणापत्र हेर्दै समीक्षा गर्छन् र हुन सक्ने र हुन नसक्ने बुँदा यी हुन् भन्दै मार्क गर्छन् भन्ने सम्झेनन् ।

अहिले नेपाली बजारमा प्याजको मूल्य प्रतिकिलो १ सय ५० छ । मूल्य अझै बढ्न सक्ने व्यापारीले बताइरहेका छन् । भारतले प्याजको निर्यातमा कडाइ गरेपछि मूल्य अकासिएको हो भने अहिले भारतमै पनि प्याजको मूल्य प्रतिकिलो ७० रुपैयाँ आइसी पर्छ । प्याजको मूल्य अकासिएको सन्दर्भमा भोलि कुनै दलका नेताले सार्वजनिक मञ्चमा उभिएर भारतलाई धारे हात लाउँदै गाली गरे भने आश्चर्य हुनेछैन । किनकि हामीमा आफूले गर्न नसक्नुको दोष अन्यलाई लगाउने प्रचलन पुरानै हो । यो सिजनमा प्याजको मूल्यले आकाश छोएको यो नै पहिलोपटक होइन । सात वर्षअघि पनि नेपाली बजारमा प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेको थियो । केही मिडियाले प्याज भण्डारणका लागि पहल भनेर लेखे पनि सरकारमा बस्नेहरूले शीत भण्डार बनाउने तिर पहल गरेनन् । प्याज मात्रै हैन, मौसमी तरकारीको मूल्य अकासिँदा पनि सरकार र अन्य शीर्ष दलका नेताहरूले अहिलेसम्म कुनै चिन्ता गरेको महसुस भएको छैन । किनकि हाम्रा दलका नेतालाई जनताको समस्याले छुँदैन ।

प्याज मात्रै हैन । हामी कुनै पनि खाद्यान्नको गतिलो भण्डारणस्थल छैन । तसर्थ उत्पादन भएको बेलामा किसान साह्रै सस्दो दरमा बेच्न बाध्य हुन्छन् भने केही महिनापछि त्यही सामग्री महँगो दरमा किन्नुपर्ने बाध्यता छ । तराईको धानकै कुरा गर्ने हो भने नेपाली किसानले उत्पादन गरेको धान सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता छ । नेपालमै भण्डारण गर्ने कुनै संयन्त्र नभएकाले मंसिर पुसमा किसानहरू सस्तो मूल्यमा धान बिक्री गर्छन् भने चैत वैशाखपछि त्यही धान महँगो दरमा किन्न बाध्य हुन्छन् । तसर्थ पाँच वर्षमा प्रतिव्यक्ति आया ५ हजार बनाउने योजना सार्वजनिक गर्नुअघि नेपालमा धान, आलु, फलफूल र हरियो तरकारीलगायत अन्य उपभोग्य वस्तु भण्डारणका लागि शीतगृह निर्माण गर्ने हो भने धेरै नेपाली नागरिकले राहतको अनुभूति गर्ने थिए । गफै गरेर राजनीतिमा रिटायर्ड हुने तयारीमा रहेकाले समेत जनताका अत्यावश्यकीय आवश्यकता पूर्ति गर्ने वातावरण मिलाउने हो भने सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि दलका नेताको भाषणलाई मजाकको विषय बनाउने थिएनन् कि ?