सपना कहिलेसम्म नेताज्यू ?

सपना कहिलेसम्म नेताज्यू ?

पाँच वर्षभित्रमा प्रतिव्यक्ति आय ५ हजार डलर । नेपाली कांग्रेस, एमालेलगायतका धेरै दलले चुनावी घोषणापत्रमा लेखे । घोषणापत्र सार्वजनिक भएलगत्तै सर्वसाधारणले प्रश्न गरे यो कसरी सम्भव छ ? आजसम्म कुनै पनि दलका नेताले स्पष्ट जवाफ दिन सकेका छैनन््, यसरी सम्भव छ भनेर । हरेक नयाँ चुनावमा विकासका नयाँनयाँ एजेन्डालाई घोषणापत्रमा समेट्नु दलहरूको पुरानै रित हो । दुःखको कुरा चुनाव जितिसकेपछि हामीले बोलेका मध्ये कति प्रतिशत काम भयो समीक्षासमेत गर्ने संस्कार छैन । यही कारण हुन सक्छ नेपाली नागरिकहरू निर्धक्क भन्ने हैसियत राख्छन्,‘हाम्रा नेताले बोलेको कुरा पूरा गर्दैनन् ।’

बाँकेको कर्णालीको पहिचान बनाएको बघौडा क्षेत्रको उदाहरणै काफी छ । हाम्रा दलका नेता कति वर्षसम्म जनताका अगाडि झुट बोलिरहन्छन् । २६ वर्षअघि गाउँमा बत्ति बाल्छु भन्दै हिँडेका मध्ये कतिपय नेता चुनाव जितेर मन्त्रीसमेत भइसके । तर आजसम्म बघौडावासीले बिजुलीको स्विच अन अफ गर्न पाएका छैनन् । अर्को लाजमर्दो कुरा गाउँमा बिजुलीको पोल गाडिएको मात्रै २० वर्ष भयो । पोल गाडेको २० वर्षसम्म बिजुलीको तार टांग्न नसक्ने नेताहरूले ‘फेरि हामी बिजुली बाल्दै छौं’ भन्ने कुरालाई कसरी विश्वास गर्ने ? यो समस्या केवल बघौडावासीमा मात्रै सीमित छैन । नेपालमा त्यस्ता धेरै गाउँ छन् जहाँ बिजुलीको पोल गाडेर छोडिएको छ । कुलोको सर्भे गरेर छोडिएको छ । बिजुली उत्पादनका लागि डीपीआर तयार छ तर आयोजना निर्माण सुरु भएको छैन । यसो हुनुमा चुनाव हो, नारा आकर्षक हुनुपर्छ भन्ने मान्यताले काम गरेको छ भने सबै दलका नेताहरूले चुनाव हार र जितको जिम्मा जनतालाई हैन आफ्नो संगठनलाई सम्झछन् । संगठनकै कारण नेपालमा चुनाव हार्ने र जित्ने भएकाले पनि स्थानीयका मुद्दाले महŒव पाउँदैनन् ।

पञ्चायतकाल सकिएपछि बहुदलीय प्रजातन्त्र स्थापना भयो भने माओवादी शसस्त्र जनयुद्ध छिचोल्दै मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । हिजो नारायणहिटीबाट राज्यसत्ता सञ्चालन हुन्थ्यो भने अहिले सिंहदरबारबाट । मुलुक संघीयतामा गएपछि सिंहदरबार पनि गाउँ पुगेको हल्ला छ । यही कुरा बघौडावासीलाई सुनाउँदा पक्कै विश्वास गर्नेछैनन् । किनकि उनीहरूको घर अगाडि बिजुलीको पोल गाडेको २० वर्ष भयो अझै बिजुली बलेको छैन । जबकि पाँच वर्षमा त एउटा जलविद्युत् आयोजना निर्माण नै सम्पन्न हुन्छ । कसको कमजोरीले बघौडामा पोल गाडिएको दुई दशक नाघ्दा पनि बिजुली बलेन भन्ने समीक्षा हुँदै गर्ला बघौडावासीका पीडा अन्य भेगका नागरिकले भोग्नु नपरोस् भन्नेमा हाम्रा दलका नेता सचेत हुनै पर्छ ।