मतपेटिका कुर्नेका दुःख

मतपेटिका कुर्नेका दुःख

तापक्रम शून्य डिग्रीबाट तल झरेपछि जिल्ला समन्वय समिति मुस्ताङको कार्यालयमा भण्डारण गरिएको मतपेटिका रेखदेखका लागि बसेका कुरुवा सकसमा परेका छन् । २१ मंसिरको दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मात्रै मतगणना हुने भएकाले पहिलो चरणमा मतदान भएका स्थलको मतपेटिका अझै चार दिन कुर्नुपर्ने बाध्यता छ । मतपेटिका कुर्ने जिम्मा सुरक्षाकर्मीलाई मात्रै छाड्न नमिल्ने भएकाले दलका प्रतिनिधि सकसमा परेका हुन् । मतपेटिका कुर्न खटिएकाहरूले हिमाली जिल्लाको उच्च भेगमा बढ्दो जाडोका साथै कतिपय स्थानमा थामी नसक्नुको चिसो हावाको बेगको सामना गर्नु परिरहेको छ ।

मतपेटिका सुरक्षा आफैंमा संवेदनशील विषय हो । यसैले सुरक्षाको भरपर्दो चाँजोपाँजो हुनैपर्छ । तर, सुरक्षा गर्ने क्रममा आइपर्ने समस्याप्रति निर्वाचन आयोग संवेदनशील देखिएको छैन । आयोग पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै दोस्रो चरणको निर्वाचन तयारीमा लागेकाले पनि मतपेटिका कुर्नेहरूका विषयमा आयोगले पर्याप्त ध्यान पु¥याएको देखिँदैन । तसर्थ, अहिलेसम्म जुन स्थितिमा स्थानीय राजनीतिक दल र सुरक्षाकर्मीले मतपेटिकाको सुरक्षा गरेका छन् । त्यसैलाई निरन्तरता दिनुको विकल्प छैन । यसको अर्थ यो कठ्यांग्रिदो चिसोमा मतपेटिका कुर्नुपर्छ भन्ने होइन । जहाँ जुन अवस्थामा मतपेटिका कुर्ने काम भएको छ, ती स्थानमा रहेकालाई तत्कालीन न्यानोका लागि भने सक्दो उपाय अवलम्बन गर्नैपर्छ । मतपेटिका कुर्नेका लागि बाक्लो ज्याकेट, टोपी र मोजा त उपलब्ध गराउनैपर्छ । सम्भव भएसम्म सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधि बस्ने स्थलमा हिटरको व्यवस्था गर्नुपर्छ । २४ सै घण्टा मतपेटिका सुरक्षा गर्नुपर्दा जनशक्ति पनि बढी नै खपत हुन्छ । उनीहरूको स्वास्थ्य स्थितिलाई पनि ध्यान दिन जरुरी छ । चिसो स्थानमा बस्नेलाई न्यानो कपडाको अतिरिक्त तातो र झोलयुक्त खानेकुराको नियमित व्यवस्था गराउनुपर्छ भने कोही बिरामी परिहालेमा तत्काल उपचारको व्यवस्था पनि गरिनुपर्छ ।

हरेक दिन जाडो बढ्दै गएकाले अबको चार दिन मतपेटिका सुरक्षा गर्ने विषयमा बढी नै संवेदनशील हुनुपर्छ । निर्वाचन आयोग दोस्रो चरणको निर्वाचनको तयारीमा लागेकाले मतदान भइसकेको स्थानमा चासो दिन नभ्याएको पनि हुन सक्छ । यदि त्यस्तो अवस्था छ भने आयोगको पनि बाध्यतालाई बुझ्नुपर्छ । मतपेटिका सुरक्षा गर्नेहरूको समस्या समाधान गर्ने जिम्मा स्थानीय राजनीतिक दलको पनि हो । अर्को महŒवपूर्ण कुरा दोस्रो चरणको निर्वाचन हुने दिन बिहानैदेखि मत गन्न सुरु गर्ने हो भने केही घण्टा भए पनि चिसोको कहर छोटिन सक्छ । यदि बिहानैदेखि मत गन्ने हो भने राजनीतिक दल एउटा कुरामा प्रतिबद्ध हुनैपर्छ । साँझ पाँच बजेसम्म कसैले पनि कसको मत कति आयो भन्न पाउनेछैन ।