अन्तिम रस्साकस्सीमा दलहरू

टेनिस रोका / काठमाडौं

आगामी २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको दोस्रो चरण निर्वाचनका लागि मौन अवधि सुरु हुनै लाग्दा दलहरू नजिता आफ्नो पक्षमा पार्न अन्तिम रस्साकस्सीमा जुटेका छन् ।

दलहरूले सोमबार (आज) अधिकांश निर्वाचन क्षेत्रमा चुनावी सभा राखेका छन् । प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा झन्डै दर्जन सभा तथा चुनावी र घरदैलो कार्यक्रममा सहभागी हुनेछन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि दर्जन बढी चुनावी कार्यक्रममा सहभागी हुँदै छन् । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएसँगै प्रचारप्रसार गर्न नपाइने भएकाले दलहरूले अन्तिम दिन अधिकतम स्थानमा चुनावी सभाको आयोजना गर्ने तयारी गरेका हुन् ।

मौन अवधि सुरु हुनु केही दिनअघिदेखि नै अधिकतम स्थानमा चुनावी सभा गरेका दलहरूले प्रचारको अन्तिम दिन पनि चुनावी सभा, गोष्ठी, घरदैलो कार्यक्रमलाई जारी राखेका हुन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार कैलाली र डडेल्धुराका आधा दर्जन बढी चुनावी सभालाई सम्बोधन गरे । उनले आइतबार डडेल्धुरामा मात्र अजयमेरू गाउँपालिका–५ र पर्शुराम नगरपालिकामा आयोजना गरिएको आमसभालाई सम्बोधन गरे । विभिन्न चुनावी कार्यक्रम, छलफल तथा भेटघाट गरेका उनले आइतबार बिहान नवदुर्गा मेलाको दर्शनसमेत गरेका थिए ।

देउवा सोमबार पनि दर्जन संख्यामा चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ । उनको सचिवालयका अनुसार देउवा आज गन्यापधुरा गाउँपालिकाका दुईवटा स्थान, नवदुर्गा गाउँपालिका र आलटाल गाउँपालिकामा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गरी काठमाडौं आउँदै छन् । मंगलबार नै उनी डडेल्धुरा फिर्ता हुने कार्यक्रम छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार उपत्यकाबाहिरका विभिन्न जिल्लामा चुनावी सभामा व्यस्त बने । अध्यक्ष ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर ३ मा आयोजना गरिएको चुनावी सभामा सहभागी बने ।

आइतबार नै ओली मोरङमा आयोजना गरिएको चुनावी सभामा सहभागी बने । उनले सोमबार प्रचारको अन्तिम दिन भने काठमाडौं र भक्तपुरमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नेछन् । चुनावी सभाका अतिरिक्त उनी विभिन्न छलफल तथा भेटघाटमा व्यस्त हुने उनको सचिवालयले जनाएको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार दिनभर चितवनका विभिन्न चुनावी कार्यक्रममा व्यस्त बने । बिहान शिवनगरमा पार्टी प्रवेश तथा घरदैलोमा उनी सहभागी बने भने दिउँसो जगतपुरमा आयोजित कोणसभासँगै आइतबार नै माडीमा आयोजित चुनावी सभालाई सम्बोधन गरे । दाहाललाई सहयोग गर्न एमाले अध्यक्ष ओलीसमेत चितवन पुगेका थिए ।

अध्यक्ष दाहाल सोमबार शिवनगरमा हुने पार्टी प्रवेश तथा घरदैलो र भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । चितवन–१ को चुनावी सभामा सहभागी बन्ने उनको सचिवालयले जनाएको छ । यस्तै उनी निर्वाचन क्षेत्र नम्बर १ को चुनावी सभामा समेत सहभागी हुने कार्यतालिका तय गरिएको छ । चितवनमा आज नै सडक प्रदर्शन गरिने भएको छ । रोड सो नामक उक्त प्रदर्शनमा दाहाल सहभागी हुनेछन् ।

शीर्ष दलका शीर्ष नेताका अतिरिक्त सबै दलका नेता तथा उम्मेदवारले आफ्ना निर्वाचन क्षेत्रमा दर्जनौं कार्यक्रम तय गरेको पाइएको छ । उपत्यकामा मात्र आइतबार दुई दर्जन बढी चुनावी सभा आयोजना गरिएको थियो भने सोमबार सबैजसो दलले सभा गर्ने जानकारी सुरक्षा संयन्त्रले दिएको छ ।

ठूला दलसहित मधेसकेन्द्रित दल, राप्रपा, नयाशक्ति, विवेकशील साझालगायतका दलहरूका शीर्ष नेताहरूका दुईभन्दा बढी स्थानमा चुनावी सभा राखिएका छन् । मौन अवधि सुरु हुनुअघि नै सबै दलले घरदैलो र चुनावी सभालाई पूर्णता दिइसक्नुपर्ने भएकाले दल तथा उम्मेदवारबीच मत तान्न रस्साकस्सी जारी रहेको छ ।