दाहाल–पाण्डेलाई अर्काकै भर

राधेश्याम खतिवडा चितवन

चितवन–३ को प्रतिनिधिसभा निर्वाचनलाई अहिले विशेष चासोका साथ हेरिएको छ । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री एवं हाल वन तथा भूसंरक्षणमन्त्री रहेका विक्रम पाण्डेको उम्मेदवारीका कारण पनि चितवन–३ लाई विशेष चासोका साथ हेरिएको हो ।

दाहालले वाम गठबन्धन उम्मेदवारका रूपमा सो क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । चितवनबाट दाहाल पहिलोपटक उठेका हुन् । उनले आफ्नो गृह जिल्लाका अलावा सुरक्षित क्षेत्र भन्दै चितवन–३ बाट उम्मेदवारी दिएका हुन् ।पाण्डे भने दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । यसपटक उनले नेपाली कांग्रेसको समर्थनमा सो क्षेत्रबाट उम्मेदवारी दिएका हुन् ।

प्रतिनिधिसभाको निर्वाचनमा ‘हेभी वेट’ उम्मेदवार दाहाल र पाण्डे दुवैले एकअर्काको भोटमा भर पर्नुपर्ने अवस्था छ । पाण्डे संविधानसभाको दोस्रो निर्वाचनमा चितवन–५ बाट विजयी भएका थिए । त्यतिबेला यो क्षेत्रमा परेका ठाउँहरू अहिले ३ नम्बरमा पर्छन् ।

दुवै जना ‘हेभी वेट’ उम्मेदवार भएका कारण सबैको चासो यस क्षेत्रमा छ । दाहालले चितवन–३ का जनताले आफूलाई जिताउने र आफूले नै देशकै नेतृत्व गर्नेसमेत बताउँदै आएका छन् । चितवनको नेतृत्व राष्ट्रको नेतृत्व सोचेर चितवन–३ बाट उम्मेदवारी दिएको बताउँदै दाहालले आफूलाई यहाँका जनताले जिताएर देशकै नेतृत्व गर्न पठाउने विश्वास व्यक्त गर्दै आएका छन् ।

उता, पाण्डेले पनि आफूले जितेर देशकै नेतृत्व गर्ने बताउँदै आएका छन् । सो क्षेत्रमा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वडा पर्छन् । साबिक नारायणी नगरपालिका र चितवन नगरपालिका यही क्षेत्रमा पर्छन् । साबिक चितवन नगरपालिकामा नेपाली कांग्रेस बलियो मानिन्छ ।

चर्चामा चितवन–३

सो क्षेत्रमा स्थानीय तहको भरतपुर महानगरपालिकाको १९ वटा वडाको हिसाब गर्दा माओवादी केन्द्र र एमालेभन्दा कांग्रेसको मत बढी छ । १९ वडामध्ये ६ वटा एमाले, तीनवटा माओवादी र ११ वटा वडा कांग्रेसले जितेको थियो । कुनै समय कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला शतप्रतिशत जित्ने क्षेत्र भन्दै सोही क्षेत्रमा उठेर विजयी भएका थिए ।
२०७० सालमा तत्कालीन क्षेत्र नम्बर ४ मा कोइरालाले दोब्बर मत ल्याएर विजयी भएका थिए । कांग्रेसको सुरक्षित स्थान खोज्दै कोइराला त्यसबेला चितवन आएका थिए । अहिलेको ३ नम्बर क्षेत्र त्यतिबेला ४ मा परेको थियो । २०४८ सालदेखि नै हाल चितवनको ३ नम्बर क्षेत्रमा परेका ठाउँहरू कांग्रेसको आधार इलाका मानिन्छन् ।
स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर ३ मा परेको माडी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका ठाकुर ढकाल विजयी भए पनि माडीमा कांग्रेस, माओवादी केन्द्र तथा एमाले र राप्रपाको मत पनि बराबरीजस्तो आएको थियो । कांग्रेस, माओवादी केन्द्र र एमालेको फरक उम्मेदवार भएको भए चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसले जित्ने सम्भावना बलियो थियो । स्थानीय निर्वाचनमा क्षेत्र नम्बर ३ मा पर्ने १९ वटा वडाको कांग्रेसले पाएको मत जोड्दा २३ हजार २ सय ३७ छ । एमालेको जोड्दा २१ हजार १ सय ३० मत छ । माओवादी केन्द्रको मत दुवैका भन्दा कम छ । माडी नगरपालिकासहितको मतलाई जोड्दा कांग्रेसको मत २७ हजार कट्छ । माडीको मतसहित एमालेको सम्पूर्ण मत जोड्दा २४ हजार कटेको छ ।
चितवन ३ मा वाम गठबन्धनको मत जोड्दा कांग्रेसको मतभन्दा ८ हजारले बढी छ । क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर १३, २५ र २६ मा माओवादी केन्द्रको मत बढी छ । स्थानीय निर्वाचनमा यस वडाको नेतृत्वमा माओवादी केन्द्रले जितेको थियो । वडा नम्बर १३ लाई माओवादी केन्द्रको गढ नै मानिन्छ ।
स्थानीय तहको निर्वाचनपछि जिल्लामा ४१ हजार ३३ मत थपिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता संख्या ३ लाख ५४ हजार ३५ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा एक जना तेस्रोलिंगी पनि छन् ।
स्थानीय तहको निर्वाचनका बेला जिल्लामा ३ लाख १३ हजार २ मतदाता थिए । कार्यालयका अनुसार १ लाख ८४ हजार ६९ जना महिला र १ लाख ६९ हजार ९ सय ६५ जना पुरुष मतदाता रहेका छन् । कांग्रेसको भोट बाँडिएर दाहाललाई आयो भने नतिजा फरक आउनेछ । दुवै उम्मेदवार एकअर्काको मतमा भर परेका छन् ।