किल्ला ढाल्ने र जोगाउने कसरत

कमल शर्मा  / दैलेख

आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा दैलेखमा दलहरू चुनावी प्रचारको अन्तिम चरणमा छन् । एकै दिनमा धेरै ठाउँमा पुगेर कार्यकर्ता भेटघाट र चुनावी सभाहरूमा सहभागी बन्ने दौडधुपमा उम्मेदवारहरू व्यस्त देखिन्छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अंकगणितमा अगाडि वाम गठबन्धन जित सुनिश्चित पार्ने अभियानमा जुटेको देखिन्छ भने लोकतान्त्रिक गठबन्धन भने विपक्षीको किल्ला भत्काउने मनशायसहित जोडतोडले लागिपरेको छ  ।

२०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा एमाले र काग्रेस एक÷एक क्षेत्रमा विजयी भएका थिए । २०७० को निर्वाचनमा दुवै क्षेत्र विजयी भएको नेकपा एमाले गएको स्थानीय तहको निर्वाचनमा पनि पहिलो शक्ति भएको थियो । यतिखेर माओवादी केन्द्र मिसिँदा अझ बलियो बनेको वाम गठबन्धन दैलेखका ६ वटै स्थानमा विजय हासिल गरेर वाम गठबन्धनको किल्ला बनाउने योजनामा लागेको छ ।

त्यस्तै, स्थानीय तहको निर्वाचनमा झिनो मतान्तर भएको भन्दै लोकतान्त्रिक गठबन्धन पनि जसरी भए पनि जित्ने दाउमा लागेको देखिन्छ । पहिलो संविधानसभामा मध्यपश्चिमभर दैलेखमा गणेश खड्कालाई मात्रै विजयी गराएको नेपाली कांग्रेस पुरानो जित फिर्ता गर्ने योजनासँगै लोकतान्त्रिक गठबन्धनका रूपमा आक्रामक तरिकाले प्रचारमा सक्रियतापूर्वक लागेको छ ।

प्रतिनिधिसभातर्फ दैलेख–१ मा एमाले जिल्ला अध्यक्ष रवीन्द्र शर्मा वाम गठबन्धनबाट र राप्रपाका दीपककुमार शाही लोकतान्त्रिक गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै, दैलेख–२ बाट वाम गठबन्धनबाट एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वसांसद राजबहादुर बुढा र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका शिवराज जोशी चुनावी भिडन्त गर्दै छन् ।

प्रदेशसभामा पनि चारै क्षेत्रमा प्रतिस्पर्धा हुने देखिएको छ । दैलेख–१ ‘क’मा एमाले र माओवादी केन्द्रबाट साझा उम्मेदवार धर्मराज रेग्मीले लोकतान्त्रिक गठबन्धन उम्मेदवार कांग्रेस जिल्ला सभापति कृष्ण बीसीलाई चुनौती दिँदै छन् । मतदातामाझ दुवै नयाँ अनुहार हुन् । १ ‘ख’मा वाम गठबन्धनका उम्मेदवार निवर्तमान सांसद अम्मरबहादुर थापालाई लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जगतजंग थापाले चुनौती दिने भएका छन् । थापा २०७० मा संविधानसभाको निर्वाचनमा विजयी सांसद यसपटक भने प्रदेशसभा उम्मेदवार भएका हुन् ।

दैलेख–२ ‘क’मा वाम गठबन्धनका साझा उम्मेदवार एमाले जिल्ला कमिटी सदस्य सुशील थापालाई लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका महाधिवेशन प्रतिनिधि मधुरविक्रम खनालले चुनौती दिने बताइएको छ । २ ‘ख’मा वाम गठबन्धनका उम्मेदवार एमालेका राजबहादुर शाहीलाई लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कांग्रेसका दिक्पाल शाही चुनौती बन्दै छन् । कुल १ लाख ३२ हजार ९ सय ९२ मतदाता रहेको दैलेखमा निर्वाचन क्षेत्र नम्बर १ मा ७० हजार १ सय ९० र २ मा ६९ हजार ७ सय ५४ मतदाता छन् ।