बाँदरमुढेवासी–दाहाल सहमति

चितवन / रास– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बाँदमुढेवासीले पहिलोपटक आइतबार औपचारिक रूपमा स्वागत गरेका छन् । माडीमा आयोजना गरिएको जनसभामा पुगेका दाहालले सभा सुरु हुनुभन्दा अगाडि पीडितहरूसँग वार्ता गरी तीनबुँदे सम्झौता गरेपछि उनलाई पीडितले स्वागत गरेका हुन् ।

सम्झौतापत्रमा माओवादी केन्द्रका अध्यक्ष दाहाल र पीडितका पक्षबाट पाँच जनाको हस्ताक्षर छ ।  प्रचण्डसँग भएको सम्झौतामा पीडित २९ जनाले समर्थन गरेको पीडित परिवारमध्येका एक सुदीप न्युरेले जानकारी दिए ।

पीडितसँगको छलफलमा दाहालले सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्ने भन्दै पीडितहरूलाई ढुक्क हुन आग्रह गरे । ब्यानर, फूलमालासहित दाहाललाई सभास्थलमा पीडितले स्वागत गरेका थिए ।

के छ सम्झौतामा ?

मृतकका परिवारमध्ये काम गर्न सक्नेलाई रोजगार तथा स्वरोजगार, नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाको पठनपाठनको व्यवस्था गरिने सम्झौतामा उल्लेख छ । यस्तै घाइतेहरूको अवस्था हेरी औषधि उपचार गर्ने, काम गर्न सक्नेलाई रोजगार तथा स्वरोजगार प्रदान गर्ने र नसक्नेलाई जीवनवृत्ति प्रदान गर्ने उल्लेख छ । वार्तासँगै सम्झौताको क्रममा बाँदरमुढे घटना पीडित संर्घष समितिका अध्यक्षलगायत केही पीडितको भने सहभागिता थिएन ।

माडीमा आयोजना गरिएको चुनावी सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् भन्ने देखाउनका लागि वाम गठबन्धन गरिएको बताए । कार्यक्रममा दाहालले बाँदरमुढे घटना द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती भएको बताए । बाँदरमुढे घटनालाई बहाना बनाएर राजनीति गर्ने काम भइरहेको भन्दै उनले पीडितलाई शान्ति सम्झौतालगत्तै भेटेर आफूले सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरेको बताए ।