विरासत जोगाउने र स्थापित हुनेबीच टक्कर

कृष्ण सिग्देल, अजय साह  / बारा

२१ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन नजिकिएसँगै नतिजा आफ्नो पक्षमा पार्न बारामा कांग्रेस, वाम गठबन्धन र फोरम–राजपा गठबन्धनका उम्मेदवारहरू आ–आफ्नै तरिकाले चुनावी अभियानमा सक्रिय छन् । यतिखेर उनीहरू घरदैलो, सभाजस्ता सार्वजनिक कार्यक्रम सकेर आन्तरिक बैठक, भेटवार्ता र गणितीय हिसाबकिताबमा व्यस्त हुन थालेका छन् । वाम र फोरम–राजपा गठबन्धनका उम्मेदवारहरू जित आफ्नो पाल्टोमा पार्ने कसरतमा लागेका छन् । त्यस्तै, कांग्रेस उम्मेदवारहरू वाम र फोरम–राजपाका मत तानेर जित्ने दाउ हेरिरहेका छन् ।

प्रतिनिधिसभाका लागि कांग्रेसबाट चारै क्षेत्रमा पूर्वसांसद तथा पटकपटक मन्त्री भएका पुराना अनुहार छन् भने फोरम राजपका गठबन्धनका चारै जना नयाँ अनुहारका हुन् । वाम गठबन्धनले पनि तीन नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको छ । मतदाताबाट पुरानाले भन्दा नयाँले बढी सहानुभूति पाउने देखिएको छ ।

पहिलो संविधानसभाको निर्वाचनमा बारामा एक सिट मात्रै जितेको कांग्रेस र खाता खोल्नै नसकेको एमालेले दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस र एमालेले तीन÷तीन गरी बराबरी क्षेत्रमा विजय हासिल गरेका थिए । पहिलो संविधानसभाको निर्वाचनमा तीन स्थानमा विजय हासिल गरेका मधेसवादी दलहरूले दोस्रो संविधानसभामा एउटा पनि क्षेत्र पनि जित्न सकेन ।

करिब ३ लाख ४९ हजार मतदाता रहेको बारामा प्रतिनिधिसभाका लागि चार र प्रदेशसभाका लागि आठ निर्वाचन क्षेत्र छन् । एमाले बाराका अनुसार दोस्रो संविधानसभामा एमालेबाट विजयी तीन उम्मेदवारमध्ये कसैलाई पनि वाम गठबन्धनले टिकट दिएको छैन । पहिला चुनाव जितेर आफ्नो क्षेत्र बारा–४ का जनतामाझ लोकप्रिय एमालेकी नेजमा खातुन, पूर्वमन्त्रीसमेत रहेका बारा–६ का एमालेका पुरुषोत्तम पौडेल प्रतिनिधिसभा चुनाव नलड्दा वाम गठबन्धनलाई असर पर्ने विश्लेषण गरिएको छ ।

बारा–१ का कांग्रेस उम्मेदवार उमाकान्त चौधरी कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनका प्रतिस्पर्धी एमालेबाट अच्यूत मैनाली र राजपा–फोरम गठबन्धनबाट रामकिशोर यादव छन् । पहिलो र दोस्रो दुवै संविधानसभा निर्वाचनमा विजयी चौधरी २०५६ सालको संसदीय निर्वाचनमा पनि विजयी भएका थिए । उनी एकपटक सहायक मन्त्री र एकपटक मन्त्री बनेका थिए । उनी आफ्नो क्षेत्रमा प्रतिबद्धताअनुरूप काम गर्न नसकेको भन्दै विभिन्न कारणले समाजमा आलोचित छन् । एमाले जिल्ला इन्चार्ज र वैकल्पिक केन्द्रीय सदस्य भइसकेका वाम गठबन्धनबाट बारा–१ का उम्मेदवार अच्यूत मैनाली मतदाताका लागि नयाँ अनुहार हुन् । उनी नरम, व्यावहारिक र बौद्धिक व्यक्तित्वका रूपमा चिनिन्छन् । फोरम–राजपा गठबन्धनबाट चुनावी मैदानमा उत्रेका रामकिशोर यादव २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा रामकिशोर नेतृत्वको फोरम गणतान्त्रिकबाट बारा–१ बाट चुनाव लडेका थिए । उनी पनि बलिया प्रतिस्पर्धीका रूपमा चिनिन्छन् ।

बारा–२ बाट कांग्रेस केन्द्रीय सदस्य राधेचन्द्र यादव, वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाह र फोरम–राजपा गठबन्धनबाट फोरम नेपालका महासचिव रामसहाय यादव चुनावी भिडन्तका लागि तयार छन् । २०५१ साल र दोस्रो संविधानसभाको निर्वाचनमा बारा–२ बाट विजयी कांग्रेस केन्द्रीय सदस्य राधेचन्द्र यादवसँग फोरम नेपालका महासचिव यादवबीच कडा प्रतिस्पर्धामा हुने अनुमान छ । उनी पनि यस क्षेत्रका लागि नयाँ अनुहार हुन् । वाम गठबन्धनबाट चुनावी मैदानमा उत्रेका कुशवाह पहिलो संविधानसभाको निर्वाचनमा बारा–२ मा विजयी भएका थिए ।

बारा–३ मा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर, वाम गठबन्धनबाट एमालेका अध्यानन्द पाण्डे र राजपा फोरम गठबन्धनबाट संघीय समाजवादी फोरम बारा अध्यक्ष रामबाबुप्रसाद यादव चुनावी मैदानमा उत्रिएका छन् । उनले २०५६ को निर्वाचनमा बारा–४ र दोस्रो संविधानसभामा बारा–३ मा जितेका थिए । विगतका कामको चर्चाले मतदातालाई आफूतिर आकर्षण गरे पनि नयाँ उम्मेदवारको ‘अब नयाँको पालो’ भन्ने नाराले उनलाई चुनौती दिइरहेको छ । वाम गठबन्धनका पाण्डे र फोरम–राजपा गठबन्धनका यादव यसअघि चुनाव नलडेका व्यक्ति हुन् । २०३७ सालमा नेकपा मालेबाट राजनीति सुरु गरेका पाण्डे बारा एमालेका सल्लाहकार सदस्य हुन् । राजनीतिक रूपमा चुनावमा पहिलोपटक अवसर पाएका पाण्डेलाई वाम गठबन्धनका बलिया उम्मेदवारका रूपमा हेरिएको छ । दुई ठूला र पाका उम्मेदवारसँग प्रतिस्पर्धामा लागेको यादव पनि युवा पिँढीको मन जितेर चुनाव जित्नेमा आशावादी छन् ।

बारा–४ मा कांग्रेसका लालबाबु सिंह, वाम गठबन्धनका देवनारायण चौधरी र फोरम–राजपा गठबन्धनबाट एकवाल मियाँ चुनावी मैदानमा छन् । २०३६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका कांग्रेसका महासमिति सदस्य सिंह २०७० सालको निर्वाचनमा समानुपातिकबाट सांसद बनेका थिए । वाम गठबन्धनका तर्फबाट उम्मेदवार चौधरी एमाले बारा उपाध्यक्ष हुन् । विद्यार्थी संगठनबाट राजनीति थालेका उनी गाविस अध्यक्ष हुँदै एमाले जिल्ला उपाध्यक्षमा निर्वाचित नेता हुन् । पार्टीको सबै तह र क्षेत्रबाट राम्रो प्रतिक्रिया पाएका चौधरी क्षेत्रको उत्तरी मतदाताबीच पनि लोकप्रिय मानिन्छन् । चौधरी र मियाँ यसअघि चुनाव नलडेको बताइएको छ ।