काठमाडौंको चपलीमा बम विस्फोट, गगन थापासहित ११ जना घाइते

काठमाडौँ, १८ मंसिर ।  चुनाव प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार भएको छ । घटनामा उम्मेदवार थापासहित ११ जना घाइते भएका छन्।

बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेका बेला अज्ञात समूहले थापालाई केन्द्रित गरी बम प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, बरिष्ठ प्रहरी उपरीक्षक रबीन्द्र धानुकले जानकारी दिनुभयो । उहाँका अनुसार थापाको टाउको र कम्मरमा चोट लागेको छ । थापाको अवस्था भने सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।

घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । घाइते हुनेहरुमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रिना बरुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ, पर्शुराम थापा एवं ध्रुव खड्का रहेका छन्। घाइतेमध्ये राजकाजी श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठको अवस्था गम्भीर छ। घाइते सबैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।