मतदानस्थल पुगे सुरक्षाकर्मी

टपेन्द्र कार्की  / काठमाडौं

दोस्रो चरणमा ४५ जिल्लामा सम्पन्न हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षाकर्मीहरू मतदानस्थल पुगिसकेका छन् । निर्वाचन आयोगले निर्वाचनको तीन दिनअघि नै मतदान अधिकृतसहित सुरक्षाकर्मीहरूलाई मतदान केन्द्र पुग्न निर्देशन दिएको थियो ।

निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष गरी २ लाख ८० हजार सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी सो संख्यामा सुरक्षाकर्मी खटिएका हुन् । सुरक्षा व्यवस्था कडा बनाउने सरकारी नीतिअनुसार ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका हुन् ।

निर्वाचन सुरक्षामा सेना र सशस्त्र प्रहरी पनि परिचालन भइसकेका छन् । मतदान सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक तथा प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरी र म्यादी प्रहरी परिचालन हुनेछन् । सुरक्षा बलियो बनाउन मतदान केन्द्रलाई साधारण, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन मिति घोषणा भएदेखि नै गृह मन्त्रालयले विशेष कार्ययोजना बनाएर आवश्यक सुरक्षा  प्रबन्ध गर्दै आएको थियो । गृह मन्त्रालयले निर्वाचन सुरक्षाका लागि केन्द्रित सुरक्षा नीतिअनुसार नै जिल्लास्तरमा सुरक्षा योजना कार्यान्वयन गरिसकेको र जसअनुसार पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलाई खटाइएको छ ।

मतदानको बेला कुनै पनि अप्रिय घटना र अपराधजन्य क्रियाकलाप नहोस् भनेर मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि नै सबै नाका बन्द हुनेछन् ।

गृह मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीका अनुसार चीन तथा भारतसँग सीमा जोडिएकाले सीमा क्षेत्रमा एक महिनाअघिदेखि नै विशेष निगरानी बढाइएको थियो । ‘सीमा क्षेत्रमा अहिलेसम्म सामान्य देखिएको छ, निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा पारिएकाले अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरू प्रयत्नशील छन्,’ गृह प्रवक्ता दुवाडीले भने ।

प्रवक्ता दुवाडीले निर्वाचनका बेला सीमा अपराध नियन्त्रण, अवैध हातहतियार ओसारपसारलगायतका गतिविधि नियन्त्रणमा पनि केन्द्रित हुन सुरक्षा निकायहरूलाई निर्देशन दिइएको बताए । उनका अनुसार खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिन सक्ने नाका बन्द गरिएको हो ।

‘अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालिमप्राप्त कुकुरले सुँघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालिमप्राप्त कुुकुर परिचालन गरिएको छ,’ उनले भने ।नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालका अनुसार नेपाली सेनाले निर्वाचन अवधिभर पैदल गस्ती गर्नेछ । तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गरिरहेको सेनाले जनाएको छ । ‘आवश्यकताअनुसार सबै प्रकारका पेट्रोलिङ तथा पैदल गस्ती भइरहेका छन्, मद्दती सुरक्षा फौज पनि तैनाथ छ,’ प्रवक्ता दाहालले भने ।
मतदान केन्द्र तथा स्थलमा बाक्लो सुरक्षा उपस्थितिसँगै नियमित चेकजाँच, गस्ती, उम्मेदवारको सुरक्षाव्यवस्था र भूमिगत शैलीमा राजनीति गर्दै आएका केही राजनीतिक पार्टीमाथिको निगरानीसँगै सुरक्षा व्यवस्था कडा बनाएको नेपाल प्रहरीले जनाएको छ । मतदाता तथा उम्मेदवारहरूको सुरक्षाका लागि मतदानस्थलमा मात्र नभई गाउँबस्ती, सार्वजनिक स्थल, सवारीसाधनका नियमित सुरक्षाजाँच र गस्ती बढाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेले बताए । उनका अनुसार उम्मेदवारहरूको सुरक्षादेखि मतदाताहरूको सुरक्षालाई समेत ध्यान दिइएकाले सुरक्षा व्यवस्था कडा बनाइएको हो ।