संघ–प्रदेश मतगणना एकसाथ

विजय चाम्लिङ / काठमाडौं

२१ मंसिरमा हुने दोस्रो चरण निर्वाचन मतदान सकिएपछि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र समानुपातिक निर्वाचन प्रणालीबमोजिमको मतगणना एकसाथ प्रारम्भ गरिने भएको छ ।

निर्वाचन अधिकृतले मतदान सकिएको दिन बेलुकी ५ बजेपछि कम्तीमा तीनवटा मतगणना टोली बनाई गणना कार्य सुरु गर्नुपर्ने ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका २०७४’ मा उल्लेख छ ।

तर स्थान अभावमा एकै समयमा सबै निर्वाचनको मतगणना गर्न नसकिने भएमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिमको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको मतगणना एकैपटक गरी सो गणना समाप्त भएपछि मात्रै समानुपातिक निर्वाचन प्रणालीको मतगणना गरिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीबाट मतदानस्थलमा प्रयोग हुने सामग्री विभिन्न निर्वाचन केन्द्र लैजाने तयारी गर्दै कर्मचारी । उनीहरूले निर्वाचन कार्यालयबाट मतपत्रसहित ६६ प्रकारका सामग्री बुझेका छन् । तस्बिर : विजय नेपाल

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना एकैपटक गर्दा अलगअलग कोठामा गर्नुपर्नेछ । एउटै कोठामा गर्नुपरेमा मतपत्र नमिसिने गरी गर्नुपर्नेछ ।  स्थान अभाव वा कुनै कारणवश प्रतिनिधसभा सदस्य र प्रदेशसभाको पनि एकसाथ मतगणना गर्न नसकिने अवस्था आएमा पहिले प्रतिनिधिसभा सदस्य र त्यसपछि प्रदेशसभा सदस्यको मतगणना गरिनेछ ।

‘हाम्रो लक्ष्य चाहिँ तीनवटाकै मतगणना एकैपटक सुरु गर्ने छ,’ ढकालले भने, ‘एकैपटक सम्भव नभए समानुपातिक छोडेर सुरु गर्ने र त्यो पनि नभए पहिले प्रतिनिधिसभा सदस्यको मतगणना गरिनेछ ।’

आयोगका अनुसार निर्वाचन अधिकृत नै मतगणना अधिकृत रहनेछन् । निर्वाचन अधिकृतले कम्तीमा सात जना कर्मचारी रहेको मतगणना टोली गठन गर्नेछन् । जसमा प्रमुख मतगणना अधिकारी एक, सहायक मतगणना अधिकारी एक, मतगणना सहायक एक, कम्युटर अपरेटर एक, सहायक कर्मचारी दुई र सहयोगी कर्मचारी एक जना रहनेछन् ।

निर्देशिकाको दफा ५ उपदफा ३ अनुसार निर्वाचन अधिकृतले स्थान उपलब्ध भएसम्म कम्तीमा तीनवटा मतगणना टोली बनाई गणना कार्य प्रारम्भ गर्नुपर्नेछ ।मतगणना कार्य छिटो सिध्याउनका लागि मतपत्र संख्या, उपलब्ध स्थान र सुरक्षा व्यवस्थासमेतको आधारमा तीनभन्दा बढी मतगणना टोली गठन गरी गणना गर्न सकिनेछ ।

निर्देशिकाअनुसार प्रत्येक मतगणना टोलीले कम्तीमा प्रतिसिफ्ट समानुपातिक निर्वाचन प्रणालीतर्पm १ हजार ५ सय र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्पm ३ हजार थान मतपत्र गणना गर्नुपर्नेछ ।

 मतगणनाका विकल्प

 पहिलो    :  समानुपातिकसहित सबै गणना एकसाथ

 दोस्रो :  प्रतिनिधिसभा र प्रदेशसभा (प्रत्यक्ष) एकसाथ

 तेस्रो :  प्रतिनिधिसभाको (प्रत्यक्ष) नतिजापछि प्रदेशसभा

मतगणना प्रक्रिया

     सात सदस्यीय तीनवटा गणक टोलीबाट एकसाथ गणना

     एक क्षेत्रको मतगणना एउटै कम्पाउन्डभित्र

    एक सिफ्टमा प्रत्यक्षका ३ हजार र समानुपातिकका १ हजार ५ सय थान मतपत्र गणना

 

सबै मतदान केन्द्रका मतपेटिका प्राप्त भइसकेपछि निर्वाचन अधिकृतले मतगणना हुने स्थान, मिति र समय उल्लेख गरी सूचना प्रकाशित गर्नुपर्नेछ ।
तर कुनै मतदान केन्द्रमा पुनः मतदान हुने भएमा पुनः मतदान हुने मतदान केन्द्रको मतपेटिका मतगणनास्थलमा प्राप्त नभएसम्म मतगणना सुरु गरिनेछैन ।
मतगणनास्थल निर्वाचन अधिकृतले नै तोक्नेछन् । मतगणनास्थल सुविधा र सुरक्षाको दृष्टिले उपयुक्त सरकारी कार्यालय वा सामुदायिक भवनमा तोक्नुपर्ने व्यवस्था छ ।निर्वाचन अधिकृतले सम्भव भएसम्म एउटै कोठा वा ठाउँमा मतगणना गर्ने व्यवस्था मिलाउनुपर्नेछ । पर्याप्त ठाउँ नपुगेको अवस्थामा मात्रै अर्को कोठामा गणना गर्नुपर्नेछ ।
एउटै भवनमा पर्याप्त ठाउँ नभएमा एउटै परिसर (कम्पाउन्ड) रहेको अर्को भवनमा पनि मतगणना गर्न सकिने आयोगले जनाएको छ । सर्वसाधारणलाई समयसमयमा मतगणनाको प्रगति र नजिताको जानकारी दिनका लागि सूचनापाटी वा माइकको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माका अनुसार मतगणनास्थलमा राजनीतिक दल तथा उम्मेदवारले मतगणना प्रतिनिधि राख्न सक्नेछन् । उनका अनुसार प्रत्यक्षका लागि उम्मेदवारका प्रतिनिधि र समानुपातिकका लागि दलका प्रतिनिधि राखिनेछन् ।
२१ मंसिरको बेलुकी ५ बजेपछि कुल ७७ वटै जिल्लामा एकसाथ मतगणना सुरु गरिने र पाँच दिनभित्रमा प्रत्यक्षतर्पmको नजिता सार्वजनिक भइसक्ने शर्माले बताए ।  ‘समानुपातिकतर्पmको नतिजाचाहिँ देशभरिबाट दलले पाएको मत जम्मा भएर आउनुपर्ने भएकाले पुसको २÷४ गतेसम्म पुग्न सक्छ,’ उनले भने ।