घर बनाउन नपाउँदा चमार परिवार बिचल्लीमा

रुद्र सुवेदी  / नेपालगन्ज

तीन दशकदेखि जानकी गाउँपालिका बकोटिया गाउँनजिकको ठूलो खाडलछेउ ऐलानी जमिनमा झुप्रो बनाएर बस्दै आएका तराईका सीमान्तकृत तथा दलित समुदायकी माया रैदास (चमार) को पक्की घरमा बस्ने सपना अधुरै रहने भएको छ । जनता आवास योजनामार्फत पक्की घर बनाउँदै गरेकी मायाको सपना त्यतिबेला चकनाचुर भयो, जतिबेला उनकै सँधियार रहेका काशीराम कुर्मीले जग्गा खिचलोको मुद्दा दिएपछि निर्माण तत्काल रोक्नू भन्दै बाँके अदालतको म्याद आयो ।

अदालतको म्याद आएसँगै यो वर्ष जनता आवासमार्फत मायाले घर बनाइसकेलगत्तै अर्को वर्ष त्यस्तै घर बनाउने प्रह्लाद चमारको आशासमेत समाप्त भएको छ । उमेरले ५५ नाघेकी मायाको नाउँमा आफू बस्दै आएको ठाउँबाहेक कहीँकतै जमिन छैन । तर, सँधियार कुर्मीसँग प्रशस्त जमिन हुँदाहुँदै पनि मुद्दा हालिदिएका कारण सरकारी अनुदानमा बन्दाबन्दैको घर निर्माण कार्य रोक्नुपरेको रैदासले बताइन् । ‘भनेको समयमा घर निर्माण गर्न सकिएन भने पाएको रकम पनि सबै फिर्ता जान्छ भन्छन् तर जग हाल्दा नहाल्दै घर नबनाउनू  भन्दै अदालतको चिठी आयो,’ अदालतको म्याद देखाउँदै उनले भनिन् ।

वडा कार्यालयमा घरधुरी कर तिरेको रसिद, विद्युत् महसुलको रसिद हुँदा पनि आफूलाई अनाहकमा सताउने गरेको मायाले बताइन् । उनी बसेको ठाउँ वडा नम्बर २ मा परे पनि वडा नम्बर ३ का वडाध्यक्ष विन्देश्वरी बर्मा कुर्मीले मायालाई आफ्नै वडा कार्यालयको लेटरप्याड प्रयोग गर्दै घर निर्माण रोक्नू भनेर पत्रसमेत काटिएको थियो ।

‘एकाबिहानै काशीराम आफ्ना केही सहयोगीसँगै आएर भनेको ठाउँमा भोट नहाल्ने भए बस्न दिन्न भनेर गए,’ उनले केही महिनाअघिको घटना सम्झँदै भनिन्, ‘उनले भनेबमोजिम नै भोट पनि हालें, फेरि अहिले आएर घर नै बनाउन दिएनन् ।’

बाँके जानकी गाउँपालिका–२ बकोटिया गाउँका चमार परिवार आफूसँग भएको जग्गाको प्रमाण सामग्री देखाउँदै ।

मायाका अनुसार उनका दुई ससुरा तीन दशकअघि यस ठाउँमा बसाइँ सरिआएका हुन् । ‘म विवाह गरेर आउँदा पनि यहाँ ठूलो र गहिरो खाल्डो थियो, जसोतसो गरेर खाल्टो पुरेर झुप्रो बनाएर गुजारा चलाउँदाचलाउँदै मेरा ससुरा र श्रीमान् बित्नुभयो,’ उनले दुखेसो पोखिन्, ‘तर अहिले जनता आवासबाट मेरो पक्की घर बन्ने भएपछि ठूलो जातका जमिनदारले सहन सकेनन् ।’

मायाका छोरा राजेश रैदासले आक्रोश पोख्दै भने, ‘काशीरामसँग धेरै जमिन हुँदाहुँदै पनि हामी बसेको ऐलानी जमिनमा आँखा गाडेर किन अनावश्यक दुःख दिँदै छ ?’ राजेशले पनि काशीराम ठूलो जातको जमिनदार भएकाले आफूहरूमाथि थिचोमिचो गर्दै आएको आरोप लगाए । नेपालगन्ज–गौघाट सडकखण्डमा पर्ने भएकाले आफ्नो जमिनअगाडि मोहडामा रहेको ऐलानी जमिनबाट रैदास परिवारलाई विस्थापित गर्न सके जमिनको मूल्य बढ्ने सोचले पनि काशीरामले पटक–पटक अनावश्यक दुःख दिँदै आएको उनीहरू बताउँछन् ।

‘सहमतिमा बाटो खोज्ने हो भने हामी जमिन दिन तयार छौं तर हामीले दिएजति जमिन आफ्नो ऐलानी जमिनबाट देऊ भन्दा पनि मान्दैनन्,’ राजेशले गुनासो गरे, ‘तीन पुस्तादेखि बस्दै आएको ऐलानी जमिन छाडेर हामी कहाँ जाऔं, के सबै ठुलाठालु र जमिनदारको मात्रै हो र हाम्रो केही छैन ?’

प्रह्लादकी पत्नी उषाले धेरैपटक काशीराम कुर्मी परिवारको अत्याचार सहनुपरेको बताइन् । उनले आफूहरूले लामो समयदेखि चर्चेको ऐलानी जमिन अलिअलि गर्दै कब्जा गरी रूख रोपेर अत्याचार गर्दै आएको व्यथा पोखिन । दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएको चमार परिवारलाई अदालतको पुर्जी आएदेखि झनै समस्यामा परेको बताइन्छ । ‘न पैसा छ न त बोलिदिने मान्छे नै †’ सबैले एकै स्वरमा भने । यसैबीच, यस विषयमा बुझ्न पटकपटक फोन सम्पर्क गर्दा पनि काशीराम कुर्मी सम्पर्कमा आउन चाहेनन् ।