दल आश्वासन बाँड्दै जनता विकास माग्दै

सविन शर्मा / काठमाडौं

‘हामीलाई अरू केही चाहिएको छैन, विकास गर्ने नेता चाहिएको छ,’ चुनावी भाषणमा नेताले आश्वासन मात्रै बा“ड्ने गरेकोप्रति दुखेसो पोख्दै बाग्मती गाउँपालिका–५ ललितपुरकी ५५ वर्षीया मित्रकुमारी घिमिरे भन्छिन्, ‘हामीलाई नेताको आश्वासनभन्दा विकास चाहिएको छ, शान्ति चाहिएको छ ।’

मुलुकको विकासका लागि काम गर्ने व्यक्ति छान्ने हो तर राजनीतिक दलले आफ्नो स्वार्थका लागि आश्वासन बाढ्ने गरेको उनको दुखेसो छ । ‘भोट त हाल्ने हो, तर चुनिएका नेताले विकास गर्लान् भन्ने के छ त ?’ उनको प्रश्न छ ।

आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दलका नेताले सोमबार जनतासमक्ष मत माग्न सभा सम्मेलन गरे । ‘उम्मेदवारले प्रचारमा आएको विषय पूरा गर्ने हो भने मुलुक विकसित बन्न पा“च वर्षभन्दा बढी लाग्दैन,’ कागेश्वरीका सौरभ नेपाल भन्छन्, ‘दलले चुनावमा भाषण र काम नगर्ने गरेको भोगेको २५ वर्षभन्दा बढी भइसकेको छ ।’

उनीहरूले २५ वर्षदेखि उठाउँदै आएको विकासको नारा अझै नछाडेको नेपालको अनुभव छ । हरेक निर्वाचनमा आउने विकासको नारा पूरा गर्ने व्यक्ति चुन्नुपर्ने उनको जोड छ ।घरदैलो अभियानमा हिँडेका उम्मेदवारसमक्ष मतदाता यही प्रश्न उठाउने गर्छन् । उम्मेदवारले भने एकले अर्काको दोष देखाउँदै जनताको प्रश्नको जवाफ दिने गरेको पाइन्छ ।

राजनीतिक दलले यसअघि आफूहरूको एजेन्डा संविधान निर्माण र शान्ति तथा विकासमै केन्द्रित हुने प्रतिबद्धता जनाउँदै आएका छन् । राजनीतिक दलले आफ्नो पक्षमा मत पार्न विभिन्न आश्वासन दिने गरे पनि अहिले मतदाताले आफ्नो विवेक प्रयोग गर्न डराउन नहुने राजनीतिक विश्लेषक कृष्ण खनाल बताउँछन् ।

‘राजनीतिक दलका चुनावी घोषणापत्र र पढेर कोही पनि मतदाताले मत दिने आधार नै छैन,’ उनले राजधानीस“ग भने, ‘राजनीतिक दलको घोषणापत्र योजना आयोगका योजनाजस्तो देखिएको छ, यसलाई कुनै आधार मान्न आवश्यक छैन ।’

पछिल्ला निर्वाचनमा मतदाताले केही गर्ने व्यक्ति छनोटका लागि नयाँ अनुहार रोज्ने गरेको राजनीतिक विश्लेषण हुने गरेको छ । विशेषगरी सहरी क्षेत्रमा मतदाताले जनुसुकै समय आफ्नो मत फरक व्यक्तिलाई दिने गरेको पाइएको खनाल बताउँछन् ।

‘जनताले शान्ति र विकासका साथै आर्थिक उन्नति चाहेका छन्,’ उनले भने, ‘दलले तय गरेका योजना सबै कार्यान्वयनमा ल्याउने काम गर्न सके जनताको आशामाथि कुनै चोट पुग्ने थिएन ।’ स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारले उठाएका योजना कार्यान्वयन हुन नसकेको विषय मतदाता आफैंले भोग्दै आएका छन् । निर्वाचनमा गरेका वाचा पूरा गर्न नसक्दा मतदाताले विश्वास गर्ने वातावरण क्रमशः घट्दै गएको उनको बुझाइ छ ।