‘पुनर्निर्माण निष्पक्ष भएर गर्न निर्देशन’

राजधानी समाचारदाता / काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनर्निर्माणको काम पक्षपातरहित भएर गर्न सम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिएका छन् । भूकम्पप्रभावित जनतालाई राहत दिनु अहिलेको पहिलो आवश्यकता भएको औंल्याउँदै उनले त्यसका लागि निष्पक्ष हुनुपर्ने खाँचो औंल्याएका हुन् ।

भूकम्पप्रभावित ३१ जिल्लामा जाने नवनियुक्त इन्जिनियर तथा सबइन्जिनियरहरूले शपथका क्रममा सीईओ भुसालले पुनर्निर्माणका क्रममा इन्जिनियरहरूको भूमिका महŒवपूर्ण हुने बताए ।

प्राधिकरणबाट लिइएको परीक्षामा उतीर्ण भएकामध्ये पहिलो चरणमा ३ सय ७४ जना इन्जिनियर र ३ सय ९१ सबइन्जिनियरले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालबाट शपथ लिएका हुन् । ईश्वर र कुलदेवताको नाममा नवनियुक्त प्राविधिकहरूलाई कार्यकारी प्रमुख अधिकृत भुसालले शपथ गराएका थिए ।

शपथ समारोहलाई सम्बोधन गर्दै भुसालले भूकम्पप्रभावित जनताको आँसु पुछ्ने जिम्मेवारी दिएको भन्दै कार्यक्षेत्रमा प्रभावकारी काम गर्न नवनियुक्त प्राविधिकलाई आग्रह गरे । उनले सेवा भावले भूकम्पप्रभावित क्षेत्रमा अहोरात्र खटेर काम गर्न समेत निर्देशन दिए ।

भुसालले मानवीय सेवामा पक्षपात नगरी काम गर्न समेत इन्जिनियर, सबइन्जिनियरलाई आग्रह गरे । इन्जिनियरको सुरक्षाका लागि बिमा गराउने र अन्य भौतिक सुरक्षाको जिम्मेवारी सरकारले गर्ने भएकाले ढुक्क भएर कार्यक्षेत्रमा प्रभावकारी रूपमा काम गर्न भुसालले निर्देशन दिए ।

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्राधिकरणका कार्यकारी सदस्य डा. हरिराम पराजुली, प्राधिकरणका प्रवक्ता यमलाल भुसाल, सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख तपेन्द्रबहादुर खड्कालगायतले नवनियुक्त प्राविधिकहरूलाई पुनर्निर्माणको जिम्मेवारीलाई कुशलतासाथ निर्वाह गर्न आग्रह गरेका थिए । यसका लागि उनीहरूले शुभकामनासमेत दिए ।

भूकम्पप्रभावित ३१ जिल्लाका २ सय ८२ वटा गाउँपालिका र नगरपालिकामा परिचालन हुने प्राविधिकहरूले प्रत्येक वडामा निजी आवास पुनर्निर्माणका लागि सहयोग गर्नेछन् । यसका लागि इन्जिनियर तोकिएको कार्यक्षेत्रमा खटिने प्राधिकरणले जनाएको छ ।