ईयूको कालोसूची कायमै विमान होल्ड र डाइभर्टको समस्या बढ्यो

राजधानी समाचारदाता / काठमाडौं

युरोपियन युनियन (ईयू) ले यस वर्ष नेपालका वायुसेवा कम्पनीलाई आफ्नो कालोसूचीबाट हटाएको छैन । युरोपका २८ वटा देशका आकाशमा उड्डयनका लागि नेपालका विमानलाई प्रतिबन्ध लगाउने गरी ईयूले यहाँका विमानलाई कालोसूचीमा राखेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमतिपत्र (एओसी) जारी गरेका सबै नेपाली सबै विमान कम्पनीलाई ईयूले कालोसूचीमा राखेको हो । नेपालमा एओसी वितरण सही तरिकाले नहुने ईयूको दाबी छ ।

अहिले नेपाललगायत संसारभरका विभिन्न १६ देशका १ सय ७८ वटा विमान कम्पनीहरूलाई ईयूले यस वर्ष कालोसूचीमा राखेको छ । नेपालमा हवाई सुरक्षा चार वर्षअघिकै अवस्थामा रहेको ईयूको निष्कर्ष छ । जसमा कुनै सुधार नभएको भन्दै ईयूले नेपाललाई कालोसूचीमा राखेको हो । गत २७ देखि २९ कात्तिकसम्म बसेको बैठकमा ईयूले नेपालको कालोसूची पुनरावलोकनबारे पनि छलफल गरेको थियो ।

हवाई क्षेत्रमा भएको कमजोर भौतिक संरचना र फितलो कानुनका कारण यस वर्ष पनि ईयूको कालोसूचीमा परेको सम्बन्धित सरोकारवालाहरूको भनाइ छ । उनीहरूले मुलुकको हवाई क्षेत्रको पूर्वाधार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकोओ) को मापदण्डअनुरूप पूरा गर्न सक्यो भने मात्र ईयूको कालोसूची हट्ने बताएका छन् । प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरका अनुसार ईयू र आईकाओले लामो समयदेखि नेपाललाई स्वतन्त्र हवाई दुर्घटना निकाय गठन गर्न भनिरहेका छन् । तर, यो निकाय अहिलेसम्म गठन हुन सकेको छैन ।

नेपालमा हवाई सुरक्षा चार वर्षअघिकै अवस्थामा रहेको युरोपियन युनियनको निष्कर्षस“गै नेपाली वायुसेवा कम्पनी कालोसूचीमा

अहिले हवाई दुर्घटना भएसँगै विभिन्न समिति बनाएर अध्ययन गरिन्छ । तर, सो रिपोर्टले दिएको सुझावलाई कार्यान्वयन भने गरिँदैन । यो कार्यान्वयन भए नभएको बारेमा अध्ययन गर्ने निकाय नभएका कारण रिपोर्टले दिएका सुझाव कार्यान्वयनमा नआएको उनको भनाइ छ । यसैगरी, ईयूले नेपाललाई प्राधिकरणलाई सेवा प्रदायकबाट अलग बनाएर नियामक निकायका रूपमा मात्रै राख्नुपर्ने बताएको छ । अहिले प्राधिकरण आफंैले सेवा पनि दिन्छ र नियमन पनि गर्छ । यसैगरी, विभिन्न विमानस्थलको निर्माण प्रक्रिया अघि बढाए पनि सही ढंगले अघि बढ्न सकेको छैन । कमजोर भौतिक संरचना भए पनि प्राधिकरणले नयाँ विमान कम्पनीहरूलाई उडान अनुमति दिने कार्य भने छाडेको छैन । जसका कारण मुलुककै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश र धावन मार्ग दुवैमा विमान होल्डिङ हुने समस्या छ । यसैगरी, बढ्दो एयर ट्राफिकको समस्याका कारण विभिन्न रुटबाट नेपाल आएका विमान लामो समयसम्म आकाशमा होल्ड गर्न बाध्य भइरहेका छन् । यसैगरी, धेरै विमान अवतरण गर्न नपाएर अन्य मुलुकमा डाइभर्ट हुन समेत बाध्य भइरहेका छन् ।

उनले सरकारले चाहेको बेला महानिर्देशक हटाउन सक्ने भनेर ऐनमा व्यवस्था छ, यसलाई हटाएर महानिर्देशक दिगो रूपमा रहने व्यवस्था गर भनेको छ, तर हामीले ऐनमा सुधार गर्न नसकेको हवाई विज्ञहरूको भनाइ छ । प्राधिकरणमा निजी विमान कम्पनीको दबदबा हुने ईयूको बुझाइ छ । यसरी नियमन गर्ने संस्था नै निजी विमान कम्पनीको प्रभावमा पर्ने भएका कारण नेपाल हवाई सुरक्षाका विषयमा कमजोर रहेको उसको बुझाइ छ । जसका कारण नै नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमतिपत्र जारी गरेका सबै विमान कम्पनीलाई ईयूले कालोसूचीमा राखेको छ ।

सन् २०१३ मा कालोसूचीमा राख्ने निर्णय गर्दा नेपालबाट प्रतिनिधि बोलाएको थियो । तर, यसपालि भने ईयूले नेपाललाई बैठकमा बोलाएको थिएन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी)बाट भने नेपाल गत ६ साउनमै नेपाल हटिसकेको छ ।

आईकाओको एसएससीकै आधारमा ईयूले पनि नेपाललाई कालोसूचीमा राखेको थियो । तर, अहिले भने ईयूले कालोसूचीबाट हटाएकै भरमा आईकाओले नेपालका विमान कम्पनीलाई कालोसूचीबाट हटाएको छैन । जसका कारण अन्तर्राष्ट्रिय जगत्मा नेपालको हवाई सुरक्षामा नकारात्मक सन्देश प्रवाह भएको छ । यसले मुलुकको पर्यटन उद्योगलाई समेत प्रभावित बनाएको सम्बन्धित सरोकारवालाहरूको भनाइ छ ।