निर्वाचनको तयारी अन्तिम चरणमा

विष्णुप्रसाद भण्डारी / अछाम

अछाममा बिहीबार दोस्रो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन सम्पन्न गर्न मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत  कर्मचारी खटाइसकिएको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टका अनुसार प्रायः सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेका छन् । टाढाटाढाका मतदान केन्द्रमा खटाइएका कर्मचारी आइतबार नै पुगिसकेको उनले बताए ।

निर्वाचन तयारीका लागि मतपत्रलगायत निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी व्यवस्थापनको काम सकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाभरका जम्मा १९७ मतदान केन्द्रका लागि आवश्यक सामग्रीसहित कर्मचारीहरू मतदान केन्द्रमा पुग्ने क्रम चलिरहेको जिल्ला निर्वाचन अधिकारी भट्टले बताए । सोमबार साँझसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने उनले बताए । ‘चुनावको तयारी अन्तिम चरणमा पुगिसकेको छ,’ भट्टले भने, ‘जनशक्ति र सामग्री परिचालन गरिसकिएको छ ।’ उनका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी जम्मा ३ सय ९४ जना कर्मचारी निर्वाचनमा खटाइएको छ ।

निर्वाचनमा एउटा मतदान केन्द्रमा बढीमा १२ जना कर्मचारी खटाइएको छ । तर, ५ सय भन्दा थोरै मतदाता भएका केन्द्रमा भने जम्मा ९ कर्मचारी मात्र खटिनेछन् । निर्वाचन सफल पार्न अन्य निकायसँगको समन्वय पनि बलियो पारिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए । ‘चुनाव शान्तिपूर्ण रूपमै हुन्छ,’  उनले भने,  ‘त्यस्तो कुनै समस्या छैन ।’ आवश्यक जनशक्ति खटनपटन लगायतका सबै काम भइसकेको उनले बताए । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको छनोट गोलाप्रथाबाट गरिएकाले कर्मचारी परिचालनमा कुनै पक्षपात नभएको उनको भनाइ छ । दुई निर्वाचन क्षेत्र रहेको अछाममा वाम र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिसपर्धा हुने देखिएको छ ।

सबै केन्द्रमा पुगे कर्मचारी

दैलेख   : जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित अन्य कर्मचारी पुगेका छन् । जिल्लामा रहेका १ सय ९६ मतदान केन्द्रमा कर्मचारी पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत भक्तबहादुर कार्कीका अनुसार मतदान अधिकृतलाई मतपत्र र आवश्यक पर्ने सबै सामग्री बुझाएर मतदान केन्द्रमा खटिएइको छ । नगरपालिकाका केही वडाबाहेक अन्य सबै मतदान केन्द्रका कर्मचारीले सामग्री बुझेको उनले बताए ।

निर्वाचनको तयारी पूरा

२१ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सबै तयारी पूरा भएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटका अनुसार जिल्लाका दुइटै निर्वाचन क्षेत्रमा बिहीबार हुने निर्वाचनका लागि कर्मचारी व्यवस्थापनदेखि बन्दोवस्तीका सम्पूर्ण काम पूरा भएको बताए ।

‘सबैजसो मतदान केन्द्रमा मंगलबार र बुधबार मतदाता परिचयपत्र वितरणका लागि निर्देशन गरिएको छ,’ लवटले भने, ‘मंगलबारसम्म बुथ बनाउने काम पनि सम्पन्न भइसक्ने जानकारी आएको छ ।’ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान समेत चारवटै सुरक्षा अंगका पर्याप्त जनशक्ति परिचालन गरी मतदाताले निर्भयपूर्वक मतदान गर्न सक्ने वातावरण बनाइएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । जिल्ला निर्वाचन अधिकृत भक्तबहादुर कार्कीका अनुसार यस निर्वाचनका लागि करिब २ हजार २ सयभन्दा बढी कर्मचारी परिचालन भएका छन् ।

कर्मचारी पुगे सबै केन्द्रमा

पोखरा :  दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि कास्कीका सबै मतदानस्थलमा मतदान अधिकृत आवश्यक सामग्री लिएर पुगेका छन् । उनीहरूले जिल्लाका १ सय ५० मतदानस्थलका ३ सय १७ मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री बुझेर सोमबार साँझसम्म पुगिसकेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।

‘आयोगबाट मतदान अधिकृतलाई २ दिनसम्म तालिम दिएर निर्वाचन गराउन सम्बन्धित मतदान केन्द्रमा खटाइएको छ,’ प्रमुख सुवेदीले भने, ‘अब बिहीबार हुने मतदानका लागि उहाँहरूले तोकिएको जिम्मेवारी पूरा गर्नुहुनेछ ।’

निर्वाचनका लागि पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आइतबार र सोमबार गरी आवश्यक मतपत्र, मतपेटिका, धागो, लाहाछापलगायतका निर्वाचन सामग्री सम्बन्धित केन्द्रका मतदान अधिकृत र कर्मचारीलाई जिम्मा लगाइएको छ । कास्कीका टाढाटाढा रहेका मतदान केन्द्रमा पुग्ने ६४ जना मतदान अधिकृतलाई आइतबार नै निर्वाचन सामग्री जिम्मा लगाइएको हो । बाँकीका लागि खटिने

कर्मचारीलाई भोलिपल्ट सोमबार जिम्मा लगाइयो । आयोगका अनुसार जिल्लाका प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृतसहित एक जना सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी, दुई जना कार्यालय सहायक र स्वयंसेवक खटिनेछन् । मतदान केन्द्रमा पुगिसकेका कर्मचारीले सम्बन्धित केन्द्रमा निर्वाचनका लागि सूचना टाँस गर्ने काम गरिसकेको बताइएको छ ।

केन्द्रमा पुगे निर्वाचन सामग्री

पाल्पा / रास– २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खटिएका मतदान अधिकृतसहित मतदान सामग्री सबै मतदान केन्द्र्र पुगेका छन् ।

मतदानसम्बन्धी ६४ प्रकारका सामग्री कर्मचारी र सुरक्षाकर्मीको टोली २ सय ६६ मतदान केन्द्रहरूमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालले जनाएको छ । मतदाताको संख्या अनुसार ७ देखि ८ जना कर्मचारी खटाइएको छ । निजामती, स्थानीय तह र शिक्षकहरू गरी १८ सय ७ कर्मचारीको व्यावस्थापन गरिएको छ । प्रत्येक मतदान केन्द्रमा कर्मचारीहरू पुगेर आफ्नो काम थालेको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले बताए ।

हरेक मतदान केन्द्र तीनवटा मतपेटिका र करिब ३ प्रतिशत बढी तीनैवटा मतपत्र मतदाता पठाइएको उनले बताए । कर्मचारीसँगै मतदान केन्द्रका लागि आवश्यक सुरक्षाकर्मी र घुम्ती टोलीसहित १ हजार ४३ म्यादी प्रहरी परिचालन भएका छन् । एक मतदान केन्द्रमा बढीमा १५ जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ । अति संवेदनशील १८, संवदेनशील ४० गरी सबै मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।

जिल्लामा सबैभन्दा कम  १ सय ६६ मतदाता तिनाउ गाउँपालिको पाटक आधारभूत विद्यालय र सबैभन्दा बढी १ हजार ६४ माथागढी गाउँपालिका रत्न मावि, पूर्वाखोला गाउँपालिका मातृभूमि मावि र रैनादेवी गाउँपालिका सिद्धेश्वरको गाविस भवनमा रहेका छन् ।