लमजुङमा अलैंची स्तरीकरण

लमजुङ / रासस– पहिलो चरणको निर्वाचन सकिएलगत्तै लमजुङका किसान आफ्नो व्यवसायमा व्यस्त रहेका छन् । केही समय चुनावका कारण तितरवितर भएका कृषक अलैंची स्तरीकरणमा व्यस्त भएका हुन् ।

केही महिनाअघिदेखि टिपेर र सुकाइराखेको अलैंची स्तरीकरण गरी उनीहरू बिक्रीको तयारीमा लागेका हुन् । सुकाएर मात्रै बिक्री गर्न सकिने अलैंची स्तरीकरणपछि उचित मूल्य पाइने भएकाले कृषकले त्यसको तयारी गरेका हुन् । कृषकले सुकाइसकेको अलैंचीलाई सफा गरी गुणस्तर छुट्याउँदै बिक्री गर्न लागेको अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए । ‘स्तरीकरण नगरिएको र गरिएकोमा कम्तीमा प्रतिकिलो ५० रुपैयाँ फरक पर्छ,’ अध्यक्ष तामाङले भने, ‘स्तरीकरण गरिएको अलैंची बिक्री गर्न पनि सजिलो हुन्छ ।’

लमजुङको १ हजार २ सय मिटरभन्दा माथिल्लो भागमा व्यावसायिक रूपमा अलैंची खेती हुने गरेको छ । जिल्लामा २० हजारभन्दा बढी कृषकले अलैंची खेतीबाट प्रत्यक्ष फाइदा लिइरहेको महासंघले जनाएको छ । जिल्लामा गत वर्ष ८ सय २१ टन अलैंची उत्पादन भएकोमा यस वर्ष घट्ने अनुमान गरिएको छ ।

पुरानो बिरुवा र सिँचाइको राम्रो व्यवस्था नहुनाले यस वर्ष गत वर्षको तुलनामा उत्पान घट्ने अनुमान गरिएको छ । गत वर्ष अलैंची बिक्रीबाट किसानले १० करोडभन्दा बढी आम्दानी गरेका थिए ।