नेपाल चेम्बर एक्स्पो सम्पन्न

काठमाडौं  / रास– पाँचदिने नेपाल चेम्बर एक्स्पो २०७४ सोमबार सम्पन्न भएको छ । एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन भ्रमण गरेका थिए । एक्स्पोमा पाँच करोडभन्दा बढीको कारोबार भएको छ ।

एक्स्पो संयोजक राष्ट्रभूषण चाकुबजीले एक्स्पो स्टलमा रहेका विभिन्न कम्पनीका गाडीको अर्डर बढी भएको बताए । निर्माण सामग्रीका रूपमा रहेका भूकम्पप्रतिरोधात्मक प्यानलको अर्डर बढी देखिएको संयोजक चाकुवजीले जनाए । मेलामा सर्वसाधारणको भिड लागेको थियो ।

एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, फलोरिंग एन्ड फर्निसिंग, होम अप्लाइन्स, फेसन वेयर, मोबाइललगायतका २ सय २५ वटा स्टल राखिएका थिए । एक्सपोमा नेपालसहित कोरिया, थाईल्यान्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठ वटा मुलुकको सहभागिता रहेको थियो । चेम्बरले गरेको यो तेस्रो एक्स्पो हो । चेम्बरले प्रत्येक वर्ष यस्ता अन्तर्राष्ट्रिय एक्स्पो गर्दै आएको छ । यस पटकको एक्स्पोमा दक्षिण कोरियाले पार्टनर मुलुकको हैसियतमा सहभागिता जनाएको थियो भने थाईल्यान्ड फोकस मुलकुका रूपमा सहभागी रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।