सुरक्षा चुनौतीबाट जोगिने उपाय

सुरक्षा चुनौतीबाट जोगिने उपाय

श्रीप्रसाद प्रसाईं

 

संघ तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन भोलि सम्पन्न हुँदै छ । भोलिको निर्वाचन सम्पन्न भएपछि ६ महिनामै संघीय संरचनाको आधारस्तम्भ मानिने तीन तहको निर्वाचन सम्पन्न हुनेछ । यो राज्यको उल्लेख्य उपलब्धि हो । पहिलो चरणको यही निर्वाचनकै क्रममा चुनाव विरोधी असन्तुष्ट समूहले आफ्नो उपस्थिति देखाउन मुलुकको विभिन्न स्थानमा शृंखलाबद्ध रूपमा गराएको विस्फोटनको कारणबाट केही व्यक्तिको ज्यान गयो । विस्फोटनका घटनाले सर्वसाधारणमा सन्त्रास उत्पन्न गराएको भए पनि राज्यको तर्फबाट त्यसताका अपनाइएको उच्च सुरक्षा सतर्कताका कारण १० मंसिरको निर्वाचन समष्टिगत रूपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मानिन्छ । तर विभिन्न स्थानमा उपस्थिति दर्शाउन गरिएको विस्फोटन पछिल्लो चरणमा उम्मेदवार लक्षित माइनमा परिणत भएको पाइन्छ । सरकारी पक्षबाट अपनाइएको सुदृढ सुरक्षा व्यवस्था अनुभूतिजन्य हुन नसकेको, केवल प्रचारमुखी मात्रै भएको, विस्फोटनको घटना भएपछि मात्रै सुरक्षाकर्मी घटनास्थल पुग्ने गरेको अवस्थाले व्यवहारमा प्रभावकारी सुरक्षा व्यवस्था प्रतिबिम्बित हुन सकेको छैन । सरकारी सुरक्षा संयन्त्र नै चुनौती नियन्त्रण गर्न चनाखो रहेको पाइँदैन । यसर्थ विस्फोटनको घटनाबाट जोगिन एवं जोगाउन राज्यको सुरक्षा संयन्त्र मात्र होइन, उम्मेदवारलगायतका सम्बन्धित दलका नेता कार्यकर्तादेखि सर्वसाधारण मतदाताले समेत सावधानी अपनाउनुपर्ने देखिन्छ ।

सुरक्षा चुनौतीप्रति हामीले कहिल्यै कसैसँग सम्झौता गर्नु हुँदैन । मानसिक एवं शारीरिक रूपमै चनाखो रहनुभन्दा यसको अर्को विकल्प हुँदैन । अझ राज्यकै विरुद्धमा हिंसात्मक गतिविधि बढाइ निर्वाचन कार्यलाई नै प्रभावित बनाउने उद्देश्यले लागि परेको समूहबाट कुन बेला के कस्तो चुनौती आइलाग्न सक्छ भन्ने कुराको पूर्व अनुमानसम्म गर्न सकिन्न । त्यसैले पनि सुरक्षा कार्य सधैं चुनौतीपूर्ण हुन्छ । कुनै प्रकारको अप्रिय घटना नभएसम्म सुरक्षा कार्य शतप्रतिशत सफल र सुदृढ मानिए पनि यस्तै समयमा कुनै सामान्य आपराधिक घटना हुन पुगे शतप्रतिशतै सुरक्षा कार्य फितलो ठानिने भएकैले सुरक्षा कार्यलाई संवेदनशील मानिएको हो । राज्य पक्षबाट अपनाइने सुरक्षा सावधानीमा सुरक्षकर्मीको परिचालन, हाउभाउ र गतिविधि दृश्य अवस्थामा हुने भएकोले सुरक्षाकर्मीहरू कहाँ कसरी परिचालित भइरहेका छन् भन्ने कुरो कसैको नजरबाट छिप्न सक्दैन । सार्वजनिक स्थलमा बढाइने सुरक्षाकर्मीको हर्कत र गतिविधि निर्वाचन कार्यमा खटिएका कर्मचारीदेखि राजनीतिक उम्मेदवार, दलका नेता कार्यकर्तादेखि सर्वसाधारण मतदातासम्मको निम्ति विश्वास र भरोसा बन्न पुग्ने भएकोले यस्तो अवस्थामा सबैले चिन्तामुक्त वातावरणमा आआफ्नो कार्य सञ्चालन गर्छन् । तर चुनावविरोधी पक्षको लागि भने सुरक्षाकर्मीको परिचालन एवं गतिविधिकै अध्ययन अनुगमनबाटै सुरक्षा कमजोरी पहिचान गर्ने तथा आफ्नो उद्देश्य पूरा गराउने अवसर बन्ने गर्छ । विपक्षी समूहको अवसर सर्वसाधारण नागरिकदेखि राज्य पक्षकै चुनौती बन्ने भएकोले जुनसुकै कार्य गर्दा पनि निरन्तर सावधानी अपनाउनुपर्ने हुन्छ ।

पछिल्लो केही घटनालाई दृष्टिगत गर्दा चुनावविरोधी गतिविधि उम्मेदवार केन्द्रित देखिएको छ । चुनावी प्रचार–प्रसारको कार्यमा आवागमन गर्ने प्रमुख मार्गमा, नाकामा तथा एकान्तस्थलमा पारी माइन बिछ्याई विस्फोट गराउने प्रवृत्ति बढेकाले यसबाट जोगिन सुरक्षाकर्मीको एकपक्षीय प्रायास मात्र पर्याप्त हुन सक्दैन । पछिल्ला कतिपय घटना सुरक्षाकर्मी र उम्मेदवारबीच हुनुपर्ने हदसम्मको पारस्परिक समन्वय हुन नसकेकै कारणबाटै भएको देखिन्छ । यस क्रममा कुन उम्मेदवारलाई के कस्तो थ्रेट छ भन्ने कुरो पहिचान गर्ने दायित्व सुरक्षाकर्मीकै हुने भए पनि आफूविरुद्ध हुन सक्ने वा आइलाग्न सक्ने सम्भावित चुनौतीको बारेमा सुरक्षाकर्मीलाई जानकारी गराएर पूर्ण सुरक्षाको व्यवस्था नमिलाई उम्मेदवारले चुनावी गतिविधिमा संलग्न हुनु हुँदैन । उम्मेदवारको निर्वाचन क्षेत्र तोकिएको हुने, उक्त क्षेत्रभित्र कहाँकहाँ चुनावी कार्यक्रम सम्पन्न भयो, कहाँ कहाँ बाँकी छ, बाँकी स्थानको कार्यक्रम कहिले कसरी सञ्चालित हुन्छ भन्ने कुरा स्वतः सार्वजनिक भै रहने भएकोले उम्मेदवारले गर्ने दैनिक गतिविधिका बारेमा चुनावविरोधी समूह जानकार हुन सक्छ । साथै निर्वाचन क्षेत्रभित्र आवागमन गर्न उम्मेदवारले प्रयोग गर्ने मार्गको भौगोलिक अवस्थाका बारेमा पनि स्थानीय चुनावविरोधी समूहलाई जानकारी नहुने कुरै हुँदैन । यही कारणले उम्मेदवार लक्षित घटना गराउन विरोधी समूह सफल बन्दै आएको देखिन्छ ।

संघीय एवं प्रदेशसभा दुवैको निर्वाचन एकै साथ हुँदै रहेकाले पनि उम्मेदवारको संख्या कम छैन । राष्ट्रियस्तरका ठूला राजनीतिक दलदेखि ससाना दल एवं दलकै विद्रोही उम्मेदवार र स्वतन्त्र गरी हरेक निर्वाचन क्षेत्रभित्र संघीय एवं प्रदेशसभाको उम्मेदवारको संख्या ठूलो रहेको सर्वविदितै छ । यस सन्दर्भमा हरेक उम्मेदवारकै निम्ति अलग–अलगै विशेष सुरक्षाको व्यवस्था मिलाउन पनि सम्भव नहुन सक्छ । कतिपय अवस्थामा सामान्य सुरक्षा व्यवस्थाकै भरमा पनि सुरक्षाकर्मीले कार्य गर्नुपर्ने बाध्यता पनि नभएको होइन । यस कुरालाई राजनाीतिक व्यक्तिले पनि बुझ्नुपर्छ भने सुरक्षाकर्मीको निम्ति सत्तासिन दलको उम्मेदवार ठूलो हुने, सत्ता बाहिरको सानो दलको वा स्वतन्त्र उम्मेदवार सानो हुने हुँदैन । यो कुरा सुरक्षाकर्मीले बुझ्न जरुरी छ कि उम्मेदवारहरूको महत्व दलीय सम्बन्धमा आधारित हुँदैन, सुरक्षाकर्मीको निम्ति सबै उम्मेदवारहरू समान मानिन्छन् । तर थ्रेटको हिसाबले भने सबै उम्मेदवार समान नहुन सक्छन् । थ्रेट वा चुनौतीको मात्रा कसैका लागि उच्च हुन सक्छ भने कसैलाई कम, यसर्थ उच्च थ्रेटमा रहने उम्मेदवारलाई सोहीबमोजिमको सुरक्षा व्यवस्था मिलाउने दायित्व सुरक्षाकर्मीकै हो । किनकि ठूलो दलको उम्मेदवारकै पछि लाग्दा स्वतन्त्र एवं सानो दलको उम्मेदवारउपर चुनौती आइलागे स्थानीय सुरक्षा व्यवस्था फित्तलो सावित हुने भएकोले सुरक्षाकर्मी सधैँ संवेदनशील बन्नुपर्छ ।

पहिलो चरणको निर्वाचनमा कतिपय निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीले समान व्यवहार नगरेको गुनासो नसुनिएको होइन । सत्तारुढ दलको केन्द्रदेखि प्रदेशसभाकै उम्मेदवारकै पछि बिहानदेखि बेलुकासम्म सुरक्षाकर्मीको झुण्ड खटिने तर स्वतन्त्र उम्मेदवारले आफूविरुद्ध हुन सक्ने सम्भावित चुनौतीको जानकारी गराई सुरक्षा व्यवस्था मिलाई दिन अनुरोध गर्दा सुनुवाई नभएको गुनासो प्रशस्तै सुनियो । वास्तवमा सुरक्षाकर्मीले यस्तो विभेदित व्यवहार गर्नु हुँदैन । सुरक्षाकर्मीले व्यक्ति विशेषसँगको सम्पर्क र हेलमेलकै आधारमा कसैलाई निकट ठान्ने त कसैलाई पराई मान्ने व्यवहार गर्नु सुरक्षाको सिद्धान्तविपरीत कार्य हो । उम्मेदवार र सुरक्षाकर्मीबीच समन्वय नहुँदा चुनावविरोधी पक्षलाई नै फाइदा पुग्ने कुराप्रति दुवै पक्ष गम्भीर हुनु जरुरी छ । उम्मेदवारको मात्र होइन, सर्वसाधारण नागरिकले समेत ‘म असुरक्षित छु, मेरो सुरक्षा गरिपाऊँ’ भनी अनुरोध गरेमा उसले बताएको कुरा वास्तविकतामा आधारित हो÷होइन तत्कालै बुझी एवं छानबिन गरी आवश्यक देखिए निजको सुरक्षाको प्रबन्ध मिलाउनु पर्छ । निर्वाचन सुरक्षा व्यवस्थाअन्तर्गत उम्मेदवार, निर्वाचन कर्मचारी, सर्वसाधारण मतदाताको सुरक्षाको प्रबन्धमा सुरक्षाकर्मी चुकेमा सुरक्षाकर्मीको कार्यशैलीउपर प्रश्न उठ्नु स्वाभाविक हो । यसतर्फ सुरक्षाकर्मीले विशेष ध्यान पु¥याउनुपर्छ ।
निर्वाचन कार्यमा खटिने सुरक्षाकर्मीले निर्वाचन कार्यसँग सम्बद्ध व्यक्तिको मात्र होइन, आफ्नै सुरक्षामा पनि विशेष ध्यान दिनुपर्छ । आफू सुरक्षित भएमात्र अरूको सुरक्षा गर्न सकिने कुरा कहिल्यै भुल्नु हुँदैन । चुनावविरुद्ध देखिएको समूहको तार्केट उम्मेदवारमात्र हुन्छन् भन्ने हुँदैन ।

कुन उम्मेदवारलाई के कस्तो थ्रेट छ भन्ने कुरो पहिचान गर्ने दायित्व सुरक्षाकर्मीकै हुने भए पनि आफूविरुद्ध हुन सक्ने वा आइलाग्न सक्ने सम्भावित चुनौतीको बारेमा सुरक्षाकर्मीलाई जानकारी गराएर पूर्ण सुरक्षाको व्यवस्था नमिलाई उम्मेदवारले चुनावी गतिविधिमा संलग्न हुनु हुँदैन

सम्पूर्ण राज्य पक्ष वा उम्मेदवार, सुरक्षाकर्मी, राजनीतिक नेता, सर्वसाधारण मतादाता र निर्वाचन कार्यमा खटिएका कर्मचारी सबै नै विरोधी समूहको लक्ष्यमा पर्न सक्छन् । यसका निम्ति स्थानीय सुरक्षा कमाण्डरको भूमिका अत्यन्त महŒवपूर्ण मानिन्छ । उम्मेदवारका दैनिक गतिविधि एवं कार्यक्रमको बारेमा जानकारी लिने, स्थानीय एवं बाह्य चुनौतीको मूल्यांकन गर्ने, चुनौतीपूर्ण स्थल पहिचान गरी सुरक्षाको प्रबन्ध मिलाउने, चुनौती निम्त्याउने व्यक्ति पहिचान भए अग्रिम रूपमै नियन्त्रणमा लिने, चुनावविरोधीलाई साथ सहयोग पु¥याउने, स्थानीय व्यक्ति भए तिनीहरूको गतिविधि निगरानी गर्ने, आवश्यक परे उम्मेदवार आवागमन गर्ने मार्गकै रेक्की गरी आई टु आई कन्ट्याकमा सुरक्षाकर्मी खटाउने, खतराको मूल्यांकन गरी पालोफेरोमा चुनावी कार्यक्रम सञ्चालन गर्न दल तथा उम्मेदवारसँग अनुरोध गर्ने, खटाइएका सुरक्षाकर्मीलाई आफ्नो कार्यक्षेत्रभित्र अप्रिय घटना हुन नदिन जिम्मेवार बनाउने, आवश्यक स्रोत साधनको व्यवस्था मिलाउने, मोबाइल, स्कटिङ र रिजव टोलीलाई तन्दुरुस्त अवस्थामा तत्कालै परिचालित हुन सक्ने गरी तैनाथ राख्ने तथा सुरक्षा योजनामुताविक भौतिक, शारीरिक मात्र होइन मानसिकरूपमै सुरक्षाकर्मीलाई क्रियाशील गराउने दायित्व स्थानीय सुरक्षा अधिकारीकै हुने भएकोले उसैको कार्य दक्षतामा सुरक्षा नीति सफल र असफल बन्ने गर्दछ भन्ने कुरा स्थानीय सुरक्षा अधिकारीले बुझ्नुपर्छ । यसरी सुरक्षाकर्मी परिचालित हुने हो भने चुनावी सुरक्षा व्यवस्था सर्वसाधारणको अनुभूतिजन्य बन्न पुग्छ भने चुनावविरोधी पक्षले अपराधी घटना घटाउने मौका पाउँदैन । भोलि हुने निर्वाचनदेखि मतपरिणाम घोषणा भई विजयी उम्मेदवारको तर्फबाट निस्कने विजयी जुलुस एवं आमसभाको समयसम्म नै चुनावी सुरक्षा व्यवस्थालाई यथावस्थामा निरन्तरता दिँदै जानुपर्छ ।

पछिल्लो समयमा कतिपय हिंसात्मक घटना उम्मेदवारले प्रचारप्रसारको क्रममा व्यक्त गर्ने उत्तेजित एवं औचित्यहीन बोली र नजरिया व्यवहारको कारण हुन पुगेको देखिन्छ । सस्तो लोकप्रियताका लागि असम्भव कार्यहरू पनि ‘यति वर्ष उति वर्षमै पूरा गर्नेछु’ भन्ने भ्रमात्मक अभिव्यक्ति दिने, अन्य दलहरूको कटु आलोचना गर्ने, आफू सम्बद्ध दल मात्रै समाज र देशकै लागि हितकर ठान्ने तर वर्षौंसम्म सत्तासिन रहँदा पनि जनताका समस्या समाधान गर्न ध्यान नदिने नेताको चुनावी बोलीसँग सर्वसाधारणको विश्वास नहुनु स्वाभाविक हो । अधिकांश उम्मेदवारको चुनावी प्रचारप्रसार अत्यन्त आकर्षक हुन्छ, तर कार्यशैली र व्यवहारमा भने सुधार हुन सकेको देखिँदैन ।
अरूको त कुरै छोडौँ वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकको चौथोपटक प्रधानमन्त्री बनिसकेका व्यक्ति हुन् । उनको गृह जिल्ला डडेलधुरा हो भन्ने कुरा सर्वविदितै छ । अहिलेको संघीयसभाको निर्वाचनमा प्रधानमन्त्री देउवाकै धर्मपत्नी डा. आरजु देउवा पनि महाकाली अञ्चल मातहतकै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकी छन् । आफ्नो चुनावी प्रचार–प्रसारको क्रममा डा. आरजु देउवाले आफूलाई विजयी बनाए आगामी १० वर्षमा नेपाललाई अमेरिका बनाउने अभिव्यक्ति दिई मतदातालाई आकर्षित गराउने प्रयास गरिन् । तर उनले आफ्नै श्रीमान पटक–पटक मुलुकको प्रधानमन्त्री बन्दा मुलुकमा अपेक्षाकृत विकास किन हुन सकेन ? प्रत्यक्ष एवं अप्रत्यक्षरूपमा देउवाको निकटतम सहयोगी बन्दै आएकी डा. आरजु देउवाको मुलुकलाई अमेरिका बनाउने कल्पनाको प्रारम्भिक संकेत देउवाकै प्रधानमन्त्रित्व कालमै किन प्रारम्भ भएन ? सम्पूर्ण नेपालको कुरा छोडी उनीहरूकै गृह जिल्ला डडेलधुरालाई नै हेर्ने हो भने डडेलधुराको विकास निर्माण र जीवनस्तर अमेरिकाको जस्तै बनाइसकेर उनले मुलुकको कुरा उठाएकी हुन् वा उनको भनाइको तात्पर्य के हो ? भ्रमात्मक अभिव्यक्ति कतिपय अवस्थामा नेताकै लागि अभिशाप बन्दै आएकोले प्रचारशैली पनि वास्तविकतामा आधारित र संयमित हुनुपर्छ । नेता संयमित भए उम्मेदवारले सुरक्षाकर्मीकै राय सल्लाहमा आफ्ना गतिविधि सञ्चालन गरे तथा सुरक्षाकर्मीले सबै उम्मेदवारप्रति समानुपातिक व्यवहार अपनाई सुरक्षाकार्यमा समर्पित रहे चुनौतीबाट आफू जोगिन र अरूलाई जोगाउन सकिन्छ ।