इंग्ल्यान्ड बलियो स्थितिमा

एजेन्सी / लन्डन

एसेज सिरिजको दोस्रो टेष्ट क्रिकेट खेलमा इंग्ल्याण्ड जित नजिक पुगेको छ । ३ सय ५४ रनको चुनौती पछ्याउँदै आफ्नो दोस्रो इनिङ्स थालेको इंग्ल्याण्डलाई अब जितको लागि १ सय ७८ रन चाहिएको छ ।

एडिलेड ओभलमा पाहुना टोली इंग्ल्याण्डले चौथो दिनको समाप्तिमा ४ विकेटको क्षतिमा १ सय ७६ रन बनाएर जिततर्फ हावी भएको हो । इंग्ल्याण्डलाई अब अन्तिम तथा पाँचौं दिन १ सय ७८ रनमात्रै चाहिएको छ भने उसको अझै ६ विकेट बाँकी छ ।

इंग्ल्याण्डका कप्तान जोइ रुट ६७ रनमा अविजित छन् । मार्क स्टोनम्यानले ३६, डेविड मलनले २९ रनको योगदान दिए । अष्टे«लियाका लागि मिचेल स्टार्कले २ विकेट लिए ।

अष्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्समा खराब प्रदर्शन गर्दै १ सय ३८ रनमा अलआउट भएपछि इंग्ल्याण्डले ३ सय ५४ रनको लक्ष्य पाएको थियो । आफ्नो दोस्रो इनिङ्समा अष्ट्रेलियाका कुनै पनि खेलाडीले राम्रो खेल्न सकेनन् । अष्ट्रेलियाका लागि उस्मन खवाजा र मिचेल स्टार्कले समान २०–२० रन बनाएका थिए ।

अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा इंग्ल्याण्डका जेम्स एन्डरसनले ५ र क्रिस वक्सले ४ विकेट लिए । अर्को एक विकेट भने क्राइग ओभरटनले लिए ।

अष्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ४२ रन बनाएको थियो । भने, इंग्ल्याण्ड पहिलो इनिङ्समा २ सय २७ रनमा अलआउट भएको थियो । पाँच खेलको एसेज टेष्ट क्रिकेट शृंखलामा अष्ट्रेलिया १–० ले अघि रहेको छ ।