ईपीएलमा चियर लिडर्स

राजधानी समाचारदाता / काठमाडौं

घरेलु क्रिकेट प्रतियोगितामा प्रतिक्षित टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा दर्शकले भरपुर मनोरञ्जन र पाउने भएका छन् । पहिलोपटक घरेलु प्रतियोगितामा चियर लिडर्ससमेत व्यवस्था गरिने भएको छ ।

आयोजक ईपीएलले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दर्शकलाई खेलसँगै मनोरञ्जन प्रदान गर्न सुविधा राखिएको जानकारी गराए । ईपीएल ३ पुसबाट सुरु हुनेछ । ११ दिनसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ईपीएलका नेपालमा भोग्न नपाएको सुविधा दर्शकले पाउने प्रबन्ध निर्देशक आमिर अख्तरले बताए ।

त्यसैगरी ईपीएलका म्याचअघि सांगीतिक कार्यक्रम, डिजे, फुडस्टल, वाइफाई हटस्पटलगायत व्यवस्था गरिने प्रतियोगिता प्रमुख आमिर अख्तरले बताएका छन् ।

ईपीएलमा विशेष आकर्षणको रूपमा १६÷९ फिटको एलईडी स्क्रिनसमेत राखिने अख्तरले बताए । नेपाली क्रिकेटमै पहिलोपटक थर्ड अम्पायरको व्यवस्थासमेत प्रतियोगितामा गरिँदै छ ।

मैदानको सजावट, थ्रीडी विज्ञापन म्याटलगायत व्यवस्था गरिनेछ । जसका लागि इन्डियन प्रिमियर लिग तथा विश्वकप क्रिकेटको अनुभव भएका व्यक्तिहरू आयोजक टिममा रहनेछन् । खेलाडीहरू बस्ने अन्तर्राष्ट्रियस्तरको डगाउट र पेभेलियनको व्यवस्था गरिनेछ भने भीआईपी, भीभीआईपी तथा मिडियाका लागि छुट्टाछुट्टै एरियामा विशेष सुविधा प्रदान गरिनेछ । यस्तै खानाको स्टल, सुविधा सम्पन्न शौचालय, व्यवस्थित पार्किङ, मैदानवरिपरी टिकट काउन्टरहरूको व्यवस्था, स्तरीय साउन्ड सिस्टम र खेल हेर्नआउने दर्शकहरूलाई आकर्षक पुरस्कार पनि राखिएको बताइएको छ ।

प्रतियोगितामा काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स, भैरहवा ग्ल्याडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन् ।

प्रतियोगिता राउन्डरोबिन लिगका आधारमा सञ्चालन हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ । प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पाउनेछ ।

यस्तै ईपीएलले यू–१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोदकुमार दासलाई प्रमुख कार्यक्रम सञ्चालक अधिकृत (सीओओ) नियुक्ति गरेको छ । दास यसअघि प्रतियोगिताका लागि भएको अक्सनमा भूमिका खेलिसकेका थिए । उनले ईपीएललाई सफल बनाउन कुनै कसुर बाँकी नराख्ने बताए ।

ईपीएलमा टिकटको मूल्य १ सय रुपैयाँ तोकिएको छ । ईपीएल हेर्न दर्शकहरूले १ सय खर्चिनुपर्नेछ, जसमा विद्यार्थीहरूले ५० प्रतिशत छुट पाउनेछन् । ‘टिकटको मूल्य सस्तो राखेका छौं, १ सय रुपैयाँमा पूरा दिन मनोरञ्जन पाउनुहुनेछ,’ निर्देशक आमिर अख्तरले भने, ‘दुईवटा खेल त्यसपछि खेलको ब्रेकमा अन्य मनोरञ्जन दर्शकले पाउनेछन्, टिकटको संस्कार बसाल्ने प्रयासस्वरूप किन्न सकिने दरको टिकट राखेका हौं ।’

उनले घरेलु क्रिकेटमा टिकटको कल्चरबिना खेलकुदको विकास नहुने भन्दै सम्पूर्ण दर्शकहरूलाई खेल हेर्न आइदिन आग्रह गरेका छन् । दर्शकहरूले टिकट आईएमईको सबै सेन्टरमा तथा अन्य काउन्टरहरूमा समेत पाउने तथा मैदानमै आएर पनि लिन सक्ने बताइएको छ ।