चिसोले जनजीवन कष्टकर बन्दै

 

निमेन्द्र शाही  / बाजुरा

बाजुरा लगायत सूदुर पश्चिमका उच्च हिमाली जिल्लाहरूमा वर्षासँगै परेको हिमपातले चिसो बढ्दा त्यस क्षेत्रको जनजीवन चिसोले कष्टकर बनेको छ । हिमाली क्षेत्रका केही ठाउँमा मंगलबार बिहानदेखि दिनभर पानी र हिउँ परेका कारण जनजीवन कष्टकर बनेको हो ।

जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपातका कारण गाउँबाट सदरमुकाम आउने सर्वसाधारणहरूलाई आवतजावत गर्न समस्या भएको छ । हुम्ला, मुगु र बाजुराका स्थानीयहरू अछामको साँफेबगरबाट बाजुरा हँुदै घर जाँन नपाउँदा मार्कामा परेका छन्

हिमपातका कारण जिल्लाकै उच्च क्षेत्रमा रहेका विच्छ्याँ, दहकोट, पाण्डुसैन, मानाकोट, जुकोट लगायतका क्षेत्रका जनजीवन प्रभावित भएको हो ।

यता लामो समयदेखि पानी नपरेपछि कृषि बाली बाली सुक्न लागेका बेला हिमपात र पानी परेपछि कृषकहरू भने खुशी भएका छन् । हिउँसँगै पानी परेपछि अन्नबाली राम्रा हुने आस स्थानीयलेल गरेका छन् । तर हिउँदे बालीलाई पुग्ने गरी पानी भने अझैं नआएको उनीहरू बताउँछन्।

दुई दिनयता मौसमसमेत बिग्रिएप्छि चिसो बढेको छ । बालबालिका र बृद्धबृद्धालाई निमोनिया र चिसोबाट बच्न न्यानो गरी बस्न चिकित्सकहरूले सल्लाह दिएका छन् ।  चिसो बढेपछि जिल्ला सदरमुकाम मार्तडीका कार्यालयहरूमा आगो बालेर कर्मचारीहरू बसेको देखिन थालेका छन् ।

लेकमा रहेका भेडापालक कृषकहरूलाई हिमपातले चरीचरनमा समस्या हुने भएपछि बेंसीतिर आउने क्रम निरन्तर छ । हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका कारण केही कृषकहरू हालसम्म लेकबाट बेसी झरेका थिएनन् ।

लेकमा चिसो बढेको र हिउँ पनि परेकाले सो भेगमा रहेका जंगली जनावर तलतिर भर्ने भएपछि चोरी सिकारी बढ्ने सम्भावना उत्तिकै रहेको जिल्ला वन कार्यालयले जनाएको छ ।