इन्धन खपतसँगै नोक्सानी बढ्यो

शिव दुवाडी  / काठमाडौं

मुलुक निर्वाचनमय बनेसँगै इन्धनको खपत पनि उच्च रूपमा बढ्न थालेको छ । विगत महिनाहरूको तुलनामा यो महिना खाना पकाउने ग्याँस, डिजेल र पेट्रोलको खपत उच्च रूपमा बढेको आयल निगले जनाएको छ ।

भारतले पठाएको पछिल्लो मूल्यसूचीअनुसार नेपालमा निर्धारण गरिएको मूल्यसूचीअनुसार इन्धनको बिक्रीबाट मासिक घाटासमेत बढेको आयल निगमले जनाएको छ ।

निगमका अनुसार भारतले १ डिसेम्बरमा पठाएको नयाँ मूल्यसूचीअनुसार निगमको मासिक घाटा नै १ अर्ब रुपैयाँ नाघ्ने भएको छ । भारतीय आयल कर्पोरेसनले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्य पठाउने गर्छ ।

निगमका कार्यवाहक कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार भारतले यही डिसेम्बरमा पठाएको मूल्यसूचीअनुसार निगमको पाक्षिक घाटा ५३ करोड १६ लाख रुपैयाँ पुगेको छ । जसअनुसार मासिक रूपमा  निगमको घाटा १ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हुन्छ । यसअघिको मूल्यसूचीअनुसार निगमको मासिक घाटा १ अर्बभन्दा कम थियो ।

आयल निगमका अनुसार डिसेम्बरमा भारतीय आयल निगम (आईओसी) बाट प्राप्त मूल्यसूचीमा साबिकको भन्दा प्रतिलिटर हवाई इन्धनमा ७ प्रतिशत, डिजेलमा २ प्रतिशत तथा पेट्रोल र खाना पकाउने एलपी ग्याँसमा १ प्रतिशत मूल्य बढेको निगमले जनाएको छ ।

यसअघि विगत दुई वर्षदेखि निगम नाफामा थियो । दुई वर्षयता स्वचालित मूल्य प्रणाली लागू भएका कारण निगमले आवश्यकतानुसार मूल्य समायोजन गरेर त्यसको भार उपभोक्तामा थोपर्दै आएको थियो । पछिल्लो समयमा पनि निगमले मूल्य समायोजन गरेको भए पनि निर्वाचनको मुखमा मूल्य बढाउँदा त्यसको नकारात्मक असर पर्ने भन्दै सरकारले त्यसलाई फिर्ता गर्न निर्देशन दिएपछि निगम सञ्चालक समितिले बढेको मूल्य फिर्ता गरेको थियो । त्यसयता इन्धनमा घाटा हुनथालेको हो ।

पछिल्लो समय इन्धनको खपत ह्वात्तै बढेको निगमका कार्यवाहक कार्यकारी निर्देशक भट्टराईले बताए । उनका अनुसार अहिले डिजेलको दैनिक खपत करिब ५० लाख लिटर पुगेको छ । त्यस्तै पेट्रोलको दैनिक खपत १४ लाख लिटर पुगेको छ ।

सामान्य अवस्थामा पेट्रोलको खपत दैनिक १२ सय किलोलिटर मात्र हुने निगम बताउँछ । डिजेल भने सामान्य अवस्थामा दैनिक करिब ४ हजार किलोलिटर मात्रै हुने निगमको भनाइ छ । ग्याँसको दैनिक यस्तो खपत भने करिब ११ सय मेट्रिक टन पुगेको छ । अहिलेको यो इन्धन खपत साबिकको तुलनामा अधिकतम रहेको निगमको भनाइ छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले नयाँ मूल्यसूचीअनुसार हाल सबैभन्दा धेरै घाटा ग्याँसमा भएको बताए । उनका अनुसार हाल ग्याँसमा प्रतिसिलिन्डर घाटा २ सय ४८ रुपैयाँ ६४ पैसा पुगेको छ । निगमका अनुसार यसअघि प्रतिसिलिन्डर ग्याँस बिक्रीमा २ सय ३७ रुपैयाँ ६७ पैसा घाटा थियो ।

यसैगरी डिजेलमा प्रतिलिटर ५ रुपैयाँ २५ पैसा र पेट्रोलमा १४ पैसा घाटा रहेको गोइतले बताए । यसअघि निगमलाई प्रतिलिटर डिजेलमा ३ रुपैयाँ ९८ पैसा घाटा थियो । पेट्रोलको प्रतिलिटर घाटा भने यसअघि जस्तै छ ।

निगमलाई हवाई इन्धन र मट्टीतेलमा भने नाफा हुँदै आएको छ । नयाँ मूल्यसूचीअनुसार पनि निगमलाई प्रतिलिटर मट्टीतेलमा ११ रुपैयाँ, बाह्य हवाई इन्धनमा १० रुपैयाँ १३ पैसा र आन्तरिक हवाई इन्धनमा २ रुपैयाँ ४९ पैसा नाफा छ । यसअघि निगमलाई प्रतिलिटर मट्टीतेलमा १५ रुपैयाँ, हवाई इन्धन बाह्यतर्फ १८ रुपैयाँ ३१ पैसा र हवाई इन्धन आन्तरिकतर्फ १२ रुपैयाँ नाफा थियो । हवाई इन्धन र मट्टीतेलमा नाफा देखिए पनि तुलनात्मक रूपमा दुवै इन्धनको माग कम हुने भएकाले त्यसले नाफा–नोक्सानले समग्र इन्धनमा खासै ठूलो प्रभाव पर्दैन । नेपाल इन्धनमा पूर्ण रूपमा परनिर्भर छ ।