भारतमा प्याजको भाउ अकासिएपछि विकल्पको खोजी हुँदै

राजधानी समाचारदाता  / काठमाडौं

दैनिक उपभोग्य वस्तु तरकारीमा अधिकतम मात्रामा प्रयोग हुने प्याजको मूल्य अकासिएपछि अहिले उपभोक्ता मारमा परेका छन् । विगत केही सातादेखि बढ्दो क्रममा रहेको प्याजको बजार मूल्य  गतवर्षभन्दा तेब्बरले वृद्धि भएको छ ।

गत कात्तिक महिनाको अन्त्यसम्म थोक मूल्य प्रतिकेजी ३१ रुपैयाँ रहेकोमा प्याजको मूल्य ह्वात्तै बढेर प्रतिकेजी ९५ देखि १ सय ५ रुपैयाँसम्म पुगेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार गतवर्षको यस महिनामा प्याजको थोक मूल्य प्रतिकेजी ३० रुपैयाँ मात्रै रहेको थियो ।

भारतमै मूल्य बढेकोले नेपाली बजारमा पनि महँगिएको कालिमाटी तरकारी बजारका व्यवसायीले बताएका छन् । उत्पादन घटेर भारतमै प्याज अभाव हुन थालेपछि भारत सरकारले गत सातादेखि नै प्याजको न्यूनतम निर्यात मूल्य दर बढाएको छ । भारत सरकारले प्रतिमेट्रिकटन ८ सय ५० डलर(४६ हजार ४ सय ९२ रुपैयाँ)  निर्यात दर कायम गरेको छ । तर यो व्यवस्था आगामी पुस समान्तसम्म मात्रै लागू हुनेछ ।

आगामी पुसको मध्यतिर प्याजको नयाँ उत्पादन बजारमा आउने भएकोले केही निश्चित समयका लागि मात्रै भारतले यस्तो व्यवस्था लागू गरेको हो ।  अहिले भारत सरकारले आफ्ना उपभोक्तालाई सर्वसुलभ मूल्यमा प्याज उपलब्ध गराउन निर्यात दर बढाएको छ । नेपालमा जस्तै केही अघिको बाढीपहिरो एवं वर्षातका  कारण भारतमा प्याजखेती नष्ट गरेको थियो भने भण्डारण गरिएको प्याजसमेत पानीले भिजेका कारण कुहिएर नष्ट भएको थियो । नेपाललगायत बंगलादेश, पाकिस्तानका साथै खाडी मुलुकमा समेत भारतीय प्याज नै आपूर्ति हुने गरेको छ ।

नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले नेपाललगायत खाडी मुलुकमा समेत भारतीय प्याज नै आपूर्ति हुने गरेकोले बढी मुनाफा लिनका लागि भारतले निर्यात मूल्य बढाएको हुन सक्ने बताए । भारतीय प्याज महँगो भएकोले विकल्पमा चिनियाँ प्याज आउन सक्ने पनि उनले बताएका छन् । उनका अनुसार चिनियाँ प्याज निकै सस्तो हुने भए पनि भारतीय जस्तो स्वादिलो हुँदैन । घिमिरेले भने, ‘भारतीय प्याजको भाउ घट्ने सम्भावना नदेखिएकोले अब चिनियाँ प्याज आउन सक्छ । तुलनात्मक रूपमा चिनियाँ प्याज सस्तो पनि हुन्छ तर भारतीय जस्तो स्वादिलो र टिकाउ भने हुँदैन, चाँडै बिग्रिन्छ । भारतको राजस्थान, महाराष्ट्र, मध्य प्रदेश, गुजरात, आन्द्र प्रदेश, तमिलनाडु र कर्नाटकमा सबैभन्दा बढी प्याजको उत्पादन हुन्छ । हाल नेपाली बजारमा भारतको नासिक, इन्दौंर, कानपुर, चण्डीगढ र सिमलालगायतका स्थानबाट प्याज आयात हुन्छ ।

प्याजको अभाव हुँदा यस्ता स्थानबाट अहिले दैनिक चार ट्रकको हाराहारीमा प्याज कालिमाटी तरकारी बजारमा भित्रिने गरेको छ । यसअघि दैनिक ३० ट्रकसम्म भित्रिने गरेको थियो । कालिमाटी तरकारी तथा फलफूल थोक व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडाले भने कालिमाटीमा प्याज पर्याप्त भण्डारण क्षमता नभएका कारण यस्तो अवस्था सिर्जना भएको बताएका छन् ।

पर्याप्त भण्डारण व्यवस्था भएमा मूल्य नियन्त्रण गर्न सकिने उनको भनाइ छ । खतिवडाले भने, ‘हामीसँग भण्डारण सुविधा छैन, पर्याप्त भण्डारण सुविधा भइदिएमा भारतमा मूल्य बढेको सयममा यहींको स्टकबाट बिक्री गरेर मूल्य नियन्त्रण गर्न सकिने अवस्था हुन्थ्यो, भण्डारण क्षमता नभएका कारण भारतबाट आउनेबित्तिकै बिक्री गर्नुपर्ने अवस्था छ ।