सुन्तलाले बजार पायो

म्याग्दी / रासस– विगतका वर्षमा सस्तो मूल्यमै सुन्तला बिक्री गर्दै आएका किसानले सडक विस्तारपछि उचित मूल्य पाउन थालेका छन् । धौलागिरि गाउँपालिका–७ ताकमका भेषनाथ गौतमले मंसिर पहिलो साता धादिङका व्यापारीलाई सुन्तला ठेक्कामा दिए । उनले प्रतिकिलो ४२ का दरले सुन्तला बिक्री गरेका हुन् ।

गौतमलाई जस्तै गाउँका अन्य किसानलाई यसपालि विगतको जस्तो सुन्तला बिक्रीका लागि माघसम्म डोके व्यापारी कुर्नुपर्ने चिन्ता छैन । ‘यसअघि सुन्तलाको बजार खोज्दै हिँड्नुपथ्र्यो, यसपालि आँगनमै सडक आएपछि व्यापारी सुन्तला किन्न घरमै आए,’ गौतमले भने ।

बेनी नगरपालिका–४ बास्कुनाका कृषक तिलक गुरुङले सय बोट सुन्तला नटिप्दै चार लाख रुपैयाँमा बिक्री गरे । सोही ठाउँका नरबहादुर हुमेन, दलबहादुर कार्की र दुर्गाबहादुर खत्रीले सुन्तला बेचेर  १÷१ लाख रुपैयाँ बुझिसकेका छन् ।

‘घरमै आएर व्यापारीले बगैंचा नै ठेक्कामा लिएर सुन्तला खरिद गरेर लगेपछि कहाँ र कसरी बेच्ने भन्ने चिन्ता नै रहेन,’ कृषक दलबहादुर कार्कीले भने । कृषकलाई सडक सुविधा विस्तार भएपछि सुन्तला, आलुलगायत कृषिउपज बजारीकरणमा सहयोग मिलेको छ । केही वर्ष पहिलेसम्म स्थानीय बजारमा सीमित म्याग्दीको सुन्तला अहिले पोखरा, काठमाडौं, नारायणगढदेखि जनकपुरसम्म पुग्न थालेको छ ।