कर्मचारीबाहेकले पनि सञ्चयकोषमा रकम जम्मा गर्न पाउने

रासस / काठमाडौं

कर्मचारी सञ्चयकोषले व्यक्तिगत रूपमा समेत रकम जम्मा गर्न दिने सुविधा ल्याउन लागेको छ । रकम जम्मा गर्नेको संख्या बढाउने लक्ष्यका साथ व्यक्तिगत रूपमा समेत रकम जम्मा गर्न पाउने योजना सञ्चयकोषले अघि सारेको हो । कोष सञ्चालक समितिमा त्यससम्बन्धी प्रस्ताव पेस भइसकेको छ ।

कर्मचारी सञ्चयकोषका निमित्त प्रशासक दीपक रौनियारले सञ्चालक समितिको बैठकले सो विषयमा आवश्यक निर्णय गरेपछि व्यक्तिगत रूपमा कोष जम्मा गर्न पाउने मार्ग प्रशस्त हुने जानकारी दिए । कोषमा हाल ६ लाखभन्दा बढीले कोष कट्टी गर्दै आएका छन् । स्वरोजगार, अनौपचारिक क्षेत्रमा काम गरिरहेका नागरिक तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत कोषमा सहभागी गराउने लक्ष्यका साथ नयाँ कार्ययोजना अघि ल्याउन लागिएको रौनियारको भनाइ छ । यसअघि निजी क्षेत्रका संस्थाले पनि १० जनासम्मका कर्मचारीको रकम कोषमा जम्मा गर्दै आएका थिए ।

नयाँ व्यवस्थापछि व्यक्तिगत रूपमा रकम जम्मा गर्न सकिनेछ । नागरिक लगानीकोषले दिएजस्तै सुविधा कोषले पनि दिन लागेको हो । कोषको कुल बचत रकमलाई ७ खर्ब पु¥याउने लक्ष्यका साथ अनौपचारिक क्षेत्रमा काम गर्नेलाई समेत सहभागी गराउन लागिएको निमित्त प्रशासक रौनियारले बताए ।

यसैगरी कर्मचारी सञ्चय कोषले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कोषको सदस्य बनाउने र रकम जम्मा गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ । हाल औपचारिक र अनौपचारिक रूपमा गरी देशका करिब ४० लाख युवा वैदेशिक रोजगारीमा छन् ।

वैदेशिक रोजगारीमा रहेका युवाले पठाउने विप्रेषणलाई बचत गर्न प्रेरित गर्ने लक्ष्यका साथ त्यस्तो योजना ल्याउन लागिएको हो । वैदेशिक रोजगारीमा जाने कामदारले पठाएको विप्रेषणबाट प्राप्त रकम अनावश्यक रूपमा खर्च भइरहेको र जताबाट आयो, उतै जाने अवस्थाको अन्त्यका लागि त्यस्तो योजना अघि सारिएको सञ्चय कोषले जनाएको छ ।

यसैगरी विदेशबाट आउने रकमलाई सोझै कोषमा जम्मा गर्ने वा घरपरिवारका सदस्यले नजिकको कार्यालयबाट जम्मा गर्न सक्नेगरी सहज कार्यविधि बनाउने तयारी कोषको रहेको छ । बूढेसकालमा निवृत्तिभरणको रूपमा समेत सो कोषमा जम्मा गरिएको रकम खर्च गर्न सक्नेगरी योजना तयार पारिएको कोषले जनाएको छ ।

जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ‘रेमिट्यान्स हाइड्रो’को अवधारणा सोही प्रयोजनका लागि अगाडि सारेको हो । रेमिट्यान्स हाइड्रो कम्पनीमार्फत हाल ताप्लेजुङमा धुन्सा खोला जलविद्युत् आयोजना ७१ दशमलव ५ मेगावाट र सिंबुआ खोला ५३ दशमलव ७ मेगावाट क्षमताका आयोजना निर्माणको प्रक्रियामा अगाडि बढाउने योजना छ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले पठाएको रकम सदुपयोग होस् भन्नेतर्फ कोषले ध्यान दिन थालेको छ ।

विप्रेषणबाट प्राप्त रकम अनुत्पादनशील क्षेत्रमा बढी खर्च भइरहेको छ । त्यसलाई रोक्ने उपाय बचत गर्ने बानीको विकास गर्ने र लगानीका अवसर सिर्जना गर्ने लक्ष्यका साथ यस्तो अवधारणा ल्याइएको हो । जलविद्युत् लगानी तथा विकास कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रूपमा रहँदा रौनियारले नै रेमिट्यान्स हाइड्रोको अवधारणा अगाडि सारेका थिए । सबै वर्ग तथा क्षेत्रका नागरिकलाई रकम जम्मा गर्न पाउने सहज व्यवस्था भएपछि कोषको कुल बचत ७ खर्ब पुग्ने विश्वास लिइएको छ ।

नेपालको हालको कुल बजेटबराबरको पुँजी बनाउने लक्ष्यका साथ कोषले कार्ययोजना अगाडि सारेको रौनियारले बताए । आगामी दिनमा सबल र सक्षम आर्थिक संस्थाका रूपमा कोष अगाडि बढ्नुका साथै मुलुकको आन्तरिक लगानीमा विविध स्रोत तथा आयामका बारेमा सहज मार्ग निर्देश गर्नेछ । कोषले नेपाल वायु सेवा निगमलाई विमान खरिदमा मात्रै २० अर्ब लगानी गरिसकेको छ ।

यस्तै माथिल्लो तामाकोसी, साञ्जेन, रसुवागढी र मध्य भोटेकोसीमा समेत लगानी गरेको छ ।  यस्तै अन्य विविध परियोजनामा ३३ अर्ब लगानी गरेको छ । कोषले १ खर्ब ३७ अर्ब व्यक्तिगत तथा अन्य क्षेत्रमा लगानी गरेको छ । कुल ५४ अर्ब रकम भने विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात छ ।