‘आफ्नालाई’ भोट हाल्न छोराछोरी मनाउनै गाह्रो

बलराम प्यासी / काठमाडौं

विहीबार मुलुकका ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाको लागि दोस्रो चरणको निर्वाचन हुँदैछ । सोही निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेश सभाको लागि समानुपातिक सांसद पनि छाँनिदैछ । सो निर्वाचनलाई लिएर यतिखेर घरघरमा कुन दलका उम्मेदवारलाई भोट हाल्ने भन्ने विषयमा घर सल्लाह बढी नै हुन थालेको छ ।

दिनभरी आआफ्नो कामबाट थाकेर घर पुगेका घरका सदस्यहरु पनि साँझको खाना खाने समयमा या टेलिभिजन हेर्ने समयमा एकैछिन भएपनि कसलाई भोट हाल्ने भन्ने विषयमा छलफल गर्न थालेका छन् ।

विशेष गरी २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा या गत २९ बैशाख २९ र १० जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मत खसालीसकेका घरका युवा सदस्य मतदाता (छोराछोरी) विहीबार हुन लागेको चुनावमा बाबुआमाको इच्छा अनुसारको दलको उम्मेदवारलाई भोट हाल्न कदापि राजी देखिँदैनन । भन्छन,—‘अलिअलि राजनीति बुझेदेखि नै एउटै उम्मेदवारको नाममात्र सुन्दै आएका छौं, सँधै तिनीहरुलाई मात्रै के भोट हाल्नु ? ’

उनीहरु भन्छन—‘२ पटक (संविधानसभाको दोस्रो चुनाव २०७० र स्थानीय तहको चुनाव २०७४) मा ममीड्याडीले भन्नुभएको उम्मेदवारलाई भोट हाल्यौं, खोई तिनीहरुले केही गरेनन, आफ्नो स्वार्थमात्रै सिद्ध गरे । यसपालि त आफ्नो इच्छाअनुसारको उम्मेदवारलाई भोट हाल्ने हो ।’

‘ममीड्याडीको अगाडि उहाँहरुले भनेकै उम्मेदवारलाई भोट हाल्छौं भन्ने हो तर भोट खसाल्ने त आफ्नो इच्छा अनुसारको’ उनीहरु भन्छन । त्यसो त १८ वर्ष उमेर पुगेर मतदाता परिचयपत्र बनाएका मतदाताले आफ्नो इच्छाअनुसार कुनैपनि उम्मेदवारलाई मत खसाल्न पाउने संवैधानिक अधिकार भएतापनि प्रायःजसो पारिवारिक सुझाव र दवावका कारण ती मतदाता हरेक निर्वाचनमा अन्यौलमा पर्ने गरेका छन् ।

विहीबार हुन लागेको चुनावमा आफुले भनेको उम्मेदवारलाई भोट हाल्न छोराछोरीले नमानेपछि बढी चर्चामा रहेका नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसंग आवद्ध कार्यकर्ता आफ्ना युवा छोराछोरीप्रति अलि रुष्ट पनि देखिएका छन । भन्छन—‘बरु अरु सर्वसाधारण मतदातालाई सम्झाउन सजिलो छ, तर आफ्नै छोराछोरीलाई बुझाउन कठिन भयो बा ।’ ‘कलेज पढ्न थालेपछि त छोराछोरीले हाम्रा सुझाव नै नसुन्ने भए त’—बाबुआमाको गुनासो छ ।

एमाले र माओवादी केन्द्रमा आवद्ध कार्यकर्ताका छोराछोरीको तुलनामा कांग्रेस कार्यकर्ताका छोराछोरी अलि बढी स्वतन्त्र पाइएको छ । नेपाल कमर्श क्याम्पसमा स्नातक पढ्दै गरेका शंखमुलका कृष्ण गुरुंग भन्छन ‘यो चुनावमा त ड्याडीममीले भनेको उम्मेदवारलाई मैले भोट हाल्ने ? नो चान्स ।’ ‘उहाँहरुको अगाडी त हुन्छ भन्छु तर भोट भने साथीहरुले जता भन्छन त्यतै हाल्छु ।’ त्यसो त आफ्नो र आफ्नो कलेजका सहपाठीहरुको सुझाव र रुचि अनुसार युवा मतदाताहरुको मत नयाँ उम्मेदवारतिर आर्कषित देखिएको पाइएको छ ।

पोहोर मतदाता परिचयपत्र बनाएर स्थानीय तहको चुनावमा भोट खसालिसकेका बल्खुका राधाकृष्ण डंगोल भन्छन ‘म स्कुल पढ्दादेखि नै नाम सुनिराखेका बुढाखाडा र पटकपटक उठ्ने एउटै उम्मेदवारलाई पनि कसैले भोट हाल्छ ? हामी त युवा उम्मेदवार नै भोट हाल्छौं ।’

यसैवर्ष नयाँ मतदाता परिचयपत्र बनाएकी नागार्जुन नगरपालिका रामकोटकी मतदाता मुना गिरी ‘ यसपालि बुबाले जुन चिन्हमा भोट हाल्न भन्नुहन्छ त्यसैमा हाल्ने बताउँछीन । भन्छीन—‘पहिलोचोटी भोट हाल्न सिक्नुपर्यो, कसलाई भोट हाल्ने भन्ने कुराको च्वाइस चाँहि अर्काे चुनावमा मात्रै होला जस्तो छ ।’

काठमाडौंको २ नं निर्वाचन क्षेत्र काँडाघारीकी अस्मिता बस्नेत ममीसंगै पहिलोपटकको भोट हाल्ने बताउँदै भन्छीन—‘पहिलोपटक ममीको चाहनाअनुसार भोट खसाल्छु, अर्काेचोटी मेरो इच्छा ।’