वर्षौंदेखि लालपुर्जाकै आसमा मत

विधुर ढकाल  / रुद्रपुर (रूपन्देही)

२१ मंसिरमा ४५ जिल्लामा प्रदेश तथा प्रतिनिधिसभाको दोस्रो चरण निर्वाचन हुँदै छ । रूपन्देहीको कञ्चन गाउँपालिकामा समाहित भएको साबिकको रुद्रपुर गाविसमा तीनवटा मतदान स्थल छन् । यहाँका १५ हजार ६ सय ७७ मतदातामध्ये यहाँका अधिकांश मतदाताले यसपटक पनि लालपुर्जाकै आसमा मतदान गर्दै छन् ।

३० सालतिर बसेको यहाँको बस्ती घना र बाक्लो हुँदै गए पनि अझै यहाँका ६ हजार घरधुरीसँग लालपुर्जा छैन । यहाँ हरेकजस्तो निर्वाचनमा जालपुर्जा प्रमुख मुद्दा हुन्छ । अहिलेसम्म जतिले जितेर गए सबै लालपुर्जा दिलाउने भन्दै जितेर गए । तर लालपुर्जा आएन । यसपटक यहाँका उम्मेदवारको प्रमुख एजेन्डा लालपुर्जा भएको छ ।

‘नेताहरू निर्वाचनको बेला गाउँ जान्छन् र लालपुर्जा दिलाइदिने आश्वासन दिन्छन् । तर निर्वाचन जितेपछि कोही फर्कन्नन्,’ स्थानीय भन्छन् । यहाँ एउटा बहुमुखी क्याम्पस, पाँचवटा उच्च मावि र पाँचवटा माविसहित २० वटा विद्यालय छन् ।

सडक पिचको काम भइरहेको छ । पूर्व–पश्चिम राजमार्गलाई लुम्बिनी जोड्ने सडक यही बस्तीको बीचबाट गुज्रेर जान्छ । भौतिक रूपमा सम्पन्न छ, तर लालपुर्जा भने छैन । तर लालपुर्जा नभए पनि नियमित रूपमा घरधुरी कर पनि बुझाउँछन्, स्थानीय तहमा । घरघरमा बिजुलीका मिटर पनि छन् ।

यहाँका अधिकांश सरकारी भवन पनि सुकुम्बासी बस्तीमा छन् । स्वास्थ्य चौकी भवन रहेको जग्गाको पनि लालपुर्जा छैन । प्रहरी कार्यालयको भवन बनेको जग्गाको लालपुर्जा छैन । यहाँका अधिकांश विद्यालय पनि यिनै लालपुर्जा नभएका जमिनमा छन् ।

यहाँका जनताले लालपुर्जाकै आसमा हरेकपटक फरकफरक उम्मेदवारलाई विजयी गराउँदै आएका छन् । यस क्षेत्रमा लगातार रूपमा कसैले जित्न सकेको छैन । यसको कारण पनि लालपुर्जा नै हो ।

‘यहीबाट विजयी भएकाहरू मन्त्री, राज्यमन्त्री र संसदीय समितिका प्रमुख पनि भए तर लालपुर्जा आएन,’ ३० वर्षीय टोपबहादुर पुनले भने, ‘दुईवटा निर्वाचनमा दुईपटक नै लालपुर्जाको नाममा भोट हालें तर आएन, फेरि पनि लालपुर्जाकै आसमा पुरानालाई किन दिने ? बरु नयाँ मान्छेलाई दिने नि ।’

यहाँका वृद्धहरूको जीवनको एउटै धोको छ, त्यो हो अन्तिम समयमा भए पनि लालपुर्जा हातमा होस् ।‘जतिपटक भोट राख्यौं, त्यतिपटक पुर्जा माग्यौं, त्यति नै पटक लालपुर्जा नलिई गाउँ फर्किन्न भनेर वाचा गरेर गए,’ ९३ वर्षीया सावित्री उपाध्यायले भनिन्, ‘लालपुर्जा त आएन, फेरि भोट माग्न चाँहि आएका छन्, बाबु सुकुम्बासी भएरै मर्ने भइयो, हातमा लालपुर्जा लिएर मर्ने मन छ ।’
लालपुर्जा नभएकै कारण यहाँका स्थानीयले बैंक वित्तीय संस्थाबाट ऋण झिक्न पाएका छैनन् । ‘हामीसँग जग्गा छ, जग्गाको भाउ पनि लाखौंको छ तर हामीसँग यही जग्गा धितोमा राखेर पैसा निकालौं भने लालपुर्जा छैन्,’ ५४ वर्षीय चन्द्रबहादुर थापाले भने, ‘हामीसँग छैन भने सम्पत्ति छ, छ भनौं भने पनि सरकारी कागजमा मूल्य छैन ।’
‘२०५८ सालमा एकपटक नापीले काम थालेको थियो, त्यसपछि अगाडि बढेन । पटकपटक लालपुर्जा र नापीका नाममा स्थानीयबाट रकम पनि उठाउने काम भयो,’ उनले भने, ‘तर पनि अहिलेसम्म लालपुर्जा हातमा आएन ।’
२१ मंसिरमा हुने निर्वाचनमा रूपन्देही–५ मा मात्र होइन यहाँ सबै निर्वाचन क्षेत्रमा सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने विषय प्रमुख मुद्दाका रूपमा उठेको छ । यहाँका मतदाता यसपटक पनि लालपुर्जाकै आसमा मतदान गर्दै छन् ।