पिडारीगुठीवासीलाई माटोको चिन्ता , बालुवा तस्करबाट जोगाउनेलाई मत

तुलसी भण्डारी  / वीरगन्ज

गाउँगाउँमा भोट माग्न पुगेका नेताहरूका मीठामीठा आश्वासनले पर्साको पिडारीगुठीका जनताको मन मौन अवधि सुरु हुनैलाग्दा पनि अझै छुन सकेको छैन । पटकपटक नजिकैको ओरिया खोलामा आउने भारतीय बालुवा तस्करको बलमिचाइबाट गाउँलाई कसरी जोगाउने भन्ने चिन्ताको मलमपट्टि लगाउन सक्ने विश्वासिलो नेता उनीहरूले अझै फेला नपारेको बताए ।

कसलाई मतदान गर्ने भन्ने विषयमा घरसल्लाह गर्दै पिडारीगुठीको एक परिवार तस्बिर: तुलसी भण्डारी

पर्साको सीमावर्ती गाउँ पिराडीगुठीवासीले नेताहरूबाट विकास र अधिकारको अश्वासनभन्दा पनि गाउँ बचाउने र नेपाली भूमिको रक्षा गर्छु भन्न सक्ने नेता खोजेका छन् । उनीहरूलाई त्यो आश्वासनभन्दा विकासे आश्वासन दिने नेता मात्र गाउँमा आउने गरेकाले अझै निर्वाचनको तरंंगले मन छुन नसकेको बताए ।

‘सीमापारीबाट आउने भारतीयहरूले हरेक वर्ष गाउँवासीमाथि नै आक्रमण गरी नदीको बहाव नै बदलिनेगरी नेपाली भूमिबाट जबर्जस्ती बालुवा लान नपाऊन् भन्ने हाम्रो मुख्य माग हो,’ स्थानीयवासी भन्छन्, ‘यो माग पूरा गर्छु भन्ने आँट भएका नेताको खोजीमा हामी बसेका छौं ।’ स्थानीय फूलमती चौधरीले निर्वाचनको मुखमा दिइने आश्वासनमा पनि यो समयस्याको समाधान गर्छु भन्ने सुन्न मन भएको बताइन् ।

हरेक वर्ष हुने सीमा विवाद र यसले निम्त्याउने समस्या पनि उनीहरूका लागि कम पीडादायी छैनन् । नेताका एजेन्डामा पनि भारतबाट दैनिक रूपमा सयौं ट्याक्टर लिएर बलजफ्ती रूपमा नेपाली भू–भागमा पसेर बालुवा उत्खनन गर्ने माफियाको चँगुलबाट पिराडीगुठीवासीलाई मुक्ति दिने आश्वासन पनि नआएको उनीहरूको गुनासो छ ।

पर्सा–४ मा पर्ने यो गाउँमा सबै दलका उम्मेदवार घरदैलो गर्न पुगे । विकासे एजेन्डा पनि सुनाए । तर नदीमा भइरहेको अवैध बालुवा चोरी निकासी नियन्त्रण गरी गाउँ जोगाउने एजेन्डा भने कसैले सुनाएनन् । त्यसकारण सबै दलका उम्मेदवारप्रति उनीहरूको मन कुँडिएको छ ।

‘बालुवाको अवैध उत्खनन र नदी कटान क्षेत्रमा नै लगेर देखाउँदा पनि नियन्त्रण गर्छौं भन्न कुनै उम्मेदवारले सकेनन्,’ स्थानीय राजेन्द्र चौधरीले भने । गत वर्ष २९ भदौमा सयौंको संख्यामा भारतबाट आएका बालुवा तस्कर र पिडारीगुठीवासीबीच भएको झडप साम्य पार्न गएका नेपालको सशस्त्र प्रहरीका सहायक हवल्दार राजकुमार माझी र स्थानीय प्रभु खवास थारू घाइते भएका थिए । ‘भारतीयसँग पटकपटक भएको झडपमा चोटपटक लागी घाइने हुनेहरूको सूची लामै छ,’ चौधरी भन्छन् ।

तीनपटकसम्म नेपाल प्रहरीले हवाई फायरसमेत गरी झडपलाई कम पारेको घटना अझै ताजै छ पिडारीगुठीवासीमा । यी घटनाका बारेमा प्रहरी प्रशासनले भारतीय समकक्षीसँगको सुरक्षा बैठकमा कुरा उठाए पनि भारतीय पक्षले अझै खासै सुनुवाइ नगरेको उनीहरूको गुनासो छ ।

पहिले गाउँको पश्चिमबाट बगेको ओरिया नदी स्थानीयका लागि बरदान साबित थियो । बस्तुभाउका लागि प्रशस्त घाँस पाइन्थ्यो । उत्तरमा पर्ने जंगलबाट बगेर आउने काठ स्थानीयका लागि दाउरा हुन्थे । नदीमा पाइने माछा र बगरमा उब्जिने काँस घरको छानो छाउने खरको रूपमा प्रयोगमा आउँथ्यो ।

ओरिया नदीलाई ‘ओरिया माई’ भनी देवीको रूपमा पनि मान्ने चलन रहेको स्थानीय ओमप्रकाश चौधरीले बताए । ‘यो नदी भारतीय बालुवा तस्करहरूको नजरमा परेपछि ओरिया माई रिसाएर हरेक वर्ष गाउँवासीमाथि भारतीयहरूले समेत दुःख दिन थाले,’ चौधरी भन्छन् ।

अनियन्त्रित उत्खननले बर्सेनि १०औं बिघा खेतीयोग्य नेपाली भूमि बर्खे भेलसँगै बगेर जाने र सो ठाउँ बगरमा परिणत हुने गरेको चौधरीको भनाइ छ ।  भारतको पश्चिमी चम्पारण जिल्लाको मैनाटार, इनर्वा, चुहडी, बलथरलगायतका बजारदेखि बेतियासम्ममा ओरिया नदीको बालुवा बेच्ने दलाल दर्जनौं रहेको स्थानीयको दाबी छ । ‘नेपालको ओरिया नदीको बालुवा भनेर नै उनीहरूले महँगो दाममा भारतीयहरूलाई बालुवा बेच्छन्,’ उनले भने ।
अनियन्त्रित तवरले भारतीयले दैनिक सयौं ट्याक्टर बालुवा झिकिदिँदा नदीको बहावसमेत अनियन्त्रित भई स्थानीय रामचेतन महतोको २ बिघा जग्गा अहिले भारततर्फ परेको छ । त्यसैगरी रामायण प्रसादको ५ कट्ठा जमिनको बीचमा सीमाको पिल्लर छ ।
लालपुर्जा हातमा र जग्गा भारतमा हुँदा दर्जनौं परिवार अहिले चिन्तामा छन् । ‘पिराडीगुठीवासीका समस्या र जिल्लाका अरू ठाउँका मानिसको समस्या एउटै होइनन्,’ स्थानीय हेमराज चौधरी भन्छन्, ‘स्थानीयको भारतमा गइसकेको जग्गाको मात्रै कुरा छैन पिलर सारिए यता पनि २ किलोमिटर भित्रसम्म भारतीय माफियाहरू पसेर बालुवा उत्खनन गर्ने त्रास छ ।’