निर्वाचन तयारी पूरा

महेश्वर गौतम , विजय चाम्लिङ / काठमाडौं

निर्वाचन आयोगले २१ मंसिरमा हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगले सबै तयारी पूरा गरेको बताएका हुन् ।

‘४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पूरा गरेकोे छ, मतदान केन्द्रमा कर्मचारीहरू पुगिसकेको अवस्था छ, कर्मचारीहरू मतदान स्थलको निर्माण गर्ने भित्री तयारीमा हुनुन्छ,’ प्रमुख आयुक्त यादवले राजधानीसँग भने ।बिहीबार कुल १ सय ६५ प्रतिनिधिसभा र ३ सय ३० प्रदेशसभामध्ये ४५ जिल्लाका १ सय २८ प्रतिनिधिसभा र २ सय ५६ प्रदेशसभाका लागि दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।जसमा प्रतिनिधिसभाको १ सय २८ सिटका लागि १ हजार ६ सय ६३ जना उम्मेदवार चुनावी मैदानमा छन् भने प्रदेशसभाको २ सय ५६ सिटका लागि २ हजार ८ सय १९ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभाको निर्वाचनका लागि १ हजार ५ सय ३३ पुरुष उम्मेदवार छन् भने १ सय ३० जना महिला उम्मेदवार मैदानमा छन् । यस्तै प्रदेशसभाका लागि २ हजार ५ सय ९९ जना पुरुष उम्मेदवार मैदानमा उत्रिएका छन् भने २ सय २० महिला उम्मेदवार मैदानमा छन् ।

पुरुष उम्मेदवार ४ हजार १ सय ३२ र ३ सय ५० महिला उम्मेदवार दोस्रो चरणको निर्वाचनका लागि चुनावी मैदानमा रहेको आयोगले बताएको हो । आयोगका अनुसार दोस्रो चरणको निर्वाचनका लागि १ लाख ५५ हजार कर्मचारी परिचालन भएका छन् भने १ लाख ७२ हजार सुरक्षाकर्मी परिचालित छन् । जसमा ६० हजार नेपाली सेना छन् ।

१ सय २८ प्रतिनिधिसभा र २ सय ५६ प्रदेशसभाका लागि मतदान

प्रतिनिधिसभातर्फ १ हजार ६ सय ६३ उम्मेदवार

प्रदेशसभातर्फ २ हजार ८ सय १९ उम्मेदवार

१ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाता

७ हजार ७ सय ५२ मतदान स्थल

१५ हजार ३ सय ४४ केन्द्र

१ लाख ५५ हजार कर्मचारी

१ लाख ७२ हजार सुरक्षाकर्मी

४ सय विदेशी पर्यवेक्षक

४४ हजार स्वदेशी पर्यवेक्षक

 निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गर्ने सरकारले जनाएको छ ।
निर्वाचनका लागि ४ सयभन्दा बढी विदेशी पर्यवेक्षकले अनुमति पाएका छन् भने ४४ हजार स्वदेशी पर्यवेक्षकले निर्वाचन अनुगमनका लागि अनुमति लिएका छन् । दोस्रो चरणको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदातामध्ये १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाताले निर्वाचनमा मतदान गर्न पाउनेछन् ।
आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष र दुवै निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीका गरी १ करोड ३५ लाखका दरले मतपत्र तयारी अवस्थामा मतदान स्थलहरूमा पु¥याएको समेत जनाएको छ । मतपत्र १० प्रतिशतका दरले जगेडा रहनेगरी पठाइएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
आयोगले दोस्रो चरण निर्वाचनका लागि ७ हजार ७ सय ५२ मतदान स्थल र १५ हजार ३ सय ४४ मतदान केन्द्र तय गरेको जनाएको छ । यसअघि ३२ जिल्लामा १० मंसिरमा पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ ।

चार दिनभित्र नतिजा

काठमाडौं / रास– निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको मतगणना चार दिनभित्रमा गरिसक्ने जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीको मतगणना भने आठ दिनभित्रमा सम्पन्न गरिने आयोगले बताएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक निर्वाचन प्रणालीको मतगणना २१ मंसिरको बेलुकी ५ बजेपछि एकसाथ प्रारम्भ गरिनेछ । मतगणनाका लागि मतपत्र संख्या, स्थान र सुरक्षासमेतको आधारमा कम्तीमा तीन वा सोभन्दा बढी मतगणना टोली गठन गरी गणना गरिनेछ । एक गणना टोलीमा सात सदस्य रहने व्यवस्था छ ।

मतपत्र थोरै भएको निर्वाचन क्षेत्रको परिणाम मतगणना प्रारम्भ भएको २४ घण्टाभित्रै आउने ढकालले बताए । २१ मंसिर अर्थात् आगामी बिहीबारको मतदानपछि सोही दिन बेलुकी ५ बजेपछि मतगणना सुरु गरिनेछ ।

गत १० मंसिरमा ३२ जिल्लामा भएको पहिलो चरणको निर्वाचनका मतपेटिकाहरू हाल सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित साथ राखिएको छ । बिहीबार बेलुकी ५ बजेपछि पहिलो चरणको निर्वाचनको मतगणना तत्काल नै सुरु हुने ढकालले बताए ।‘स्थान भएमा प्रतिनिधिसभा, प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको मतगणना एकैपटक प्रारम्भ गरिनेछ,’ उनले भने, ‘स्थान उपलब्ध नभएमा पहिले प्रतिनिधिसभा र प्रदेशसभाको गरिनेछ । त्यो पनि नभए मात्रै पहिले प्रतिनिधिसभाको मतगणना गरिनेछ ।’ तर हरेक निर्वाचन क्षेत्रमा कम्तीमा तीनवटा मतगणना टोली गठन गरी गणना कार्य गरिने उनले बताए ।

परिचयपत्र मतदान केन्द्रबाटैै

निर्वाचन आयोगले मंगलबारदेखि पछिल्लो समय थपिएका मतदाताहरूको मतदाता परिचयपत्र वितरण सुरु गरेको छ । मतदाता परिचयपत्र बुधबार (आज) समेत वितरण गरिनेछ । आयोगले मतदान केन्द्रबाटै परिचयपत्र वितरण गर्ने व्यवस्था गरेको हो ।
स्थानीय तहको निर्वाचनपछि १३ लाख ५५ हजार ५ सय १४ नयाँ मतदाता थपिएको आयोगले जनाएको छ । देशभर कुल मतदाताको संख्या भने १ करोड ५४ लाख २७ हजार ९ सय ३५ छ ।
आयोगले गत ५ भदौसम्ममा १८ वर्ष पुगेका नागरिकहरूलाई मतदाता नामावली सूचीमा सूचीकरण गरी परिचयपत्र दिन थालेको हो ।
आयोगका प्रवक्ता नवराज ढकाका अनुसार निर्वाचन मतदानका दिन भने परिचयपत्र वितरण गरिनेछैन । उनले भने, ‘मतदानको दिन अरू नै काम गरिने भएकाले परिचयपत्र वितरण गर्न भ्याइँदैन ।’
मतदाता परिचयपत्र नभए नागरिकता वा कुनै सरकारी निकायबाट जारी भएको परिचयपत्रको आधारमा पनि मतदान गर्न पाइनेछ । पहिलो र दोस्रो चरणमा गरी कुल २२ लाख नयाँ मतदाताले परिचयपत्र लिने आयोगले जनाएको छ । थपिएका नयाँ मतदाताका अतिरिक्त बसाइँसराइअनुसार बन्ने परिचयपत्र, प्राविधिक रूपमा बिग्रिएर सच्याइएको परिचयपत्र गरी कुल २२ लाख परिचयपत्र वितरण गरिने प्रवक्ता ढकालले बताए ।