हिमपातका कारण जनजीवन कष्टकर

टेक शाही / डोल्पा

एक्कासि हिमपात भएपछि डोल्पाको जनजीवन प्रभावित बनेको छ । मंगलबार बिहान माथिल्लो डोल्पामा हिमपात सुरु भएपछि जनजीवन प्रभावित हुन पुगेको हो । हिमपातपछि बढेको चिसोले तल्लो डोल्पाको जनजीवनमा समेत प्रभाव पारेको बताइएको छ ।

मंसिरको तेस्रो साता पनि बित्न नपाउँदै हिमपात भएपछि डोल्पाको न्यूनतम तापक्रम माइनस ७ डिग्रीसम्म पुगेको स्थानीय रवीन्द्र शाहीले बताए । मौसमी विवरण देखाउने मेसिन राखेका शाहीले बदली भई हिमपात हुने तथा पानी पर्ने क्रम अझै दुई दिनसम्म रहने बताए ।

माथिल्लो डोल्पामा परेको हिउँ करिब आधा फिट जमेको डोल्पो मुकोटका सोनामधावा गुरुङले बताए । उनका अनुसार हिमपात भएसँगै चिसो ह्वात्तै बढेपछि गाईबस्तुलाई घाँसपात गर्नसमेत कठिन भएको छ ।

केही दिनदेखिको बदलीपछि मंगलबारबाट माथिल्लो डोल्पामा हिमपात र तल्लो डोल्पामा पानी पर्न थालेपछि चिसोले दैनिक कामकाजमा कठिनाइ उत्पन्न भएको जगदुल्ला गाउँपालिकाका स्थानीय राजबहादुर थापाले बताए ।

कतै पानी र कतै हिउँ पर्न थालेपछि चिसोले कठ्यांग्रिएर विद्यार्थीहरूको पठनपाठनमा समेत असर परेको महादेव आधारभूत विद्यालयकी शिक्षिका खगिसरा पुलामीले जानकारी दिइन् । बढ्दो चिसोका कारण ससाना बालबालिका पढ्न नसक्ने अवस्था सिर्जना भएपछि तल्लो डोल्पाका सबै विद्यालय प्रभावित भएको उनकोभनाइ छ ।

हिमपातसँगै चिसो ज्यादै बढेपछि माथिल्लो डोल्पाका सबै विद्यालय बन्द गरिएको उक्त क्षेत्रका शिक्षकहरू बताउँछन् । मंसिरमा नै परेको हिमपातले माथिल्लो डोल्पाका स्थानीयहरू सबैभन्दा धेरै प्रभावित भएको बताइएको छ ।

चिसो छल्न चौंरीगाई, घोडा र च्यांग्रा लिएर तल्लो डोल्पा झर्ने माथिल्लो डोल्पाका स्थानीयहरू आकस्मिक रूपमा हिमपात भएपछि घरमै थन्किएका छन् ।

माथिल्लो डोल्पाका केही बासिन्दा तल्लो डोल्पा आउँदै गर्दा हिमपात भएपछि उच्च हिमाली भूभागका बीचमा अलपत्र परेको माथिल्लो डोल्पाका स्थानीयहरू बताउँछन् । बदली भएपछि डोल्पामा तीन दिनदेखि घाम लागेको छैन भने चिसो बढेको बढ्यै छ ।