ललितपुरमा निर्वाचन तयारी पूरा

राजधानी संवाददाता  / ललितपुर

मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा करिब २२८ हजार मतदाता रहेको जनाएको छ । कार्यालयले प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि जिल्लामा रहेका तीनवटा निर्वाचन क्षेत्रमा १३१ मतदान स्थलमा २७७ मतदान केन्द्रहरूको संख्या निर्धारण गरेको छ ।

ललितपुरमा हाल २ लाख २८ हजार ३३९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिए । ललितपुर–१ मा ५३ मतदान स्थलमा ८७ मतदान केन्द्र, २ मा ३९ मतदान स्थलमा ८८ वटा मतदान केन्द्र र ३ मा ३९ मतदानस्थलमा १०२ वटा मतदान केन्द्र रहेको उनले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको हाताभित्र रहेको भवनमा छ । प्रमुख जिल्ला अधिकारी महादेव पन्थले चुनावलाई व्यवस्थित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरूलाई चुस्तदुरुस्त रूपमा राखिएको जानकारी दिए ।

कार्यालय स्थापना गरेसँगै सुरक्षाका निम्ति सशस्त्र र नेपाल प्रहरीलाई खटाइएको छ । अब चुनाव सकिएसम्म सुरक्षाकर्मी त्यही पहरा दिएर बस्ने जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ ।

क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत सुरेशराज खनालले निर्वाचनको तयारी लगभग पूरा भएको जनाएका छन् । उनका अनुसार क्षेत्र नम्बर १ का सबैजसो मतदान स्थलमा कर्मचारी पुगिसकेर सर्वदलीय बैठक पनि गरिसकेका छन् ।

‘सर्वदलीय बैठक बसेर बुथ बनाउने काम सुरु भएको छ,’ उनले भने, ‘बुधबार बिहानबाट सुरक्षाकर्मी राखेर मतपत्र मतदान स्थलमा बाँड्ने काम सुरु हुँदै छ ।’

क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत विनोदकुमार भट्टराई र क्षेत्र नम्बर ३ का सहायक निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले मतपत्र बुथमा बाँड्ने कामबाहेक अरू काम लगभग सकिएको जनाएका छन् ।

ललितपुर जिल्लामा नयाँ १५ हजार मतदाता थपिएका छन् । यसअघि जिल्लामा २ लाख १३ हजार ७२ मतदाता रहेका थिए । १ साउनदेखि ३ भदौसम्म चलेको मतदाता संकलन तथा अद्यावधिक कार्यक्रमका दौरान नयाँ १५ हजार मतदाता थपिएका हुन् ।

जिल्लाका एक महानगर, दुई नगर र तीन गाउँपालिकामा गरी जम्मा २८ हजार २२२ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ ।जिल्लामा ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिका, कोन्जोसोम, बाग्मती र महांकाल गाउँपालिका छन् ।