प्रदेश ७ का २४२ मतदान स्थल अति संवेदनशील

छत्र साउद / डडेल्धुरा

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रदेश ७ का मतदान स्थलमध्ये २४२ स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका छन । सुदूरपश्चिम क्षेत्रीय उपप्रशासक शंकर विष्टका अनुसार प्रदेश ७ अन्तर्गत दोस्रो चरणमा निर्वाचन हुने पाँच जिल्लाका कुल ६८५ मतदान स्थलमध्ये अति सम्वेदनशील २४२, संवेदनशील २७२ र साधारण १७० हुने गरी वर्गीकरण गरिएको छ ।

कैलालीमा ७५, कञ्चनपुर ८६, डोटीमा १०, अछाममा ५५ र डडेल्धुरामा १६ स्थल अति संवेदनशीलको सूचीमा छन् । कञ्चनपुरमा ३२, अछाममा ६५, डोटीमा ३०, डडेल्धुरामा ३७ र कैलालीमा १०८ गरी २७२ संवेदनशील स्थल मानिएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि १२ र प्रदेशसभा सदस्यका लागि २४ गरी ३६ सदस्य प्रत्यक्ष रूपमा चयन हुने गरी हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ ८६ र प्रदेशसभातर्फ १४४ उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

निर्वाचन सम्पन्न गर्न कैलालीमा सबैभन्दा बढी मतदान स्थल तोकिएका छन् । कैलालीमा २३१ मतदान स्थल र ५३८ मतदान केन्द्र छन् । यस्तै, डोटीमा ११५ मतदान स्थल र एक सय ५७ मतदान केन्द्र, कञ्चनपुरमा १३२ मतदान स्थल र ३२० मतदान केन्द्र, अछाममा १२९ मतदान स्थल र १९७ मतदान केन्द्र र डडेल्धुरामा ७७ मतदान स्थल र ११७ मतदान केन्द्र रहेको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार बिहीबार पाँच जिल्लाका १० लाख ५० हजार ७ सय ३२ मतदाताले आफ्ना प्रतिनिधि छान्न मतदान गर्नेछन । कैलालीमा सबैभन्दा बढी ४ लाख ६० हजार ५ सय ७८ मतदाता रहेका छन् । यस्तै, कञ्चनपुरमा २ लाख ६४ हजार ९७३, अछाममा १ लाख ३६ हजार ९०३, डोटीमा १ लाख ६ हजार ५४३ र डडेल्धुरामा ८१ हजार ७३५ मतदाता छन् । सबै मतदान केन्द्रमा कर्मचारीहरूको टोली पुगिसकेको मुख्य निर्वाचन अधिकृतका कार्यालयहरूबाट जानकारी प्राप्त भएको छ ।

 सोमवार साँझ मतदान केन्द्रमा पुगेका कर्मचारीहरूले मंगलबार र बुधबार मतदान स्थलको आवश्यक तयारी गर्ने र वितरण गर्न बाँकी मतदाता परिचयपत्र वितरण गर्नेछन् । मतदान स्थलहरूको सुरक्षा संवेदनशीलता हेरी सुरक्षा प्रबन्ध मिलाइएको क्षेत्रीय उपप्रशासक विष्टले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेराको सुरक्षा व्यवस्था मिलाएको बताइएको छ । यसका साथै घुम्ती सुरक्षा टोलीको पनि व्यवस्था गरिएको छ । विष्टले मतदाताहरूलाई निर्भयका साथ मतदान केन्द्रमा गई मतदान गर्न पाउने पूर्ण व्यवस्था गरिएको जानकारी दिँदै निर्धक्क भएर मतदान गर्न आममतदाताहरूलाई समेत आग्रह गरिएको छ ।