अव्यवस्थित कार्यालयका वडैपिच्छे मोटरसाइकल

दीपशंकर चौलागाईं / दोलखा

कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान यतिखेर जिरी नगरपालिकाको सन्दर्भमा सार्थक बन्न पुगेको छ । वडा कार्यालयहरू नै व्यवस्थित गर्न नसकिरहेका बेला उक्त नगरपालिकाले हरेक वडाका लागि मोटरसाइकल खरिद गरिदिएपछि यस्तो परिस्थिति आएको हो । नगरप्रमुखको त झन् कुरा अर्कै छ । उनले छँदखाँदाको स्कार्पियो गाडी पुरानो भइसकेको भन्दै चढ्न छाडेर ३२ लाख ५० हजारमा नयाँ बोलेरो गाडी खरिद गरेकोमा पनि टिप्पणी हुने गरेको छ ।

जिरी नगरपालिकाले करिब ५२ लाख ७४ हजारको गाडी र मोटरसाइकल खरिद गरी राजस्वको दुरुपयोग गर्ने मात्र नभएर सरकारकै खिल्ली उडाएको स्थानीयवासी प्रवीण सुनुवारले प्रतिक्रिया दिए । जिरी नगरपालिकाका दुई वडाबाहेक बाँकी सबै वडा कार्यालय भाडाको घरमा राखिएको छ । अधिकांश वडा कार्यालय जस्ताको टहरामा राख्नु नगरपालिकाको विवशता बनेको छ । वडा नम्बर ३ को कार्यालय सरकारी भवनमा छ भने ५ को कार्यालयका लागि वडा अध्यक्ष निमासांगे शेर्पाले निःशुल्कउपलब्ध गराएको कोठामा सीमित छ ।

जिरी नगरपालिकाका नौवटै वडा कार्यालयका लागि एकएकवटा पर्ने गरी १६० सीसी क्षमताका नौवटा मोटरसाइकल खरिद गरिसकिएको छ । ती मोटरसाइकल नगरप्रमुख टंक जिरेलले एक कार्यक्रमबीच वडाध्यक्षहरूलाई हस्तान्तरण गरिसकेका छन् । उनको उक्त कार्यको अहिले नगरपालिकामा चौतर्र्फी विरोध भइरहेको छ ।

जरी नगरपालिका वडा कार्यालयहरूलाई वितरण गर्न तयारी अवस्थामा राखिएका मोटरसाइकल ।

जिरेलले जिरी नगरपालिकाले प्रत्येक वडाका लागि प्रतिगोटा २ लाख २४ हजार ९ सय रुपैयाँ मूल्य पर्ने ‘आपाचे ब्रान्ड’को मोटरसाइकल खरिद गरेर हस्तान्तरण गरेका हुन् । ती सबै मोटरसाईकल खरिद गर्दा नगरपालिकाले २० लाख २४ हजार १ सय रुपैयाँ खर्च बेहोरेको छ । रकम दुरुपयोगको चर्चा चल्न थालेपछि नगर प्रमुख जिरेलले त्यस्तो अवस्था देखिए रकम फिर्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

वडा कार्यालयको कामलाई छरितो बनाउन मोटरसाइकल खरिद गर्नुपरेकोे उनको दाबी छ । वडा कार्यालयलाई हस्तान्तरण गरिएका मोटरसाइकल वडा अध्यक्ष र वडा सचिवले कार्यालय र सरकारी काममा प्रयोग गर्न पाउने नियम बनाएको जिरी नगरपालिकाले जनाएकोछ ।

यता जिरी नगरपालिकाका कार्यकारी अधिकृत जगतप्रसाद भुसालले कार्यालय र सरकारी कामबाहेक अन्य काममा मोटरसाइकल दुरुपयोग गरेको देखिए वितरित ती साधन फिर्ता गर्ने प्रतिबद्धता जनाए । नगरपालिकाका वडा कार्यालयहरूमा वडा सचिवसमेत नभएका बेला वडाध्यक्षहरूले बुझेका मोटरसाइकल दुरुपयोग हुन सक्ने शंका नगरवासीको छ । स्थानीय तहको निर्वाचनपछि वडा कार्यालय व्यवस्थित हुन नसक्दा सामान्य सिफारिसका लागि पनि जनप्रतिनिधिको घरमै धाउनुपर्ने बाध्यता रहेको नगरवासीको गुनासो छ ।

पुरानो स्कार्पियो गाडी कार्यकारी अधिकृतले चढ्ने बताइएको छ । जिरी नगरपालिकासँग अब दुईवटा गाडी र नौवटा मोटरसाइकल सवारी साधनका रूपमा उपलब्ध भएको छ । नगरपालिकाबाट नगर प्रमुखदेखि वडा सदस्यसम्मले यसभन्दा अघिदेखि नै इन्धन सुविधा लिँदै आएका छन् । नगर प्रमुखले मासिक रूपमा १ सय २५ लिटर डिजेल, उपप्रमुखले २५ लिटर, वडाध्यक्षले १५ लिटर र वडा सदस्यले ७ लिटर पेट्रोल सुविधा लिएका छन् ।