सुरक्षा व्यवस्था कडा

विजय नेपाल / पोखरा

प्रदेश तथा प्रतिनिधिसभा दोस्रो चरण निर्वाचनका लागि प्रदेश ४ र ५ मा सुरक्षा व्यवस्था मजबुत पारिएको सुरक्षा निकायले जनाएको छ । ११ जिल्लाका १ हजार ५८१ मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मजबुद पारिएको क्षेत्रीय प्रशासक लक्ष्मणप्रसाद अर्यालले जानकारी दिए । उनले मंगलबार स्याङ्जा, तनहुँ र नवलपरासीका अति संवेदशनील मानिएका विभिन्न मतदानस्थलको अवलोकन गरेर सुरक्षा टोली पोखरा फर्केको र आवश्यक सुरक्षा व्यवस्था मजबुद रहेको बताए ।

सहरी क्षेत्रमा घटना भएको दुईदेखि पाँच मिनेटभित्रै र ग्रामीण भेगमा ३० मिनेटभित्र सुरक्षाकर्मी पुग्ने व्यवस्था मिलाइएको छ । मतदानस्थलमा सुरक्षाका लागि भित्री घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहनेछन् । बाहिरी घेरामा नेपाली सेनालाई खटाइनेछ । सशस्त्र प्रहरी र नेपाली सेनाले मतदान केन्द्रलाई १९ पटकसम्म अनुगमन गर्ने किसिमको सुरक्षा योजना रहेको छ ।

पोखरास्थित पार्दी मावि मतदानस्थलमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदानस्थलको तयारी थालिँदै । यो मतदानस्थलमा ४ हजार ९ सय २७ मतदाता छन् । तस्बिर ः विजय

यस प्रदेशमा स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सिके रावत, विप्लव माओवादी र खुला सीमा प्रमुख चुनौती मानिन्छन् । निर्वाचन बिथोल्न सम्भावित घटना हुन सक्ने भन्दै चुनौतीअनुरूप नै सुरक्षा योजना तयार पारिएको सुरक्षा निकायले जनाएको छ ।

अति संवेदनशील मतदानस्थलमा १५ जना, संवेदनशीलमा ११ जना र सामान्यमा आठ जना नेपाली प्रहरी र म्यादी प्रहरी परिचालित हुनेछन् । प्रदेश ४ मा मात्रै १४ हजार २०० सुरक्षाकर्मी परिचालित छन् । सशस्त्र प्रहरी र नेपाली सेनाले मतदान केन्द्रलाई १९ पटकसम्म अनुगमन गर्ने किसिमको सुरक्षा योजना छ ।

प्रदेश ४ मा २०५ मतदानस्थललाई अतिसंवेदशील मानिएकोमा अब दोस्रो चरणमा मात्र करिब सयवटा केन्द्र भौगोलिक विकटता, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको थ्रेट र खुला सीमाका कारण अति संवेदशील मानिएको छ । कास्कीमा मात्रै स्वयंसेवकबाहेक कुल २ हजार ५३३ जना कर्मचारी खटिएका छन् ।  प्रत्येक मतदान केन्द्रमा कम्तीमा नौदेखि बढीमा २७ जनासम्म सुरक्षाकर्मी खटिएका छन् ।

प्रदेश ४ का ५ जिल्ला कास्की, स्याङ्जा, तनहुँ, पर्वत र नवलपुरमा ६ सय ७१ र प्रदेश ५ का ६ जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा गरी ९१० मतदानस्थल कायम गरिएको छ । प्रदेश ४ मा मात्र करिब १० लाख ४ हजार मतदाताले भाग लिँदै छन् ।

यता, कास्कीमा २ लाख ५५ हजार ४५२ मतदाता छन् । कुल १५० मतदानस्थलमध्ये ३१७ मतदान केन्द्र तय गरिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

जिल्लामा १७ दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवार चुनावी मैदानमा छन् । कास्कीमा म्यादी र नेपाल प्रहरी गरी कुल ३ हजार सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी अशोक सिंहले जनाए । बाहिरी घेरामा आवश्यक सुरक्षार्थ सशस्त्र र नेपाली सेना परिचालित गरिएको छ ।

यस क्षेत्रका विभिन्न मतदानस्थलमा चुनावी सामग्री बोकेर कर्मचारी पुगिसकेका छन् भने उनीहरूले मंगलबारदेखि मतदाता परिचयपत्र वितरण थालेका छन् । उनीहरूले निर्वाचनका लागि सर्वदलीय बैठक डाक्नुका साथै मतदानस्थलमा किला गाड्ने र डोरी लगाउने काम थालेका छन् ।

केही ठाउँमा भने मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जनाए । प्रदेश ४ का कुल ११ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १८ र प्रदेशसभाका लागि ३६ जना उम्मेदवार प्रत्यक्षतर्फ निर्वाचित हुँदै छन् । समानुपातिकमा प्रतिनिधिसभातर्फ १२ र प्रदेशसभामा २४ गरी कुल ९० जना सदस्य निर्वाचित हुने व्यवस्था छ ।