‘जितपुर सिमरालाई समृद्ध र मेघा सिटी बनाउँछु’

‘जितपुर सिमरालाई समृद्ध र मेघा सिटी बनाउँछु’

दुई महिनाअघि जितपुर सिमरा उपमहानगरपालिकाको नगरप्रमुखमा निर्वाचित डा. कृष्ण पौडेल यतिबेला चर्चाको शिखरमा छन् । उनको काम गर्ने शैली र स्वच्छ छवि नै चर्चाको कारण बनेको छ । राजनीतिक एवं सहकारी तथा सामाजिक अभियन्ताका रूपमा काम गरेका डा. पौडेल यसअघि चर्चामा नआएका होइनन् । शिक्षण पेसाबाट सहकारी क्षेत्रमा प्रवेश गरेका डा. पौडेलले सहकारी विषयमा विद्यावारिधी गरेका छन् । प्रदेश २ को एक महानगर र तीन उपमहानगरमध्ये एक जितपुर सिमरा उपमहानगरमा नगरप्रमुखको उम्मेदवारी दिँदै गर्दा उनको जित निश्चित रहेको आँकलन गरिएको थियो । उपमहानगरका २४ वडामध्ये १७ वडा नेकपा एमालेले गुमाउँदा डा. पौडेल २ हजार ८ सय ३४ मतान्तरले विजयी भए । महानगर र उपमहानगरमा एमालेका उनी मात्रै विजयी भए । बौद्धिक, सहकारीकर्मी, पारदर्शी जीवनशैली, सबैसँग मिलेर काम गर्ने खुबी र सफल योजनाकारको छविकै कारण उनी जितपुर सिमराको प्रथम नगरप्रमुख बन्न सफल भएका हुन् । पूर्वाधारका हिसाबले निकै कमजोर रहेको उपमहानगरलाई मेघा सिटी बनाउने महŒवाकांक्षी योजना र अवधारणासहित समृद्धिको अभियानमा रहेका डा. पौडेलसँग राजधानीका बारा संवाददाता कृष्ण सिग्देलले गरेको कुराकानीको सम्पादित अंश:

 

 डा. कृष्ण पौडेल, प्रमुख
जितपुर सिमरा उपमहानगरपालिका

तपाईंको लोकप्रियताका बारेमा केही भन्नोस् न ?

मेरो लोकप्रियता मैलेभन्दा पनि आमनागरिककले भन्ने कुरा हो । मैले निर्वाचित हुनुभन्दा अघिनै भोजपुरी भाषालाई उपमहानगरको दोस्रो कामकाजको भाषा बनाउने घोषणा गरिसकेको छु । जुन घोषणालाई यहाँका सबैले मन पराउनुभयो । पहाडी समुदायका भएर पनि मैले भोजपुरी भाषालाई प्राथमिकतामा राख्दै कार्यालयको कामकाजको भाषा बनाएपछि मधेसी समुदायको पनि सहानुभूति प्राप्त हुन पुग्यो ।

२४ वडामध्ये १० नेकपा माओवादी केन्द्र, सात नेकपा एमाले, पाँच नेपाली कांग्रेस र २ राष्ट्रिय जनता पार्टीले जित हासिल गरेको अवस्थामा सबैको भावनालाई समेट्दै डेढ महिना नबित्दै प्रथम नगरसभासमेत सम्पन्न गर्ने कार्य आफंैमा चुनौतीपूर्ण थियो । प्रदेश २ को स्थानीय तहमध्ये नगरसभा सम्पन्न गर्ने पहिलो स्थानीय तह जितपुर सिमरा उपमहानगर रहेको छ । निर्वाचित भएको करिब डेढ महिना, कार्यपालिकाले काम सुरु गरेको १ महिना र १५ दिनको सघन तयारीमा दीर्घकालीन तथा अल्पकालीन योजना, वार्षिक बजेट तथा कार्यक्रमसहित प्रथम नगरसभा सम्पन्न गरेपछि पनि मलाई यहाँका नागरिकले मनपराएको हुनुपर्छ ।

उपमहानगरको कार्यपालिकामा अल्पमतमा रहेर पनि कार्यपालिका सदस्य र नगरसभा सदस्यको मन जितेर सर्वसम्मत निर्णयका साथ समृद्धिको खाका कोर्ने कार्य जटिल थियो । छिटै र सहज रूपमा नगरसभा सम्पन्न होला भन्ने कुराको अनुमान गर्न कठिन थियो । त्यो कठिनाइको व्यवस्थापन गरेर अघि बढेपछि जितपुर सिमरा समग्र विकासको ट्र्याक अघि बढ्यो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलगत्तै कार्यान्वयन प्रक्रिया अघि बढ्छ र परिणाम आउन थाल्छ भन्नेमा दुई मत छैन । जितपुर सिमराको बहुआयामिक विकासलाई तीव्र बनाएर समृद्ध महानगरको आधारशिला खडा गर्ने प्रतिबद्धताका साथ उपमहानगरलाई मेघा सिटी बनाउन सकिने महŒवाकांक्षी योजनालाई जनताले मनपराएको जस्तो लाग्छ । यिनै कुराले गर्दा लोकप्रियजस्तो लागेको हुन सक्छ ।

जितपुर सिमरा उपमहानगरको प्रथम नगरप्रमुख भएपछि कसरी काम गरिरहनुभएको छ ?

राजनीतिक कार्यकर्ता, सहकारीकर्मी पेसाले लेखापरीक्षक अनि विभिन्न सामाजिक अभियानमा संलग्न भइरहँदा यस्तै व्यस्त थिएँ । अब अहिले प्रदेशकै अति सम्भावना बोकेको उपमहानगरको कार्यभार सम्हालिरहँदा व्यस्तता नहुने कुरै भएन । परिवर्तनले सिर्जना गरेको अत्यन्त महŒवपूर्ण अवसर जितपुर सिमरा उपमहानगरको प्रथम नगरप्रमुख भएपछि मेरा दिनचर्या र कामको प्राथमिकता फेरिएको छ । बिहानदेखि करिब मध्यरातसम्म उपमहानगर र नगरप्रमुखको जिम्मेवारीमा मेरो समय केन्द्रित भएको छ ।

पहिलोपटक ठूलो भूगोल र जनसंख्या, पूर्वाधार र समग्र विकासका हिसाबले कमजोर धरातलमा उभिएको जितपुर सिमरा उपमहानगरको पहिलो नगरप्रमुखको रूपमा निर्वाचित भएको छु । संविधानले दिएका असीमित अधिकारसहितको स्थानीय सरकारको प्रमुखको कामलाई संयोजन गरेर अघि बढिरहेको छु । मुलुकमा रहेका तीन तहका सरकारमध्ये स्थानीय सरकार र प्रमुखको अधिकार फरक र विशिष्ट छ । यो स्थिर सरकार पनि हो किनभने यसलाई आफ्नो अवधिसम्म काम गर्न पाउने अधिकार छ अर्थात् अविश्वास प्रस्ताव वा कुनै किसिमले सरकार फेर्न सकिँदैन । त्यस्तै नगरप्रमुखलाई स्थानीय व्यवस्थापिका–संसद् अर्थात् नगरसभा प्रमुखको अधिकार र अन्य सम्मानित जिम्मेवारी दिइएको छ । पहिलोपटक यस्तो सरकार र प्रमुखको अवधारणामा काम सुरु हुँदै छ । त्यस्तै संविधानतः दिइएको अधिकार अझै पूर्ण प्रयोगमा आइसकेको छैन ।

अधिकार प्रयोगमा आउन नदिने वा कटौतीका अभ्यासहरू पनि देखिँदै छ । प्रतिनिधिसभा र प्रदेशसभा नभएको कारण पनि हामीलाई कतिपय कानुनहरू अभावका कारण काम गर्न कठिनाइ भइरहेको छ । जनताका असीमित आकांक्षाहरूलाई सम्बोधन गर्नुपर्ने तीव्र दबाबमा हामी छौं र त्यसलाई क्रमशः पूरा गर्दै जाने प्रक्रिया आरम्भ गरिसकेका छौं । उपमहानगरको सबै कामलाई संयोजन गर्ने, सबै भूगोल र आमनागरिकबीच पुग्ने अनि नियमित तथा विभिन्न खालका जिम्मेवारीहरूको चापमा काम गर्दै छु ।

आउदाआउँदै संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थानीयकरण गर्न र नागरिकलाई स्थानीय सरकार र सुशासनको अनुभूति दिनका लागि सबै वडा कार्यालयहरू स्थापना ग¥यौं । भोजपुरी भाषालाई दोस्रो कामकाजको भाषा बनाउनेदेखि लिएर नियमित कामलाई तीव्रता दिन प्रयत्नशील रह्यौं । विकास निर्माण, सुशासन र सामाजिक न्यायका सम्बद्ध पक्षहरूबीचको सम्बन्ध विस्तार गर्ने र प्रभावकारी बनाउने कार्यमा पनि हामी लाग्यौं । मुख्यतः छोटो समयमा नगरसभा सम्पन्न गर्नु नै महŒवपूर्ण उपलब्धिका रूपमा लिएको छु ।

पूर्वाधारको अवस्था कस्तो छ, उपमहानगर घोषणा हुनुको मापदण्ड जनसंख्या र भूगोल मात्रै देखिन्छ, यस्तो उपमहानगरलाई समृद्ध महानगर र मेघा सिटी बनाउन सकिन्छ र ?

उपमहानगरमा स्तरोन्नतिको समय भएको थिएन । यो हाम्रो माग पनि थिएन । स्थानीय तह पुनःसंरचनाको क्रममा टुक्र्याउने वा नटुक्र्याउने बहसको क्रममा एकाएक भूगोल थपिएर उपमहानगर बन्न पुग्यो । जितपुर र सिमरा सामान्य बजार भए पनि भूगोल र मानव विकासका कुनै पनि सूचक उपमहानगरलायक छैन । बाटो, पुल, पूर्वाधार, सामाजिक तथा मानव विकासका सूचकहरू कमजोर छन् । आन्तरिक आयको अवस्था झनै कमजोर छ । हामी उपमहानगरमा प्रवेश गरिरहँदा आन्तरिक आय, प्रणाली र कार्यमा अनेकौं समस्याहरू देख्यौं । २५ वर्षदेखि जनप्रतिनिधिविहीनको अवस्थाले पनि होला, उपमहानगरको स्थिति अत्यन्त कमजोर पायौं । तर पनि विकासका उच्चतम सम्भावनाहरू छन् । अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं जोड्ने द्रुतमार्ग, विशेष आर्थिक क्षेत्र, पथलैया–वीरगन्ज ६ लेन सडक, पूर्व–पश्चिम रेलवेलगायत राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनाहरू, पर्सा राष्ट्रिय निकुन्ज, वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर यही छ । यहाँका बहुआयामिक सम्भावना र विकासको पछिल्लो दुई दशकको अनुभवका आधारमा विकासको प्रक्रियालाई तीव्र बनाउँदा समृद्ध महानगरको आधारशीला खडा गर्न सक्छौं भन्ने लागेको छ । त्यति मात्रै होइन, दक्षिणतर्फ आर्थिक राजधानी वीरगन्ज महानगर, मुलुककै लाइफलाइन, उत्तरतर्फ हेटौंडा महानगर अनि पूर्वतर्फ एयरपोर्ट र फास्ट ट्र्याक निजगढसम्म विस्तारित हुने सम्भावनाले मेघा सिटीको केन्द्र बनाउन सकिनेछ । यो भनिरहँदा मलाई मेरै बोर्डका सदस्यले समेत खिसी गर्छन् । तर मलाई विश्वास छ, हामी दीर्घकालीन योजनासहित काम गर्ने हो भने यो पूरा गर्न सक्छौं ।

फरक आस्था राख्नेहरूको बाहुल्यताबीच छोटो अवधिमा प्रथम नगरसभा सम्पन्न गरेर प्रदेश २ मा रेकर्ड ब्रेक गर्नुभयो, कसरी सम्भव भयो ?

वास्तवमा म अल्पमतको प्रमुख निर्वाचित भएँ । २४ मध्ये १७ वार्ड हारेर पनि फराकिलो मतान्तरले निर्वाचित भएको प्रमुख । तथापि मलाई विश्वास थियो कि विकासको मामिलामा सबैलाई सहमत गराएर लैजान सक्छु भन्ने । एमाले र माओवादी केन्द्रबीचको सहकार्यले मलाई सजिलो बनाएकै हो । सुरुका दिनमा मलाई अप्ठ्यारो भयो । पहिलो बैठकले नै सबै वडा कार्यालयमा वडा कार्यालयहरू खोल्ने, सामान्य मर्मत सुधारका योजनाहरू अघि बढाउने कार्यसँगै प्रथम नगरसभाको मिति तोक्यौं । निर्वाचित भएलगत्तै विधि, प्रक्रिया र प्रणाली अघि बढाउन व्यवस्थापिका–संसद्को रूपमा रहेको नगरसभामा जानु जरुरी ठान्यौं । समृद्धिको मामिलामा आस्था, भूगोल र समुदायबाट माथि उठ्न मैले पटकपटक अनुरोध गरें । कार्यपालिका मेरो लाइनमा कन्भिन्स भयो । हामीले सबै काम फास्ट ट्र्याकमा अघि बढायौं ।

निर्वाचित भएको करिब डेढ महिना, कार्यपालिकाले औपचारिक रूपमा काम सुरु गरेको एक महिना र सघन तयारीको १५ दिनमा नगरसभा सम्पन्न ग¥यौं । कार्यपालिकाका साथीहरू कन्भिन्स भएपछि नगरसभा सफल गर्न कठिन भएन । दीर्घकालीन तथा अल्पकालीन योजनासहित प्रथम नगरसभा सफल भएपछि अबको जितपुर सिमराको समृद्धिको प्रक्रिया अघि बढेको छ । नगरसभाको सफलताले एकप्रकारले भन्ने हो भने मलाई ब्रेकथ्रु नै दिएको छ ।

उपमहानगरको समृद्धिमा तपाईंको प्राथमिकता के हो र विकासको कामलाई कसरी संयोजन गर्दै हुनुहुन्छ ?

यो उपमहानगरको समृद्धिमा मेरो सबैभन्दा पहिलो प्राथमिकता यातायात सञ्जाल नै हो । सडक बहुआयामिक समृद्धिको आधार रहेछ । त्यसैले उपमहानगरलाई दुई तहको चक्रपथसहित सबै वडा र टोल जोड्ने सडकलाई फराकिलो र पक्की बनाउने कुरालाई जोड दिएका छौं । हामीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक तथा सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेका छौं ।

भोजपुरी भाषालाई दोस्रो कामकाजको भाषा बनाउनेदेखि लिएर नियमित कामलाई तीव्रता

                बाटो, पुल, पूर्वाधार, सामाजिक तथा मानव विकासका सूचक नाजुक र कमजोर अवस्थामा

                पूर्वपश्चिम रेलवेलगायत राष्ट्रिय गौरव र प्राथमिकताका आयोजना, पर्सा राष्ट्रिय निकुञ्ज, वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर यसै क्षेत्रमा केन्द्रित रहेकाले सबैको चासो

                शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक तथा सहकारी क्षेत्रलाई प्राथमिकतामा

                जितपुरमा २ सय शøयाको अस्पताल, टर्मिनल बसपार्क, बिजनेस टावर, सिमरामा रंगशाला, कभर्डहल, टाउनहल, बिजनेस टावर, अमलेखगन्ज पर्यटनकेन्द्र, डुमरवाना, फत्तेपुर, इनर्वासिरा र जैतापुरमा कृषि बजार बनाइने

                समृद्ध महानगर बनाउनका लागि दिगो विकास रणनीति, व्यवस्थित एवं चरणबद्ध योजना र प्रभावकारी कार्यान्वयनमा अघि बढ्दै

राष्ट्रिय गौरव र प्राथमिकताका आयोजना निर्माण प्रक्रिया सुचारु र तीव्र बनाउन केन्द्र सरकार र सम्बन्धित पक्षलाई दबाब दिएका छौं । ती आयोजनाको निर्माण प्रक्रिया अघि बढिरहँदा त्यसको प्रभाव सिंगो जितपुर सिमरा उपमहानगरमा पर्नेछ । हामीले उपमहानगर हुनका लागि आवश्यक पूर्वाधार योजना र बजेट विनियोजनसमेत गरेका छौं । जितपुरमा २ सय शøयाको अस्पताल, सर्पदंश उपचार केन्द्र, टर्मिनल बसपार्क, बिजनेस टावर, स्मारकसहित ग्रिनपार्क, पशु बधशाला, सिमरामा रंगशाला, कभर्डहल, टाउनहल, बिजनेस टावर, अमलेखगन्ज पर्यटन केन्द्र, डुमरवाना, फत्तेपुर, इनर्वासिरा र जैतापुरमा कृषि बजार बनाउनेछौं । नदीहरूको नियन्त्रण र जग्गा व्यवस्थापनमा ध्यान दिनेछौं । उद्योग कलकारखानाहरूको अवस्था सुदृढ बनाउँदै प्रदूषण नियन्त्रण र फोहोरमैला व्यवस्थामा ध्यान दिइनेछ ।

त्यस्तै सामाजिक विकासका सूचकहरूलाई पनि व्यवस्थित गर्नेछौं । समस्त नगरवासीहरूको चिन्तन, खानपिन, दिनचर्या र जीवनशैलीमा परिवर्तन ल्याउनका लागि रणनीतिक रूपमा काम गर्नेछौं । स्थानीय श्रम, सीप र आवश्यकतामा आधारित क्षमताविकास र आयआर्जनका कामहरूमार्फत गरिबी न्यूनीकरण र बेरोजगारी समस्या हल गरिनेछ । पर्यटन, सहकारी तथा कृषिको सशक्तीकरणमार्फत समुदायको जीवनस्तरमा परिवर्तनमा ध्यान दिइनेछ ।

नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य सेवा घरदैलोमा पु¥याउने, शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउने, प्राविधिक तथा स्वरोजगारमूलक शिक्षालाई प्राथमिकता दिनेछौं । व्यवस्थित र योजनाबद्ध सहरी विकासका लागि एकीकृत सहरी विकास योजना र सहरी विकास कोरिडोरको अध्ययन प्रक्रिया अघि बढिसकेको छ । उपमहानगरको आन्तरिक आयको अवस्थालाई सुदृढ गर्नका लागि एकीकृत सम्पत्ति करलगायत कर प्रणालीलाई सरल र फराकिलो बनाउने कुरालाई ध्यान दिइरहेका छौं ।

छोटो अवधिमा नीति तथा कार्यक्रम र झन्डै ८५ करोडको बजेट पेस भएको छ । कार्यान्वयनमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

हामी कार्यान्वयनमा पनि पूर्ण रूपले विश्वस्त छौं । कार्यान्वयनलाई मध्यनजर गरेर नै नगरसभा छोटो अवधिभित्र गरेका हौं । बजेटको ठूलो हिस्सा सामाजिक सुरक्षाभत्ता, शिक्षक तथा गाभिएर आएका सरकारी सेवाका कार्यालयका कर्मचारीहरूको तलब सुविधा र उपमहानगरकै प्रशासनिक खर्चसँग सम्बन्धित छ । कर्मचारीको संख्या न्यून रहेको र अवधि पनि अत्यन्त छोटो भएको कारण कार्यान्वयनमा केही समस्या देखिँदै छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलगत्तै बजेटको कार्यान्वयन सुरु हुनेछ । हामीलाई यहाँको विकासका लागि यो स्रोतले पुग्दैन । त्यसका लागि केन्द्र र प्रदेश सरकार बनेलगत्तै केन्द्र तथा प्रदेशबाट बजेट तथा कार्यक्रम ल्याउनका लागि ध्यान दिनेछौं ।

उपमहानगरवासीको चाहना छिटोभन्दा छिटो विकास होस् भन्ने छ, के भन्न चाहनुहुन्छ ?

हामीले छोटो अवधिमा नै प्रथम नगरसभा गरेर दीर्घकालीन तथा अल्पकालीन रणनीति, विकास कार्यक्रम र बजेट विनियोजनसमेत गरिसकेका छौं । यो सुरुवात मात्रै हो, नागरिकका सबै आकांक्षाहरू पूरा गर्ने प्रक्रिया अघि बढेको छ । हामी तपाईंहरूकै घरदैलोमा नै छौं । हाम्रै पालामा समृद्ध महानगर बनाउनका लागि दिगो विकास रणनीति, व्यवस्थित र चरणबद्ध योजना एवं प्रभावकारी कार्यान्वयन गर्दै अघि बढ्नेछौं । उपमहानगरवासीका चाहना धेरै छन् मैले बुझेको छु । उपमहानगरवासीले अनुभूति हुने गरी काम अघि बढ्दै जानेछ, म विश्वास दिलाउन चाहन्छु ।