समानुपातिकमा पनि एमाले पहिलो

राजधानी संवाददाता / खोटाङ

खोटाङमा समानुपातिकतर्फको मतगणनामा एमाले पहिलो भएको छ । बुधबार बिहान समानुपातिकको घोषित अन्तिम मतपरिणामअनुसार एमाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य दुवैमा पहिलो भएको हो ।

कुल १ लाख २५ हजार १ सय ८ मतदाता रहेको खोटाङमा एमालेले २४ हजार १ सय ३४, कांग्रेसले २० हजार ७ सय १८, माओवादी केन्द्रले १२ हजार ४ सय ३३ र संघीय समाजवादी फोरमले २ हजार ४ सय ५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

यस्तै, प्रतिनिधिसभामा राप्रपाले ९ सय ३२, नयाँ शक्तिले ७ सय २७, नेकपा मालेले ५ सय ६६, राप्रपा प्रजातान्त्रिकले ३ सय ६ मत पाएका छन् । एमालेले प्रतिनिसभामा ३ हजार ४ सय १६ तथा प्रदेशसभामा ४ हजार ४ सय ९८ मतले कांग्रेसलाई पछि पारेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, प्रदेशसभातर्फको समानुपातिकमा एमालेले २१ हजार ३ सय ४९, कांग्रेसले १६ हजार ८ सय ६१, माओवादी केन्द्रले १३ हजार ५ सय २०, राप्रपाले ३ हजार १ सय ७२, संघीय समाजवादी फोरमले २ हजार १ सय ४१, नेकपा मालेले ९ सय ६९ मत पाएको छ ।

यस्तै, नयाँशक्तिले ७ सय ५४, राप्रपा प्रजातान्त्रिकले ६ सय ६८, राजपाले ४ सय ४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गत १० मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा ३६ हजार ९ सय ५६ प्रदेशसभा (क) मा ३६ हजार ५ सय ५४ र प्रदेशसभा (ख) मा ३४ हजार ६ सय ९८ मत खसेको थियो ।

१३ उम्मेदवारको जमानत जफत

गत १० मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खोटाङबाट उम्मेदवार बनेका १९ जनामध्ये १३ जना उम्मेदवारको जमानत जफत भएको छ । वाम गठबन्धन र लोकतान्त्रिक गरी दुई ध्रुवमा बाँडिएको निर्वाचनमा खोटाङमा कुनै पनि निर्वाचन क्षेत्रमा दुई जनाभन्दा बढीले जमानत बचाउन सकेका छैनन् ।

खोटाङमा १ प्रतिनिधिसभा र २ प्रदेशसभा गरी तीनवटा सिटका लागि १९ जना प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतिनिधिसभामा १० जना उम्मेदवारमध्ये विजयीबाहेक एक जनाको मात्रै जमानत जोगिएको छ । वाम गठबन्धनका विशाल भट्टराई ३५ हजार ३ सय ७६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरस्वती बजिमयले २१ हजार ६ सय १३ मत ल्याइन् । बाँकी आठ जनाको जमानत जफत भयो ।

अछाममा कांग्रेस अगाडि

अछाम / रास– अछाममा समानुपातिकतर्फको मतगणना जारी रहेको छ । सो मतगणनामा हालसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसले एमालेलाई उछिनेको छ ।

२ प्रतिनिधिसभा र ४ प्रदेशसभा गरी ६ वटै क्षेत्र वाम गठबन्धनले जितेको अछाममा समानुपातिकतर्फको हालसम्मको मत परिणामअनुसार भने प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा कांग्रेस एमाले भन्दा झिनो मतान्तरले अगाडि देखिएको छ ।

अछाम–१ र २ का १९ हजार ६ सय ३ मत गनिसक्दा हालसम्म कांग्रेसले समानुपातिकमा प्रतिनिधिसभातर्फ ८ हजार ६ सय ४१ मत पाएको छ भने नेकपा एमालेले ८ हजार ३१ मत पाएको छ । त्यस्तै प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रले १ हजार २ सय ७३ मत पाएको छ । जारी मतगणनाअनुसार प्रदेशसभातर्फ समेत ७ हजार ५ सय १ मतसहित कंग्रेसले अग्रता हासिल गर्दा एमालेले ६ हजार ७ सय ७१ मतसहित कांग्रेसलाई पछ्याइरहेको छ । प्रदेशसभामा माओवादी केन्द्रले २ सय ४७ मत प्राप्त गरेको छ ।

समानुपातिकतर्फको जारी मतगणनामा बदर मतको संख्या भने अधिक रहेको पाइएको छ । हालसम्म १९ हजार ६ सय ३ मत गणना भएकोमा प्रतिनिधिसभातर्फ १ हजार ३ सय ५६ र प्रदेशसभातर्फ १ हजार ८८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अछामले जनाएको छ । बदर मतमध्ये अधिकांशमा सूर्य र गोलाकारभित्रको हँसिया हथौडा दुवैमा मत दिएको पाइएको कार्यालयले जनाएको छ ।