प्रत्यक्षमा भन्दा समानुपातिकमा बदर बढी

राजधानी संवाददाता  / मोरङ

गत २१ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएसँगै मतदाता शिक्षाको लगानीको उपलब्धिमुलक नभएको बताइएको छ ।

मोरङमा क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले मतदाता शिक्षाका लागि सवा करोडभन्दा बढी रुपैयाँ खर्च गरेको थियो । मतदाता शिक्षाका लागि १ करोड २५ लाख १३ हजार रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ । यद्यपि मोरङमा मत बदरको संख्या पनि निकै ठूलो छ । अझ प्रत्यक्षभन्दा समानुपातिकतर्फ बदर मतको संख्या बढी पाइएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षमा कुल खसेको ४ लाख ६५ हजार ३४ मतमध्ये ४ लाख ४० हजार ३ सय ९० मत सदर भएको थियो । प्रतिनिधिसभामा २४ हजार ६ सय ४४ मत बदर भएको थियो । प्रतिनिधिसभामा बदर मतको प्रतिशत ५ दशमलव ३ प्रतिशत रहेको छ ।

प्रदेशसभाको प्रत्यक्षतर्फ ४ लाख ६४ हजार ३ सय ३६ मत खसेकोमा ४ लाख ४४ हजार मत सदर भएको थियो । प्रदेशसभातर्फ २० हजार ३ सय ३६ मत बदर भएको थियो । प्रदेशसभाको बदरमत प्रतिशत ४ दशमलव ३७ प्रतिशत रहेको छ । प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा बदर मत कम छ । प्रदेशसभाको प्रत्यक्षतर्फ प्रतिनिधिसभाको भन्दा कम मत पनि खसेको थियो ।

यसैगरी प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फ बदर मत प्रत्यक्षको भन्दा झन्डै दोब्बर छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ ९ दशमलव ०५ प्रतिशत मत बदर भएको छ । कुल खसेको ४ लाख ५९ हजार १ सय ७२ मतमध्ये ४ लाख १७ हजार ६ सय १ मत मात्र सदर भएको छ ।

प्रतिनिधिसभाको समानुपातिकमा २७ हजार ३ सय ९९ मत बदर भएको छ । प्रदेशसभाको समानुपातिकतर्फ १४ दशमलव २ प्रतिशत मत बदर भएको छ । प्रदेशसभाको समानुपातिकतर्फ ४ लाख ५९ हजार ७२ मत खसेकोमा ३ लाख ९३ हजार ९ सय २९ मत सदर भएको छ । ६५ हजार २४३ मत बदर भएको छ ।