यसरी टुट्छन् किशोरीका सपना

यसरी टुट्छन् किशोरीका सपना

कमला अर्याल

उडायो सपना सबै हुरीले, १६ वर्षीया सरिता (नाम परिवर्तन) का सपना फुल्न नपाउँदै हुरीले भताभुंग बनायो । सुदूरपश्चिमको दुर्गम गाउँबाट काठमाडौं झर्दा मनभरि सपना बुनेर झरेकी थिइन् सरिता । भविष्यमा पढेर देशको सेवा गर्ने ठूलो सपना दियो उनको । तर, उनको सपना त्यतिबेला हुरीले उडायो, जतिबेला संरक्षक लोकराज पाण्डेले पटक पटक यौन शोषण गर्न थाले । काठमाडौंमा आफ्नो कोही नभएकाले लोकराजले आफ्नो संरक्षणमा सरितालाई पढाइदिने भन्दै त ल्याए तर संरक्षण दिने नाममा सरिताको यौन शोषण गर्थे । ‘तँ अब मेरी कान्छी भइस् भन्दै पटक पटक जबरजस्ती गर्नुहुन्थ्यो,’ सरिताले भनिन् । त्यति मात्रै होइन लोकराजले तेरो बुबालाई मारिदिन्छु भनेर धम्क्याउने पनि गर्थे उनलाई । सरिता भन्छिन्, ‘कसैलाई भनिस् भने तेरो बाबालाई मारिदिन्छु भन्नुहुन्थ्यो ।’ बुबाको ज्यान जाने डरले पनि सरिताले कसैलाई भनिनन् । सरिताको संरक्षकको खोल ओढेका लोकराज पेसाले व्यापारी हुन् । काठमाडौंमा लोकराजको सजावटका सामग्रीको पसल छ ।

काठमाडौंमा सरिताका आफन्त कोही थिएनन् । कैलाली धनगढी उपमहानगरपालिका स्थायी घर भएको लोकराजले सरितालाई पढाइदिन्छु, ठूलो मान्छे बनाइदिन्छु भन्दै काठमाडौं लिएर ल्याएका थिए । २०७२ सालमा उनले सरितालाई काठमाडौं ल्याएका थिए । घरको आर्थिक अवस्था कमजोर भएकाले पढेर आफ्नो भविष्य बनाइदिने लोभ देखाएपछि सरिताका बाबुआमाले पनि उनलाई लोकराजको साथ लगाएर काठमाडौं पठाइदिए ।
घरमा आर्थिक अवस्था कमजोर र छोराछोरी धेरै भएकाले अर्काको घरमा काम गर्न पठाउन बाध्य थिए, सरिताका आमाबुबा । जबदेखि सरिता उसको घरमा बस्न थालिन्, तबदेखि लोकराजका कुदृष्टि उनीमाथि पर्न थाले । श्रीमती घरमा नभएको मौका छोपी उसले सरितालाई जबजस्ती गर्थे । उसको पेसा व्यवसाय भएकाले जतिबेला पनि समय निकाल्न सक्थे । त्यही मौका छोपेर घर आएर सरितासंँग उनले जबरजस्ती गर्थे । ‘अंकल घरमा कोही नभएका बेला मलाई जबर्जस्ती गर्नुहुन्थ्यो,’ सरिताले पीडा पोखिन् । लोकराजकी श्रीमतीलाई उनको कुकृत्यको जानकारी नभएको सरिताको भनाइ छ । त्यति मात्रै होइन, लोकराजले सरितालाई थुप्रै सपना पनि देखाएका थिए । स्टाप नर्स पढाएर अमेरिका पठाइदिन्छु भनेर सपना देखाउँदै उनले सरितालाई जबर्जस्ती गरिरहन्थे । तर, लोकराजले देखाएको सपनाभन्दा फरक थियो सरिताको दैनिकी ।

घरको सबै काम सक्दा राति १०÷११ बज्थ्यो । पढ्ने समय पनि हुँदैनथ्यो उनलाई । मौका मिल्यो कि श्रीमतीको आँखा छलेर लोकराज आफ्नो यौन इच्छा पूरा गर्न आइहाल्थे । जाऊँ भने कहाँ जाऊँ, नजाऊँ भने दिनरातको शारीरिक तथा मानसिक पीडाले विक्षिप्त भएकी थिइन् सरिता । कहिले त्यो पापीको पन्जाबाट उम्कउँला जस्तो हुन्थ्यो उनलाई । उनले भनिन्, ‘त्यहाँबाट उम्कन पाइएला जस्तो लागेको थिएन ।’ एक दिन स्कुलमा रोइरहेका बेला उनकी साथी रमा भनिने सोनिया श्रेष्ठले के भयो ? भनी सोधेपछि सरिताले सोनियाँलाई आफूले भोगेको यौन हिंसाबारे सबै वास्तविकता बताइन् ।
उनीहरू बानेश्वरको एक सरकारी स्कुलमा अध्ययन गर्थे । घटना घट्दा सरिता कक्षा आठमा अध्ययनरत थिइन् । सोनिया भन्छिन्, ‘सरिताले रुँदै अंकलले मलाई पटक पटक जबर्जस्ती गर्नुहुन्छ भनेपछि हामीले स्कुलमा भनेका हौं ।’ लोकराजले संवेदनशील अंगहरूमा छुने गरेको समेत सरिताले आफूलाई बताएको सोनियाको भनाइ छ । स्कुलका साथीले स्कुलमा भनेपछि घटनालाई बाहिर ल्याउन सजिलो भयो । सो स्कुलका प्रधानाध्यापक गणेश राइले भने, ‘हामीले उनलाई यौनजन्य दुव्र्यहार भएको विद्यार्थीबाट सुनेका हौ ।’

स्कुल र समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) को सहयोगमा काठमाडौं जिल्ला अदालतमा २६ फागुन २०७३ मा लोकराजविरुद्ध जबर्जस्ती करणीको मुद्दा चलाइयो । मुद्दा दर्ता नगर्न सरिताका पक्षलाई धेरै दबाब आयो । सरिताका बाबु स्वयं आर्थिक प्रलोभनमा परेर मुद्दा लड्न सहयोग गरेनन् । लोकराजविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता भइसकेको छ । त्यस विषयमा अझै बहस चलिरहेको छ । दोषीलाई थुनामा राखिएको छ । मुद्दाको फैसला भइनसकेकाले लोकराजलाई सजाय तोकिएको छैन ।
घरमा काम गर्ने त्यस्ता किशोरीको आफ्नो कोही बलियो पक्ष नभएकाले पनि त्यस्ता घटना बढ्ने गरेको अधिवक्ता बिना दाहाल बताउँछिन् । ‘धनी र सभ्रान्त वर्गबाटै किशोरीमाथि यौनजन्य दुव्र्यवहार बढेका छन््,’ उनले भनिन् । अधिवक्ता दाहाल सरिताको मुद्दा लडिरहेकी छन् । उनले केही समयमै सरिताको मुद्दाको किनारा लाग्ने बताइन् ।

त्यसैगरी, सरिताको मात्रै होइन, १५ वर्षीया उषा (नाम परिवर्तन) का पनि सपनाहरू उसैगरी हुरीले उडाएको छ । चार वर्षअघि १२ वर्षको कलिलो उमेरमा मनभरि मीठामीठा सपना बुनेर गाउँबाट काठमाडौं आएकी उषाको जीवनमा पनि कम्ती बज्रपात परेन । कहिल्यै काठमाडौं नदेखेकी उषाले गाउँबाट काठमाडौं आउने बसको झ्यालपट्टि बसेर सपनाको सहरबारे मनमा थुप्रै कुरा गुनेकी थिइन् । उनी भन्छिन्, ‘गाडीको झ्यालमा बसेर काठमाडौंको बारेमा धेरै कुरा सोचेर मनमा उत्साह जागेको थियो ।’ तर, त्यो उत्साहले पूर्ण रूप लिन नपाउँदै सबै सपनामा तुषारपात भयो ।
उनलाई पनि सरितालाई जस्तै मोरङ पुरानो बेलबारी निवासी भरत कार्कीले पढाइलेखाइ गराइदिन्छु, ठूलो मान्छे बनाइदिन्छु भन्दै काठमाडौं ल्याएका थिए । घरको सामान्य काम गर्ने हो, आत्तिनुपर्दैन भन्दै उषाका बाबुआमालाई आश्वस्त पारेर उषालाई काठमाडौं ल्याएका थिए भरतले । आफ्नी छोरीले पढ्न पाउने, मीठो मसिनो खान पाउने र सुख पाउने भएपछि बाबुआमाले पनि उषालाई काठमाडौं जान तुरुन्तै अनुमति दिए । सुरुसुरुका वर्षमा त उषालाई खासै समस्या भएन ।
खानलाउन पनि राम्रै थियो । अरू कुनै खालको समस्या पनि थिएन । तर, जति समय बित्दै गयो, त्यति उनीमाथि बज्रपात पर्न थाल्यो । उनकै संरक्षकको यौन हिंसामा पर्न थालिन् उषा । घरमा कोही नभएको मौका छोपी भरतले उषामाथि जबर्जस्ती गर्थे ।
‘दिउँसो घरमा कोही नभएको बेलामा अंकलले ममाथि जबर्जस्ती गर्नुहुन्थ्यो,’ उषाले भनिन् । भरत कुमारीपाटी ललितपुरको सगरमाथा फाइनान्समा कार्यरत थिए । उनले उषालाई चलचित्रको हिरो भेटाइदिने भन्दै जबर्जस्ती गर्ने गर्र्थे ।

उषा भन्छिन्, ‘नेपाली चलचित्रको हिरो भेटाइदिन्छु भन्दै धेरैपटक जबर्जस्ती गर्नुभयो ।’ कसैलाई नभन्न भरतले पटक पटक दबाब दिइरहन्थे उषालाई । ‘तिमीलाई धेरै पैसा दिन्छु, कसैलाई पनि नभन है, यस्तो कुरा भन्नु हुँदैन,’ भरत उनलाई ललाइफकाई गर्थे । उषाले भरतको मात्रै होइन, उनको सालो उमेश खत्रीको पनि यौन हिंसामा पर्नुप¥यो । भिनाजुले उषासँग यौन क्रियाकलाप गरेको चाल पाएको उमेशले पनि दिदीको घरमा आएका बेला कोही नभएको मौका छोपी उषाको यौन शोषण गर्ने गर्थे । उमेश खत्री पनि सगरमाथा फाइनान्स ललितपुरमा सूचना प्रविधि विभागको प्रमुखका रूपमा कार्यरत थिए ।
उषाका पक्षमा बोल्ने आफ्नो मान्छे कोही थिएन । त्यसैको फाइदा उठाउँदै सालाभेना दुवैले उनीमाथिको यौन शोषण जारी राखे । उषाले भरतकी श्रीमतीसँग उनको भाइ (उमेश)ले गरेको यौनजन्य दुव्र्यवहारबारे नभनेकी पनि होइनन् । तर, उनीहरूले लोभ देखाएर घटनालाई ढकाछोप गर्न खोजे । उषा भन्छिन्, ‘आन्टीले तैंले जे माग्छेस्, त्यही दिन्छु, कसैलाई पनि नभन भन्नुभाथ्यो ।’ आफूमाथि ज्यादती बढ्दै गएपछि सहन नसकी स्कुलमा भनेपछि मात्रै उषामाथि भएको ज्यादतीको घटना बाहिर आएको उनी बताउँछिन् । उनी ललितपुरको एक सरकारी स्कुलमा कक्षा पाँचमा पढ्थिन् । उषा अध्ययन गर्ने सो स्कुलकी शिक्षिका कामक्षा उपाध्यायका अनुसार स्कुल नजिकै बंगुर पालन थियो । सो बंगुरपालनमा काम गर्ने युवाहरूले बाटो हिँड्ने युवतीहरूलाई जिस्क्याउने र कहिलेकाहीँ बाटो कुर्ने, दुःख दिने गरेकाले त्यस्तो कार्य नियन्त्रण गर्न स्कुलले प्रहरीलाई खबर गरेको थियो ।

सोही क्रममा उषाले आफूमाथि हुने गरेको यौनजन्य दुव्र्यवहारबारे बताएकी थिइन् । शिक्षिका कामक्षा भन्छिन्, ‘प्रहरी आएको बेलामा उषाले आफूमाथि हुने गरेको यौनजन्य दुव्र्यवहार बताएकी हुन् ।’ त्यसपछि सिविस र प्रहरीको सहयोगमा मुद्दा दर्ता भएको कामक्षाको भनाइ छ । १८ असोज २०७२ मा जिल्ला अदालत ललितपुरमा भरत कार्की र उमेश खत्रीविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता भयो ।
पीडक पक्षले मुद्दामामिला नगरे प्रशस्त पैसा दिने लोभ देखाएका थिए, उषाका परिवारलाई । आर्थिक अभाव खेपेको उषाको परिवार मुद्दा फिर्ता लिने पक्षमा थियो । तर, उषाकी दिदीका कारण जिल्ला अदालत ललितपुरमा मुद्दा चल्यो । उषाकी दिदी मंगला (नाम परिवर्तन) भन्छिन् , ‘त्यस्तो अन्याय कसरी सहनु त्यसैले मुद्दा चलाइयो ।’ मुद्दा दर्ता नगर्न धेरै दबाब आए पनि आफूहरू पछि नहटेको मंगला बताउँछिन् । जिल्ला अदालत ललितपुरले दोषीहरूलाई ६÷६ वर्ष कैद र २५÷२५ हजार रुपैयाँ क्षतिपूर्ति दिने गरी फैसला गरिदियो । अहिले उनीहरू जेल सजाय काटिरहेका छन् ।

काठमाडौंका ठूला तथा मध्यम घरानाका व्यक्तिले विशेष गरी घरमा काम गर्ने किशोरीहरूमाथि यौनजन्य दुव्र्यवहार गर्ने गरेका छन् । उनीहरू पैसा र शक्तिका भरमा घटना दबाउन खोज्छन् । सकेसम्म मुद्दा नै दर्ता हुन नदिने, यदि भइहाले पनि प्रहरीदेखि वकिल तथा अदालतसम्म पैसाको लोभ देखाउने गर्छन्

काठमाडौंका ठूला तथा मध्यम घरानाका व्यक्तिले विशेष गरी घरमा काम गर्ने किशोरीहरूमाथि यौनजन्य दुव्र्यवहार गर्ने गरेका छन् । उनीहरूले आफूले पैसा र पावरका भरमा घटना दबाउन खोज्छन् । सकेसम्म मुद्दा नै पर्न नदिने, यदि परिहाले पनि प्रहरीदेखि वकिल तथा अदालतसम्म पैसाको लोभ देखाउने गरेको अधिवक्ता दाहालको भनाइ छ । किशोरीहरूले प्रायः गरी दुई, तीन वर्षपछि मात्र यस्ता घटना बाहिर ल्याउने गरेको बताइन् । जसका कारण किशोरीहरू निकै पीडित भएका छन् । यस्ता घटना धेरै कम मात्रै बाहिर आएको उनको भनाइ छ ।
डर, त्रास, बास र कपासका कारण पनि धेरै घटना बाहिर नआएको अधिवक्ता दाहालको भनाइ छ । घरबेटीहरूले आफ्नो सम्पत्ति हडप्नका लागि किशोरीहरूले यौन दुव्र्यवहार गरेको उजुरी दिने गरेको दाबी गर्दै उम्कन खोज्नेको जमान पनि ठूलै भएको उनी बताउँछिन् । घरेलु कामदारका रूपमा राखिएका त्यस्ता किशोरी जब जबर्जस्ती करणीको सिकार हुन्छन्, तब मुद्दा मामिला गरेर दोषीलाई कारबाही भए पनि पीडितहरू भने सो घटनामा एकपटक परेपछि सधैंका लागि पीडित नै हुन्छन् । दोषीले सजायँ पाए पनि पीडितले कहिल्यै राहत पाएको महसुस गर्दैनन् । जसका कारण कतिपय किशोरीहरू मानसिक रोगको सिकार हुन पुगेको अधिवक्ता दाहालको भनाइ छ । यस्ता किशोरीका लागि दोषीलाई सजायबाहेक अरू राहत हुने खालका कानुन नभएकाले पनि पीडित किशोरीहरूले राहतको महसुुस गर्न नसकेको उनले बताइन् ।

काठमाडौं उपत्यकामा घरेलु कामदारका रूपमा रहेका सरिता र उषा त यस्तो घटनाका प्रतिनिधि पात्रहरू मात्रै हुन् । उपत्यकामा घरेलु कामदारका रूपमा राखिएका यस्ता धेरै किशोरीमाथि यसरी नै यौन शोषण भइरहेको छ । आर्थिक अभावमा जगडिएको हाम्रो समाजमा गाँस, बास र कपास
कैयौं परिवारलाई हम्मेहम्मे परिरहेको हुन्छ । एकापट्टि गरिबी, अशिक्षा, बेरोगारी त अर्कातर्फ धेरै सन्तान भएका कारण पनि बाबुआमालाई पालनपोषण गर्न धौधौ परेको हुन्छ । छोराछोरीको पढाइलेखाइ र खानपान राम्रो हुने तथा उनीहरूको उज्ज्वल भविष्यका लागि आफ्नै छरछिमेक तथा आफन्तको साथ लगाएर काठमाडौंका विभिन्न व्यक्तिको घरमा काम गर्न आफ्नै बुबाआमाले पठाउने गर्छन्, कलिला बालबालिकालाई । तर उनीहरूले सोचे जस्तो भने हुँदैन यथार्थमा ।
जुन आज घरेलु कामदारका रूपमा पठाउने आमाबुबाले पडा भोगिरहेका छन् । गरिब र बाध्यतामा रहेकाहरूको फाइदा उठाउँदै आफ्नै गाउँका आफन्त, छरछिमेकहरूले ती कलिला किशोरीलाई काठमाडौंसम्म ल्याउन ठूलो भूमिका निर्वाह गरिहेका छन् । ती छरछिमेकै सम्पर्कबाट कलिला किशोरीहरू घरेलु कामदारका रूपमा काठमाडौंसम्म आइपुगेका छन् । ती कलिला किशोरीलाई कामदारका रूपमा राख्ने घरबेटीहरू प्रायः धनी र सभ्रान्त वर्गका छन् । समाजमा राम्रै छवि बनाएहरूले नै आफ्नै घरमा काम गर्ने किशोरीहरूमाथि यौन शोषण गर्ने क्रम पछिल्लो समय तीव्र रूपमा बढेको छ ।

बालिबालिकाका क्षेत्रका काम गर्दै आइरहेको गैरसरकारी संस्था सिविसले पनि हरेक वर्ष श्रमिक बालबालिकाबारे अध्ययन गर्दै आएको छ । सिविसले सन् २०१६ मा ४ हजार ८६ घरधुरीबीच गरेको सर्वेक्षणअनुसार प्राप्त ५ सय २० जना घरेलु श्रमिकहरूमध्ये ३४ प्रतिशत १८ वर्षमुनिका बालश्रमिक थिए । सिविसको सो अध्ययनअनुसार सन् २०१६ मा ३३ जना बालिका जबर्जस्ती करणीको सिकार भएका थिए । दुई जनालाई जबर्जस्तीको प्रयास गरिएको थियो भने पाँच जनालाई यौनजन्य दुव्र्यवहार गरिएको सो तथ्यांकले देखाएको छ । यौनजन्य हिंसालाई निरुत्साहित गर्न सरकारले ६ फागुन २०७१ मा कार्य स्थलमा हुने दुव्र्यवहार (निवारण) ऐन २०७१ लागू गरेको छ । सरकारले महिला हिंसाविरुद्ध विभिन्न जनचेतनामूलक अभियान चलाउने तथा बलात्कारका घटना हुन नदिन सरकार लागि परेको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकी सहसचिव राधिका अर्याल बताउँछिन् ।

मन्त्रालयअन्तर्गत महिला सशक्तीकरण महाशाखा प्रमुख समेत रहेकी अर्यालले भनिन्,‘जबर्जस्ती करणीलाई निरुत्साहित गर्ने गरी नयाँ कानुन बन्दै छ ।’ पछिल्लो समय महिलामाथि हुने यौनजन्य हिंसा तथा बलात्कारका घटना बढ्न थालेपछि सरकारले मुलुकका विभिन्न स्थानमा ३६ वटा सेवा केन्द्र राखेको छ । त्यस्ता सेवा केन्द्रले महिलामाथि हुने गरेका यौनजन्य हिंसालगायत विभिन्न प्रकारका हिंसाको अन्त्य गर्न परामर्श, हिंसामा परेका महिलालाई स्वास्थ्य उपचार दिने काम गर्दै आएको महाशाखा प्रमुख अर्यालले जानकारी दिइन् । जबर्जस्ती करणी गर्नेलाई कानुनले उमेरअनुसार सजाय व्यवस्था गरेको छ । जबर्जस्ती करणी गर्नेलाई मुलुकी ऐनको महल १४ मा उमेरअनुसार पाँचदेखि १५ वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।