ग्रहदशा बिग्रिएर हार : थापा

राजधानी संवाददाता / नेपालगन्ज

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान मन्त्री कमल थापाले पार्टीको ग्रहदशा बिग्रेको कारण लज्जास्पद हार बेहोर्नुपरेको बताए  । राप्रपा बाँकेले नेपालगन्जमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘राजतन्त्र र हिन्दुत्वको एजेन्डा बोकेको पार्टीले राष्ट्रिय पार्टी नै बन्न नसक्ने गरी ३ प्रतिशत थ्रेसहोल्ड नै कटाउन नसक्नु दुर्भाग्य हो ।’ अबका दिनमा सदनमा राजतन्त्र र हिन्दुत्वको विषयमा आवाज उठाउनेहरूको उपस्थिति नै नहुने अवस्था आएको उनले बताए । ‘हामीले हिन्दू राष्ट्र र राष्ट्रियताको एजेन्डा बोक्दा ग्रहदशा बिग्रियो, जनताले सडकमा ल्याए । तर ती एजेन्डा पनि अहिले कमजोर भएका छन्, अब सडकबाटै एजेन्डा स्थापित गर्न संघर्ष गर्छौं’, उनले भने ।

 हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीले बेहोरेको हारका कारण पार्टी कार्यकर्तामा रहेको नैराश्यबारे समीक्षा गरी पार्टीलाई नयाँ ऊर्जा दिने उद्देश्यले आफू नेपालगन्ज आएको बताए पनि राप्रपा अध्यक्ष थापा पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ताका लागि नेपालगन्ज आएको बताइएको छ ।

राप्रपा अध्यक्ष थापाले शनिबार नै पूर्वराजा ज्ञानेन्द्रसँग करिब डेढ घण्टा भुजइगाउँमा रहेको होटल सोल्टीमा शिष्टाचार भेट गरेको बताए । उनले आफ्नो भेट शिष्टाचार मात्र भएको स्पष्ट पारे । उनले भने ,‘अघि दिउँसो उहाँसग शिष्टाचार भेट भएको हो । शिष्टाचार भेटमा शिष्टाचार कुरा मात्रै भयो, अन्य केही भएन ।’

पूर्वराजाको मध्य तथा सुदूरपश्चिमको भ्रमण होटलको उद्घाटन र यस क्षेत्रको पर्यटकीय र धार्मिक स्थलको भ्रमणका लागि मात्र भएको आफूले जानकारी पाएको बताउँदै उनले भने, ‘पूर्वराजाको मध्य र सुदूरपश्चिम भ्रमण राजनीति उद्देश्यले अभिप्रेरित भएको जस्तो मलाई लाग्दैन ।’

आफूहरूबीचको भेटका अवसरमा पूर्वराजासँग देशको हालको परिस्थितिबारे विचार आदान प्रदान भएको उनले बताए । राष्ट्रिय सभा गठन सम्बन्धित विधयेक प्रमाणीकरणसँगै विद्यमान राजनीतिक गतिरोध अन्त्य भएकाले सोमबारको क्याबिनेटले राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले निर्वाचनका बाँकी सबै प्रक्रिया पूरा गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको उनले बताए ।

राप्रपा अध्यक्ष थापाले निर्वाचनको पराजयका कारण कार्यकर्ताहरू हतोत्साही भएकाले आफू देशभर कार्यकर्तालाई हौसला प्रदान गर्न दौडिरहेको बताए ।

‘हारको पीडामा बिरक्तिएर रोइलो गर्नुभन्दा गाउनु बेस,’ उनले थपे,  ‘त्यसैले हारबाट पाठ सिक्दै पुनः स्थापित हुन गाइरहेका छौं ।’ पटक–पटक सरकारमा जाने प्रवृत्तिले गर्दा राप्रपा खुम्चिएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष थापाले भने, ‘पक्कै पनि जनताले त्यही सोचेर नै सडकमा पु¥याएका होलान्, अब हामी सच्चिएर अगाडि बढ्नेछौं ।’