आयोजना निर्माणमा विलम्ब नहोस्

आयोजना निर्माणमा विलम्ब नहोस्

 

राष्ट्रिय गौरवका आयोजनालाई सरकारले महŒवको कोटीमा राखे पनि काम गर्ने शैली चुस्त बनाउन नसक्दा आयोजना निर्माण समयमै सम्पन्न हुन सकेको छैन । हुलाकी राजमार्ग, बूढीगण्डकी जलविद्युत् आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत थुपै्र राष्ट्रिय गौरवका आयोजना निर्माणको काम समयमा सम्पन्न नहुँदा विकासको गति पछाडि परेको छ । सरकारले राष्ट्रिय गौरवका आयोजना घोषणा गरे पनि काम गर्ने तौरतरिकामा वैज्ञानिक शैली नअपनाउँदा आयोजना बिथोल्नेहरूले विभिन्न बहाना बनाउने गरेका छन् । सोही कारण कतिपय आयोजनाको काम अघि बढ्न सकेको छैन । कुनै पनि आयोजना निर्माण गर्दा आउन सक्ने समस्याबारे पहिल्यै अनुसन्धान गरेर समस्या समाधानको प्याकेज बनाउने हो भने जस्तोसुकै आयोजना पनि समयमै निर्माण गर्न सकिने सम्भावना रहन्छ ।

राजमार्ग, जलविद्युत् वा विमानस्थल निर्माण गर्दा मुआब्जा अहिले सबैभन्दा ठूलो टाउको दुखाइको विषय बन्ने गरेको छ । मुआब्जाको कुरा मिल्नेबित्तिकै सामुदायिक वनको समस्या आउँछ । पछिल्लो समय यस्ता आयोजना निर्माणमा वन ऐन अप्ठ्यारो बनेर आएको छ । नियमतः सामुदायिक वनका कुनै पनि रूख आयोजना निर्माणको बहानामा काट्न पाइँदैन । राजमार्ग वा जलविद्युत् आयोजना निर्माण गर्दा रूख काट्नै पर्छ । अहिले धेरै आयोजनास्थलमा वन र आयोजना निर्माण संस्थाबीच हुर्किएका रूखको विषयमा विवाद छ । नेपालको भूवनोट नै त्यस्तो छ कि जलविद्युत् वा सडक बनाउँदा रूख नकाटी सुखै छैन । तसर्थ अब रूख कटानको विषयमा नयाँ नियम बनाउन ढिला भइसकेको छ किनकि रूख नकाटी बाटो निर्माण वा विद्युत् गृह सञ्चालन सम्भव छैन भने रूख काट्नै पर्छ । वन पनि जोगाउने बाटो पनि खन्ने काम नेपालमा मात्रै हैन, विश्वका कुनै पनि मुलुकमा सम्भव छैन । यसको अर्थ बाटो बनाउँदा वा विकास निर्माणका काम गर्दा भएका सबै वन सखापै पार्नुपर्छ भन्ने पनि होइन । जहाँ बाटो बनाइन्छ, बाटो बनाइसकेपछि दायाँ र बायाँ प्रशस्त रूख रोपेर पहिलाकै स्थितिमा हरियाली कायम गर्न सकिन्छ । तर नेपालमा धेरै स्थानमा सडक निर्माण गरिसकेपछि दाँया बाँया रूख रोप्ने प्रचलन सुरु गराउन सकिएको छैन ।

वनसम्बन्धी अप्ठ्यारो नियम त छ नै, सरकार र निर्माण व्यवसायीको आलटाल गर्ने प्रवृत्तिले पनि आयोजना निर्माणमा ढिलाइ हुने गरेको छ । कतिपय आयोजना निर्माणमा सरकारले समयमा भुक्तानी नदिँदा काम प्रभावित हुने गरेको छ भने कतिपय स्थानमा ठेकेदारको लापर्बाहीले पनि समय घर्किंदासम्म काम नहुने गरेको दृष्टान्त हाम्रै सामु छर्लंग छ । पछिल्लो समय ठेकेदारहरूको अराजकताले सबैभन्दा धेरै विकास निर्माणका काम प्रभावित हुने गरेको छ । विकास निर्माणलाई वास्तवमै गतिशील बनाउने हो भने निर्माण व्यवसायीलाई जिम्मेवार बनाउनु अबको सरकारको कर्तव्य हो । निर्माण आयोजना हात पारिसकेपछि समयमा काम नगर्ने निर्माण संस्थालाई नियमअनुसार कारबाहीको व्यवस्था गर्ने हो, अधिकतम समस्या आफैं समाधान हुन्छ ।